राष्ट्रिय चलचित्र पुरस्कार २०८० : सर्वाेत्कृष्ट भए नायक विपिन, नायिका स्वस्तिमा र निर्देशक निश्चल बस्नेत

लोकपथ
42
Shares

काठमाडौं । २०८० सालको सर्वोत्कृष्ट राष्ट्रिय चलचित्रको पुरस्कार बुलाकीले पाएको छ । यो चलचित्रले विभिन्न तीन विधामा पुरस्कार जितेको छ ।

चलचित्र बुलाकीबाटै सर्वोत्कृष्ट लेखनको पुरस्कार राजबहादुर सानेलाई र सर्वोत्कृष्ट छायाँकारको पुरस्कार शिव ढकाललाई प्रदान गरियो । चलचित्र विकास बोर्डद्वारा बुधबार साँझ राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८०’ समारोहमा सर्वाेत्कृष्ट अभिनेताको पुरस्कार चलचित्र प्रसाद २ बाट विपिन कार्कीलाई प्रदान गरिएको थियो ।

यस्तै सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार चलचित्र दिमाग खराबबाट स्वस्तिमा खड्काले पाइन् । सर्वोत्कृृष्ट निर्देशकको पुरस्कार चलचित्र दिमाग खराबका निर्देशक निश्चल बस्नेतलाई प्रदान गरियो । यसैगरी २०८० सालको विशेष चलचित्र पुरस्कारबाट लक्ष्मण सुवेदी निर्देशित चलचित्र सतीदेवीलाई पुरस्कृत गरियो ।

यसैगरी २०८० सालको सर्वोत्कृष्ट आदिवासी मातृभाषी चलचित्रको पुरस्कार सागर सुब्बा निर्देशित लिम्बु भाषाको चलचित्र लोजिमालाई प्रदान गरियो । आदिबासी जनजातितर्फ नै विशेष चलचित्र पुरस्कार लिम्बु भाषाको चलचित्र सुगुप र गुरुङ भाषाको चलचित्र मार्कलीलाई दिईयो । समारोहमा दीर्घ साधना सम्मानबाट प्रथम नेपाली रंगिन चलचित्र कुमारीकी अभिनेत्री चैतेदेवी सिंहलाई सम्मानित गरियो । नेपाली चलचित्र उद्योगमा स्थापना कालदेखि लामो समयसम्म निरन्तर योगदान दिएको भन्दै सो सम्मान प्रदान गरिएको आयोजक पक्षले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?