विरासत जोगाउने र उल्ट्याउने चुनौतीमा कांग्रेस–एमाले, इतिहास रच्ने दाउमा माओवादी

लोकपथ
294
Shares

उदयपुर । मंसिर १६ गते हुने उपनिर्वाचनअन्तर्गत त्रियुगा नगरपालिकाको वडाध्यक्ष पदतर्फ धेरैको ध्यान केन्द्रित भएको छ । त्रियुगा नगरपालिकाको वडाध्यक्ष पदका लागि प्रमुख दलसहित ९ जना उम्मेदवार चुनाबी मैदानमा उत्रिएका छन् । तीमध्ये १ जना स्वतन्त्र उम्मेदवार छन् । प्रतिनिधि सभामा चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि उम्मेदवारी दिएको छ ।

त्रियुगा नगरपालिका र बेलका नगरपालिकाको वडाध्यक्ष पदका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यद्यपि दलका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवारले यस पटक चुनौती दिन सक्ने सम्भावना पनि उत्तिकै बलियो छ । त्रियुगा नगरपालिका १२ नम्बर वडाको वडाध्यक्ष पदमा कांग्रेसबाट सञ्जीव काफले, नेकपा एमालेबाट लक्ष्मीनारायण चौधरी, नेकपा माओवादी केन्द्रबाट नवीनकुमार राई र नेकपा एकीकृत समाजवादीबाट निर्मला चौधरीले उम्मेदवारी दिएका छन् ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) बाट धु्रवप्रसाद पोखरेलले उम्मेदवारी दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट लालबाबु साह, जनमत पाटीबाट प्रमोद मलाहा सहनी, नागरिक उन्मुक्ति पार्टीबाट चन्द्रकला चौधरी र स्वतन्त्रबाट बजरगीकुमार दासले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय गाईघाटले जानकारी दिए । कांग्रेसका काफ्ले र एमालेका चौधरी नयाँ अनुहार हुन् । माओवादीका राई पुरानै अनुहार हुन्, जो अघिल्लो निर्वाचनमा पनि उम्मेदवार थिए । यस पटक उनलाई जनता समाजवादी नेपाल र विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले समर्थन गरेको छ । प्रमुख दलहरूको आ–आफ्नै दाबी यो निर्वाचनमा माओवादीले सुशासन, सामाजिक न्याय र समृद्धिलाई मुख्य एजेण्डा बनाएको छ । स्थानीय रूपमा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, सामाजिक न्याय, ऐतिहासिक, सांस्कृतिक, धार्मिक, भौतिक पूर्वाधार विकासलाई विशेष प्राथमिकतामा राखिएको छ । राई, सामाजिक अभियन्ता र निष्कलंकित व्यक्तिका रूपमा परिचित छन्

। यसपटक माओवादी त्रियुगा नगरपालिका– १२ मा इतिहास रच्ने दाउमा छ । माओवादीप्रति आकर्षण बढ्दो छ । ‘सुशासन, सामाजिक न्याय, समृद्धिको पक्षमा थालेको अभियानलाई लिएर हामी जनताको घरघरमा पुगेका छौँ,’ राईले भने, ‘यतिमात्र नभई हाम्रा उम्मेदवार त्रियुगा नगरपालिका–१२ बासी माझ चीरपरिचित व्यक्तित्व भएकाले यस पटक जनमत हाम्रो पक्षमा आउने विश्वास गरेका छौँ ।’ यसैगरी एमालेबाट उम्मेदवारी दिएका चौधरी सामाजिक अभियन्ता हुन् ।यस पटक एमालेले चौधरीलाई टिकट दिएर आफूलाई प्रतिस्पर्धीको रुपमा उभ्याएको छ । एमाले उदयपुर जिल्ला अध्यक्ष भागवत राउत यो पटक एमालेको उम्मेदवारले जित्ने दाबी गर्छन् । उनले २०७९ को चुनावी परिणाम उल्टाउने गरी चुनाबी तयारी भइरहेको बताए । ‘हामीले योग्य र क्षमतावान व्यक्तिलाई उम्मेदवार बनाएका छौँ । समृद्ध नेपाल सुखी नेपाली एमालेको भिजन हो ।

त्रियुगामा एमालेले जितेमा मात्र नगरबासीको अपेक्षा पूरा हुन्छ । त्रियुगाको समग्र विकासका लागि हामीले योजना अगाडि सारेका छौँ । यही नै हाम्रो जित्ने आधार हो,’ उनले भने । त्यसैगरी कांग्रेसले त्रियुगा नगरपालिका–१२ मा पूर्व वडाध्यक्षका छोरा सञ्जीवलाई उम्मेदवार बनाएको छ । अघिल्लो पटक आफैँले जितेको क्षेत्र भएकाले यस पटक विरासत जोगाउने चुनौती कांग्रेस सामु छ । प्रतिस्पर्धी एमाले र माओवादीले बलियो उम्मेदवार उठाएका कारण पनि कांग्रेसलाई चुनौती थपिएको छ । त्रियुगावासीको भावना, भूगोल, संस्कृति, इतिहाससँग राम्रो परिचित भएकाले पनि काफ्ले बलियो प्रतिस्पर्धी मानिएका छन् । अघिल्लो निर्वाचनमा यो नगरपालिकाका १६ वडामध्ये ९ वटै वडाध्यक्ष कांग्रेसले जितेको थियो । यसैगरी स्थानीय तहको निर्वाचनमा पहिलो पटक होमिएको संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि निर्वाचन प्रचारप्रसारलाई तिब्रता दिएको छ ।

त्यसकारण यो पटकको निर्वाचन रोचक र कडा प्रतिस्पर्धा हुन सक्ने अनुमान गरिएको छ । यस्तै, उदयपुरको त्रियुगा र बेलका नगरपालिकाको वडाध्यक्ष पदका लागि ठूला राजनीतिक दलबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । त्रियुगा नगरपालिका–१२ पुरानो गाईघाटमा कांग्रेस, एमाले, माओवादी र एकीकृत समाजवादीबीच प्रतिस्पर्धा हुने देखिएको छ । उपनिर्वाचनलाई जिल्लाका प्रमुख दलहरुले प्रतिष्ठाको विषय बनाएका छन् । सत्ता साझेदार दल नेपाली कांग्रेस, नेकपा एमाले, विपक्षी दलहरू नेकपा माओवादी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएको छ । एमालेले पुरानो बिरासतलाई कायम राख्ने गरी निर्वाचन तयारी गरेको जनाएको छ भने कांग्रेसले २०७९ को निर्वाचनको विजयलाई मुख्य आधार बनाइ तयारी गरेको छ ।

त्यस्तै माओवादीले २०७९ मा पाएको तेश्रो मतलाई पहिलो बनाउने बनाउने गरी अभियान थालेको छ । नेकपा एकीकृत समाजवादी पार्टीले सो वडा आफ्नो आधार क्षेत्र भएको भन्दै अभियानलाई तीब्रता दिएको छ । त्रियुगा नगरपालिकाका पूर्व नगर प्रमुख तथा नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सचिव बलदेव चौधरीको क्षेत्र भएकाले यसलाई प्रतिष्ठाको विषय बनाएको छ । यसैगरी बेलका नगरपालिका– ९ मा ठूला राजनीतिक दलबीच प्रतिस्पर्धा हुने देखिन्छ । बेलका नगरपालिका– ९ मा नेकपा एमालेका मोहन खड्का, नेपाली कांग्रेसका नवराज बस्नेत र नेकपा माओवादका भरत घिमिरेबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

त्यस्तै जनता समाजवादी पार्टी नेपालबाट राजकुमार राई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट तेजमान वि.क., राष्ट्रिय प्रजातन्त्र पार्टीबाट टीकाप्रसाद फुयाँल र मंगोल नेशनल अर्गनाइजेशनबाट सूर्य तामाङको उम्मेदवारी दिएको छ । निर्वाचन कार्यालय उदयपुरका अनुसार त्रियुगा नगरपालिका– १२ मा पुरुष १ हजार ८ सय ७६ र महिला मतदाताको संख्या १ हजार ९ सय ७१ सहित ३ हजार ८ सय ४० मतदाता रहेका छन् । त्यसैगरी बेलका नगरपालिका– ९ मा जम्मा ३ हजार १ सय १६ मतदाता मध्ये पुरुष १ हजार ५ सय ७२ र महिला १ हजार ५ सय ६४ मतदाता छन् । जसमा बेलका र त्रियुगामा बिरासत जोगाउने र उल्टाउने चुनौतीमा कांग्रेस–एमाले, इतिहास रच्ने दाउमा माओवादी लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?