उपचारका लागि कोठामा बोलाइएका स्वास्थ्यकर्मीमाथि हनी ट्रयापिङ

१८ लाखबाट सुरु भएको बार्गेनिङ ८ लाखमा टुङ्गिएपछि प्रहरीको फन्दामा

काठमाडाैं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका ८, बाँसबारीमा मेडिस्प्रा नाम गरेको फार्मेसी छ । फार्मेसीमा औषधीको विक्रीसँगै सामान्य स्वास्थ्य चेकजाँच र घाउहरूमा ड्रेसिङसमेत हुन्छ । घाउको ड्रेसिङसमेत हुने, स्वास्थ्य चेकजाँच हुने र औषधी वितरण हुने भएकाले मानिसहरूलाई उक्त मेडिकलको बारेमा राम्रै जानकारी छ । फार्मेसीले घरमै गएर घाउको ड्रेसिङ गर्ने, अनलाइन औषधी डेलिभरी दिनेसम्मको सुविधा दिएकाले यस फार्मेसीको बारेमा धेरै मानिसहरू जानकार छन् ।

फार्मेसीमा सञ्चालक छन्, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ७ स्थायी ठेगाना भएका ३३ वर्षीय रामप्रसाद भण्डारी (नाम परिवर्तन) । उनी फार्मेसीमै रहेको समयमा मङ्सिर ६ गते अनलाइनमा एउटा म्यासेज आउँछ, ‘खुट्टामा घाउ भएकाले ड्रेसिङका लागि कोठामै आइदिनुपर्‍यो ।’ म्यासेज पठाउने ‘बिरामी’ थिइन्, वर्षा दर्जी ।

काभ्रेपलान्चोकको भुम्लु गाउँपालिका वडा नम्बर ४ घर भई भक्तपुरको नयाँ ठिमीमा बस्ने २५ वर्षकी वर्षाले आफू आउन नसक्ने भएकाले कोठामै ड्रेसिङका लागि आइदिन आग्रह गरिन् । साथै आवश्यक पर्ने औषधीसमेत ल्याउन आग्रह गरिन् ।

रामप्रसादले लाग्ने रकम र सर्भिस चार्जको कुरा गरेपछि वर्षा उक्त रकम तिर्न तयार भइन् र मङ्सिर ६ गते अपराह्न १ बजे फार्मेसी सञ्चालक रामप्रसादलाई कोठामा बोलाइन् । रामप्रसाद वर्षाको कोठामा पुगेर उनको घाउको ड्रेसिङ गरी आफ्नो लाग्ने रकम लिएर फर्किए ।

जब रामप्रसाद आफ्नो काम सकेर फार्मेसीमा फर्किए, तब वर्षाका दाइ तथा भाउजू भन्दै केही व्यक्तिहरूको फोन आउन थाल्यो । महिलाको कोठामै गएर बलात्कार गरेको आरोप लगाउँदै रकम नदिए बलात्कारको केस गर्ने उनीहरूको कुरा थियो । रामप्रसादले आफूले केही नगरेको र ड्रेसिङ मात्रै गरेर फर्किएको भन्दै कुनै पैसा नदिए बताए । तर उनीहरूले बारम्बार फोन मात्रै गरेनन्, बाँसबारीमा रहेको फार्मेसीमै गएर बलात्कारको केसमा फसाइदिने भन्दै रकम दिन धम्की दिए । महिलाको कोठामा गएको भिडियो फुटेजसमेत रहेको भन्दै धम्काएपछि रामप्रसाद सामान्य रकम दिएर हुन्छ कि भन्दै कुरा मिलाउनतिर लागे ।

हनी ट्रयापको सांकेतिक तस्वीर : एआई

लोकपथसँगको कुराकानीमा रामप्रसादले आफूले केही नगरेको तर बेइज्जत हुने डरले थोरै रकमले मिलाउन सकियो भने मिलाउन खोजेको बताए ।

हनी ट्र्यापमा संलग्न गिरोहका सदस्यहरू फरार बस्नेत थरका व्यक्ति र समृद्धि मगरले आफूहरू वर्षाको दाइ र भाउजू भन्दै सुरुमा १८ लाख रुपैयाँबाट बार्गेनिङ सुरु गरे । तर रामप्रसादले आफूसँग त्यति रकम नभएको र दिन नसक्ने बताएपछि रकमको मोलमोलाइ सुरु भयो । बार्गेनिङ चल्दै जाँदा अन्तिममा ८ लाख रुपैयाँ दिए कुनै केस नगर्ने सहमति भयो ।
सहमति अनुसार पहिलो चरणको रकमका लागि मङ्सिर ११ गते कौशलटारमा रहेको वेभ सेकुवा कर्नरमा भेटघाट गर्ने कुरा भयो । उक्त दिन ५० हजार रुपैयाँ नगद र ७५ हजार रुपैयाँको चेक दिने तथा अन्य रकम शुक्रवारसम्म दिने गिरोहका सदस्य र रामप्रसादबिच सहमति भयो । सहमति अनुसार मङ्सिर ११ गते मङ्गलवार बिहान ११ बजे कौशलटारमा रहेको वेभ सेकुवा कर्नरमा वर्षाले इलामको साबिक दानबारी गाविस वडा नम्बर ९ घर भई भक्तपुरको नयाँ ठिमीमा बस्ने २५ वर्षीय समृद्धि मगर र प्रहरीले ठेगाना नखुलाएका बस्नेत थरका एक व्यक्तिलाई रकम बुझ्न पठाइन् ।

आरोपित वर्षा दर्जी

बिहान ११ बजे रेस्टुरेन्टमा पुगेर समृद्धि मगरले रामप्रसादसँग नगद २५ हजार रुपैयाँ लिइन् भने अर्का आरोपित बस्नेतको सिद्धार्थ बैङ्कमा रहेको खाता नम्बर ०२४२०XXX९८० मा क्यु आर कोडमार्फत २५ हजार गरी कुल ५० हजार रुपैयाँ हनी ट्र्यापमा संलग्न गिरोहले लियो । सोही दिन अपराह्न ४ बजे वर्षा दर्जीले आफ्ना दाइ दीपेन्द्र दर्जी र समृद्धि मगरलाई सोही सेकुवा कर्नरमा ७५ हजार रुपैयाँको चेक लिन पठाइन् ।

अपराह्न ४ बजे समृद्धि र दीपेन्द्र रामप्रसादसँग चेक लिन गएपछि रामप्रसादले एनआइसी एसिया बैङ्कमा रहेको खाताको ७५ हजार रुपैयाँको चेक पनि वर्षा दर्जीको नाममा काटेर दिए ।

जब समृद्धि र दीपेन्द्र चेक लिएर निस्कँदै थिए, तब काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय (अपराध महाशाखा) का इन्स्पेक्टर श्याम थापा नेतृत्वमा पुगेको प्रहरी टोलीले समृद्धि र दीपेन्द्रलाई पक्राउ गर्‍यो ।

झूटो आरोप लगाएर फार्मेसी व्यवसायीसँग रकम माग गरेको भन्दै उक्त सूचना पहिले नै प्रहरीमा आइसकेको थियो । आफूले बिरामीको उपचार गरेर फर्किँदा पनि आफूमाथि बलात्कार जस्तो जघन्य आरोप लगाएर फसाइदिन्छु भन्दै रकम माग भएपछि रामप्रसाद आफैँले प्रहरीमा खबर गरेका थिए ।

हनी ट्र्यापमा पारी आपराधिक लाभ लिन खोजेको भन्दै उजुरी आएपछि सक्रिय बनेको प्रहरीले मङ्गलवार साँझ ४ बजे समृद्धि र दीपेन्द्रलाई पक्राउ गरेको थियो । आपराधिक लाभ लिने कार्यमा संलग्न बस्नेत थरका व्यक्ति भने बिहान आफ्नो खातामा २५ हजार रुपैयाँ ट्रान्सफर गराएपछि साँझ भने आएका थिएनन् ।

यता समृद्धि र दीपेन्द्र पक्राउ परेको खबर पाएकी वर्षा त्यस लगत्तै फरार भइन् । यद्यपि प्रहरीले बुधवार बिहान वर्षालाई समेत पक्राउ गरिसकेको छ । आपराधिक लाभ लिने कार्यमा संलग्न बस्नेत थरका व्यक्ति भने अझै फरार छन् ।

प्रहरीले मङ्गलवार साँझ समृद्धि र दीपेन्द्रलाई पक्राउ गरिसकेपछि तत्कालै दीपेन्द्रले वर्षा दर्जीको नाममा लिएको ७५ हजार रुपैयाँको चेक र समृद्धि मगरसँग रहेको २० हजार ५ सय रुपैयाँ नगद बरामद गरेको थियो । त्यति बेला नै समृद्धि र दीपेन्द्रको मोबाइल समेत प्रहरीले बरामद गरेकामा पछि वर्षाको मोबाइलसमेत बरामद गरेको छ ।

प्रहरीले बरामद गरेको चेक, नगद तथा मोबाइल

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजी कुमार आचार्यले फरार आरोपित बस्नेतको ठेगाना खुलिसकेको भए पनि उनलाई पक्राउ नगरिएको कारण थप विवरण दिन अस्वीकार गरे ।

पक्राउ परेका वर्षा दर्जी, समृद्धि मगर र दीपेन्द्र दर्जीलाई भने काठमाडौं जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?