एनपीएलमा उपाधि जित्ने जनकपुर बोल्ट्सको दाबी

लोकपथ
98
Shares

काठमाडौं । मधेस प्रदेशको प्रतिनिधित्व गर्ने टोली जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा उपाधि जित्ने दाबेदारी गरेको छ । स्वदेशी र विदेशी खेलाडीसहितको सन्तुलित टोली भएका कारण उपाधि जित्ने जनकपुर बोल्ट्सको दाबी छ । 

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा पहिलो पटक हुन लागेको एनपीएल यही मङ्सिर १५ गतेदेखि सुरु हुँदैछ । प्रतियोगिताको सुरुआतमै जनकपुर बोल्ट्सले विराटनगर किङ्ग्सको सामना गर्नेछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा उद्घाटन खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ ।

जनकपुर बोल्ट्सको मार्की खेलाडीका रूपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आसिफ शेख छन्। तेइस वर्षीय आसिफले सन् २०१७ देखि नेपालको सिनियर टोलीमा डेब्यु गरेको हो । त्यसयता उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै आएका छन्।

आसिफले आफ्नो टोलीमा चल्तीका विदेशी र नेपाली युवा खेलाडीका कारण राम्रो सन्तुलन मिलेको बताए । पुबुदु दसानायके जस्तो प्रशिक्षक पाएका कारण आफ्नो टोली भाग्यशाली रहेको उल्लेख गर्दै उनले जनकपुर बोल्ट्सलाई जसरी पनि उपाधि जिताउने उद्देश्यका साथ खेल प्रदर्शन गर्ने विश्वास दिलाए । मार्की खेलाडी शेखले आफ्नो टोलीमा सबै उत्कृष्ट खेलाडी  भएकाले प्रतियोगिताको उपाधि जित्ने दाबी गरे । 

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत सोमबार सुन्धारास्थित धरहरा परिसरमा एनपीएलको ट्रफी सार्वजनिक गर्दै जनकपुर बोल्ट्सका मार्की खेलाडी शेखको प्रशंसा गदै ‘क्याप्टेन कूल’को उपनाम दिनुपर्ने बताएका थिए । ‘जनकपुर बोल्ट्सका मार्की खेलाडी आसिफ शेखले स्पोर्टम्यानसिप देखाउँदै आयरल्यान्डका खेलाडीलाई रन आउट नगरेको त्यो भाइरल श्रव्यदृश्य मैले पनि हेरेको थिएँ । जनकपुर झैँ शान्त स्वभाव कायम रहोस् । आसिफ शेखलाई क्याप्टेन कूल, शान्त भनेर उपनाम दिए पनि हुन्छ जस्तो लाग्छ,’ उनले शेखको प्रशंसा गर्दै भनेका थिए । 

जनकपुर बोल्ट्सका ‘हेड अफ अपरेशन’ निरोज खतिवडाले आफ्नो टोलीको तयारी राम्रो रहेकाले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रतियोगिताको उपाधि जित्नेमा आफू विश्वस्त रहेको बताए । उनले नेपाली र विदेशी खेलाडीसहितको सन्तुलित टोलीकै कारण प्रतियोगितामा राम्रो नतिजा हातपर्ने उल्लेख गरे। खतिवडाले आफ्नो टोलीमा दुई विदेशी खेलाडी नेपाल आइसकेको र आजै बाँकी दुई विदेशी खेलाडी आउने जानकारी दिए । जनकपुर बोल्ट्समा मार्की खेलाडी आसिफसँगै नेपाली राष्ट्रिय क्रिकेट टोलीका  सदस्यद्वय अनिलकुमार साह र ललितनारायण राजवंशी समेत रहेका छन् । 

त्यसैगरी टोलीका अन्य नेपाली खेलाडीमा रुपेश सिंह, किशोर महतो, अरनिकोप्रसाद यादव, तुलबहादुर थापा मगर, आकाश त्रिपाठी, शुभ कङ्साकर, शेर मल्ल र हेमन्त धामी छन् । एनपीएलमा सहभागी प्रत्येक टोलीले कम्तीमा चार विदेशी खेलाडी अनुबन्ध गर्नुपर्ने प्रावधान छ । तर खेलाडीको आवश्यकता हेरेर ६ जनासम्म विदेशी खेलाडी राख्न पाउने प्रावधान रहेको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?