काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको केही दिनमात्र बाँकी छ । उम्मेदवारहरु अन्तिम चरणको घरदैलो गर्दै मत मागिरहेका छन् । देशभर स्थानीय तहका कुल ४४ पदका लागि निर्वाचनको तयारी गरिएको थियो । जसमा २ जिल्ला समन्वय समिति र १ वडामा निर्विरोध नेतृत्व चयन भइसकेको छ । बाँकी ४१ पदमध्ये ८ वटा नगरपालिका प्रमुख उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षको निर्वाचन हुनेछ । त्यसमध्ये ३३ वडाध्यक्षको निर्वाचन हुँदैछ । वडाध्यक्षको ३३ पदका लागि ३७६ जना चुनावी मैदानमा रहँदा ७६ जना भने स्वतन्त्र उम्मेदवार नै रहेका छन् । गत २०७९ को स्थानीय तह निर्वाचनमा अहिलेजस्तो स्वतन्त्र उम्मेदवारको दबदबा नरहँदा पूराना राजनीतिक दलहरुबीच तीव्र प्रतिष्पर्धा रहने गरेको थियो । तर अहिलेको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्र उम्मदवारहरुका कारण चुनावी प्रतिपष्र्धा रोचक बन्ने देखिन्छ ।
कुन वडामा कस्तो थियो पहिलेको चुनावी परिणाम ? यस्तो छ अहिलेको अवस्था :
ताप्लेजुङको सिरजंगा गाउँपालिका–३
ताप्लेजुङको सिरजंगा नगरपालिका–३ मा वडाध्यक्षका लागि नेकपा एमालेबाट कुमारी सावादेन, कांग्रेसबाट भीमकुमार लक्सम्वा, नेकपा माओवादी केन्द्रबाट अम्वी साउदेन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट देवी प्रसाद पौडेल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट राजेन्द्र लिम्बु उम्मेदवार रहेका छन् । गत निर्वाचनमा सो वडामा ४०३ मत ल्याउँदै नेपाली कांग्रेसका उम्मेदवार दीलप्रसाद वेखिम निर्वाचित भएका थिए भने नेकपा एमालेका उम्मेदवार कुमारी सावादेनले ३९९ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट हस्तबहादुर काङवाले ३९ मत प्राप्त गरेका थिए ।
झापाको कन्काइ नगरपालिका–६
कन्काइ नगरपालिका–६ मा आगामी उपनिर्वाचनका लागि नेकपा एमालेबाट तुलाराम बस्नेत, नेपाली कांग्रेसबाट रामगोपाल ओली, माओवादी केन्द्रबाट गणेशबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट नारायण प्रसाद निरौला, जनमत पार्टीबाट शुकलाल राजवंशी, नागरिक उन्मुक्ति पार्टीबाट जमुना राजवंशी, मंगोल नेशनल अर्गनाइजेशनबाट पदमबहादुर तामाङ्ग, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दलबहादुर श्रेष्ठ र लक्ष्मी प्रसाद ओली स्वतन्त्रबाट उम्मेदवार रहेका छन् । २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा एमालेका दीर्घराज थापा ५०८ मत पाएर विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार लक्ष्मी प्रसाद ओलीले ४४० मत पाएका थिए ।
तेह्रथुमको लालिगुराँस नगरपालिका–८
अहिले यहाँ नेकपा एमालेबाट बुद्धबहादुर लिम्बु, नेपाली कांग्रेसबाट नगेन्द्र लिम्बु, माओवादी केन्द्रबाट कुमार विश्वकर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सन्जिब खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रत्नबहादुर श्रीपाली, नेकपा एकीकृत समाजवादीबाट प्रेमबहादुर खड्का र स्वतन्त्रबाट बसन्त लिम्बु उम्मेदवार छन् । ०७९ को स्थानीय तह निर्वाचनमा लालिगुराँस–८ मा नेपाली कांग्रेसका कृष्णकुमार गुरुङ २२१ मत ल्याएर निर्वाचित हुँदा नेकपा एमालेका हिमाल गुरुङले १७८ मत मात्रै प्राप्त गरेका थिए ।
सुनसरीको गढी गाउँपालिका– ६
गढी गाउँपालिका–६ मा अहिले नेकपा एमालेबाट शन्तु उराव, नेपाली कांग्रेसबाट कुशेश्वर खेरवार, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शशि कुमार साहु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कबिता कुमार उराव, जनमत पार्टीबाट तेजनारायण मुसहर, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट राजोदेवी रिषिदेव, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट बच्चालाल अरगरिया यादव, समावेशी समाजवादी पार्टी नेपालबाट योगनारायण ऋषिदेव र स्वतन्त्रबाट रामनारायण यादव (वडबडिया) र श्यादेव महतो रहेका छन् ।
गत निर्वाचनमा नेकपा एमालेका सदानन्द उराँव झागरले ७१२ मत प्राप्त गरेका थिए भने नेकपा माओवादी केन्द्रका उम्मेदवार कुशेश्वर खेरवारले ४२४ मत प्राप्त गरेका थिए । नेपाली कांग्रेसका तिलेश्वर चौधरीले ४१६, जसपा नेपालका रामनारायण साहुले ३५६, जनमत पार्टीका राकेश रञ्जन यादवले २२४ मत प्राप्त गरेका थिए ।
ओखलढुंगाको मोलुङ गाउँपालिका–५
यहाँ अहिले नेकपा एमालेबाट गंगाबहादुर तामाङ, नेपाली कांग्रेसबाट घनश्याम दाहाल, नेकपा माओवादी केन्द्रबाट मानबहादुर सुनुवार, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विष्णुप्रसाद पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चन्द्रमणी दाहाल र जनता समाजवादी पार्टी नेपालबाट इन्द्रबहादुर दर्जी उम्मेदवार छन् । गत निर्वाचनमा त्यहाँ नेपाली कांग्रेसबाट बमप्रसाद गौतम ३४१ मतका साथ निर्वाचित हुँदा उनका निकटतम प्रतिद्धन्दी एमालेका भुपाल भण्डारीले २९१ मत प्राप्त गरेका थिए । त्यस्तै स्वतन्त्र उम्मेदवार सुकराज लिम्बुले ६७ मत ल्याउँदा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवार उदयकुमार लिङ्देनले ३७ मत प्राप्त गरेका थिए ।
उदयपुरको त्रियुगा नगरपालिका–१२
अहिले त्यहाँ नेकपा एमालेबाट लक्ष्मीनारायण चौधरी, नेपाली कांग्रेसबाट संजिव काफ्ले, माओवादी केन्द्रबाट नविन कुमार वान्तवा राई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट धु्रबप्रसाद पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट लालबाबु साह, जनमत पार्टीबाट मलाहा सहनी, एकीकृत समाजवादीबाट निर्मला चौधरी, नागरिक उन्मुक्ति पार्टीबाट चन्द्रकला चौधरी र स्वतन्त्रबाट बजरङ्गीकुमार दास उम्मेदवार रहेका छन् । गत निर्वाचनमा त्यहाँ नेपाली कांग्रेसका उम्मेदवार चुडाराज काफ्लेले ४३९ मतसहित जित हासिल गरेका थिए भने उनको निकटतम प्रतिद्धन्दी रमेश राउत क्षेत्रीले ४०८ मत प्राप्त गरेका थिए । त्यस्तै माओवादी केन्द्रका नविनकुमार वान्तवा राईले ४०४ मत ल्याउँदा जसपा नेपालका लक्ष्मी नारायण चौधरीले २४१ मत, राप्रपाका होमनाथ पोखरेलले १० मत र जनता प्रगतीशील पार्टीका प्रमोद मलाहा सहनीले ४ मत मात्रै प्राप्त गरेका थिए ।
उदयपुरको बेलका नगरपालिका– ९
अहिल बेलका–६ मा नेकपा एमालेबाट मोहन खड्का, नेपाली कांग्रेसबाट नवराज बस्नेत, नेकपा माओवादी केन्द्रबाट भरत घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट तेजमान विश्वकर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट टिकाप्रसाद फुयल, मंगोल नेशनल अर्गनाइजेसनबाट सुरे तामाङ्ग र जनता समाजवादी पार्टीबाट राजकुमार राई उम्मेदवार रहेका छन् । ०७९ को निर्वाचनमा नेपाली कांग्रेसका पदमबहादुर खड्काले ६७१ मत ल्याएर निर्वाचित हुँदा एमालेका रणजित राईले ५४८ मत प्राप्त गरेका थिए भने जनता समाजवादी पार्टी नेपालका राजकुमार राईले २३१, माओवादी केन्द्रका हरिबहादुर श्रेष्ठ जोशीले १७६, स्वतन्त्र उम्मेदवार मनकुमारी राई घिमिरेले १०७ मत ल्याएकी थिइन् ।
सप्तरीको डाक्नेश्व नगरपालिका वडा नं–१
नेकपा एमालेबाट भगवानी चौधरी, नेपाली कांग्रेसबाट भूलिया देवी थरुनी, माओवादी केन्द्रबाट प्रमोदकुमार संत, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सतिशकुमार चौधरी थारु, जनता समाजवादी पार्टी, नेपालबाट धिरेन्द्रकुमार साह, जनमत पार्टीबाट शैलेन्द्र कुमार साह (तेली), नागरिक उन्मुक्ति पार्टीबाट अनरुदप्रसाद चौधरी र स्वतन्त्राट सुशिल साह उम्मेदवार रहेका छन् । गत निर्वाचनमा त्यहाँ नेपाली कांग्रेसका उम्मेदवार दिनेश्वरप्रसाद चौधरी १०७७ मतसहित निर्वाचित हुँदा नेकपा एमालेका नरहरी फुयाल ६७३ मत ल्याएर उपविजेता बनेका थिए । राप्रपाका निर्माण बस्नेतले २२५ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार पूर्णबहादुर निरौलाले २०३ मत ल्याएका थिए ।
सप्तरीको डाक्नेश्वर नगरपालिका–४
नेकपा एमालेबाट संजयकुमार यादव, नेपाली कांग्रेसबाट जोगिन्द्रराय अमात, नेकपा माअोवादी केन्द्रबाट भागवत राम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामकुमार राय, जनता समाजवादी पार्टी नेपालबाट देवेन्द्रसाद यादव, जनमत पार्टीबाट उदयनारायण पण्डित, नागरिक उन्मुक्ति पार्टीबाट शिवकुमार राम र जनता समाजवादी पार्टीबाट रविन्द्र राय उम्मेदवार रहेका छन् । गत निर्वाचनमा त्यहाँ नेपाली कांग्रेसका उम्मेदवार तीर्थराज अधिकारीले ५०६ मत ल्याउँदै निर्वाचित हुँदा एमालेका उम्मेदवार कोपिलाप्रसाद अधिकारीले ५०३, एकीकृत समाजवादीका जितबहादुर रानामगरले ४०८ मत प्राप्त गरेका थिए ।
धनुषाको धनुषाधाम नगरपालिका–१
नेकपा एमालेबाट प्रमोद यादव, नेपाली कांग्रेसबाट अशोककुमार मण्डल, नेकपा माओवादी केन्द्रबाट शुनिल कापर केवट, राष्ट्रिय स्वतन्त्र पार्टीबाट राम नरेश दास, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राम देव सिंह दनुवार, जनता समाजवादी पार्टी, नेपालबाट अजय कुमार यादव, जनमत पार्टीबाट कुशेश्वर मंडल, बहुजन पार्टीबाट प्रमिला कुमारी सदा, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट फौदार सादा मुसहर, जनता समाजवादी पार्टीबाट अरुण सादा मुसहर र राष्ट्रिय जनता पार्टी नेपालबाट लक्ष्मिनिया देवी उम्मेदवार रहेका छन् । त्यस्तै उक्त वडामा स्वतन्त्र उम्मेदवारहरुको समेत बाहुल्यता रहेको छ । जहाँ स्वतन्त्रबाट दिलिपकुमार ठाकुर वरही, नरेश सदा, रंजितकुमार मंण्डल, विनोद कुमार यादव, विनोद मण्डल, विशेश्वर मंण्डल, सञ्जयकुमार यादव र हुकुम सिंह उम्मेदवार रहेका छन् । गत निर्वाचनमा त्यहाँ नेपाली कांग्रेसका विश्वनाथ यादवले ६१८ मत ल्याउँदै निर्वाचित हुँदा एमालेका प्रमोद यादवले ३७७, माओवादी केन्द्रका शुनिल कापर केवटले ३६९ मत प्राप्त गरेका थिए । त्यस्तै जसपा नेपालका देवनारायण यादवले ३२५ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार अरुणकुमार यादवले ५४ मत प्राप्त गरेका थिए ।
महोत्तरीको रामगोपाल नगरपालिका–२
नेकपा एमालेबाट सकिवुल खाँ, नेपाली कांग्रेसबाट मोहम्मद जनिफ खाँ, माओवादी केन्द्रबाट आइतीकुमारी यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट खुरसैद खाँ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मो मनान खाँ, जनता समाजवादी पार्टी नेपालबाट मो. नजामुद्दिन खान, राष्ट्रिय जनता पार्टीबाट राजेश कुमार यादव दलबाट उम्मेदवार रहेका छन् भने स्वतन्त्र उम्मेदवारको समेत त्यहाँ बाहुल्यता रहेको छ । स्वतन्त्रबाट अशोक कुमार यादव, गंगाप्रसाद यादव, धिरेन्द्र प्रसाद यादव, नजामुद्दिन खाँ, मुकेश्वर ठाकुर, मो.अरमान रजा खाँ, मो. इमानुदीन खाँ, राकेशकुमार यादव, राजदेव यादव, राम औतार यादव, विजयकुमार सिंह उम्मेदवार रहेका छन् । गत निर्वाचनमा सो वडाबाट माओवादी केन्द्रका मुकेश कुमार यादवले ४३३ मत प्राप्त गर्दै निवाचित हुँदा नेपाली कांग्रेसका मोहम्मद जनिफ खाँले ३७५ मत, जसपा नेपालका सकिबुल खाँले ३४२ मत ल्याउँदा नेकपा एमालेका कादिर हुसैनले २८७ मत प्राप्त गरेका थिए ।
रौतहटको ईशनाथ नगरपालिका–७
नेकपा एमालेबाट शेख अनवार, नेपाली कांग्रेसबाट शेख अब्दुल खलिक, माओवादी केन्द्रबाट शेख अमिरुल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शेख असराज, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट श्री मदन शाह, जनता समाजवादी पार्टी नेपालबाट शेख अब्दुल अहद, जनमत पार्टीबाट शेख जमिरुल हक, एकीकृत समाजवादीबाट सदरे आलम उम्मेदवार उम्मेदवार रहेका छन् । स्वतन्त्रबाट शेख अंजर हुसेन, शेख अबुजैर, शेख अमानुलाह, शेख नजिरुल, शेख शकील र सफदर ईमाम उम्मेदवार रहेका छन् । गत निर्वाचनमा उक्त वडामा नेकपा एमालेका शेख खलीउल्लाहले ६८३ मतसहित जित हासिल गर्दा नेपाली कांग्रेसका शेख अब्दुल खलिकले ५७८ मत, एकीकृत समाजवादीका सरदे आलमले ३२७ मत प्राप्त गरेका थिए ।
रौतहटको गढीमाई नगरपालिका–८
नेकपा एमालेबाट जीउती देवी यादव, नेपाली कांग्रेसबाट सुवोदकुमार यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामवालक साह, जनता समाजवादी पार्टी नेपालका तर्फबाट संदेश प्रसाद यादव, जनमत पार्टीबाट सुरेन्द्र राउत कुर्मी, एकीकृत समाजवादीबाट बजरंगी प्रसाद यादव, राष्ट्रिय मातृभूमी पार्टीबाट साहेवलाल राउत दलबाट उम्मेदवार रहेका छन् । उक्त वडामा वडाध्यक्षका लागि ९ जना उम्मेदवार रहेका छन् । त्यहाँ स्वतन्त्रबाट अनिलकुमार यादव, चन्द्रीका प्रसाद यादव, दिनेश राय यादव, नारेन्द्र ठाकुर, रामविधार्थ प्रसाद जैयसवाल, रामविश्वास राय यादव, रामसागर राय यादव, रामसिङ्ग राय यादव र श्रीश्याम प्रसाद यादव उम्मेदवार रहेका छन् । गत निर्वाचनमा त्यहाँ जसपा नेपालका रामाज्ञा राय यादवले ७६४ मतसहित निर्वाचित हुँदा नेपाली कांग्रेसका बैधनाथ ठाकुर लोहारले ५६१, एकीकृत समाजवादीका बजरंगी प्रसाद यादवले ५१९ मत र लेसपा नेपालका इस्लाम महम्मद नटले २४१ मत प्राप्त गरेका थिए ।
रौतहटको राजपुर नगरपालिका–६
नेकपा एमालेबाट मोहम्मद नसिम अख्तर, नेपाली कांग्रेसबाट समसे आलम, नेकपा माओवादी केन्द्रबाट जिकरुलाह, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामनारायणप्रसाद जयसवाल, जनमत पार्टीबाट क्यामुदिन धुनिया उम्मेदवार रहेका छन् । त्यसो त राजपुर–६ मा स्वतन्त्रबाट ७ जना उम्मेदवार रहेका छन् । जसमा साहिद प्रवेज मंसुरी, सफिउल्लाह, शेख रेयाज, शेख मोहमद मुस्ताक, शेख मुस्काक अहमद, नजमा खातुन उम्मेदवार रहेका छन् । गत निर्वाचनमा सो वडाबाट नेपाली कांग्रेसका उम्मेदवार शेख मोजरे आलम ५३४ मतसहित निर्वाचित हुँदा जसपा नेपालका मोहम्मद नसिम अख्तर ४६५ मत, एकीकृत समाजवादीका जिकरुलाहले ३२० मत ल्याउँदा नेकपा एमालेका उदयनारायण प्रसाद जैसवालले २८४ मत ल्याएका थिए ।
नुवाकोटको ककनी गाउँपालिका–२
ककनी गाउँपालिका–२ मा अहिले नेकपा एमालेबाट यमबहादुर लामा, नेपाली कांग्रेसबाट सूर्य तामाङ, माओवादी केन्द्रबाट कृष्ण घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मंगल सिद्धि लामा तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट खेमबहादुर थापा, एकीकृत समाजवादीबाट मानबहादुर लामा, नागरिक उन्मुक्ति पार्टीबाट अमृत तामाङ, नेमकिपाबाट माईली माया तामाङ, मंगोल नेशनल अर्गनाइजेशनबाट किरण तामाङ र २ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छनु । स्वतन्त्र उम्मेदवारहरुमा रमेश पुडासैनी र सोनु तामाङ रहेका छन् । गत निर्वाचनमा त्यहाँ नेपाली कांग्रेसका तिलक बहादुर लामा ८८८ मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका कृष्ण घिमिरेले ७३४, एमालेका प्रेमबहादुर तामाङले २०५ मत प्राप्त गरेका थिए ।
काठमाडौंको काठमाडौं महानगरपालिका–१६
काठमाडौं महानगरपालिका–१६ मा स्वतन्त्र उम्मेदवारहरुको बाहुल्यता देखिएको छ । जहाँ नेकपा एमालेबाट लक्ष्मीरत्न तुलाधर, नेपाली कांग्रेसबाट देवेन्द्र पाठक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रोजिना श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट श्यामकुमार श्रेष्ठ, एकीकृत समाजवादीबाट मीनबहादुर मानन्धर, नेमकिपाबाट न्हूज महर्जन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट राजकुमार थापा, जनता समाजवादी पार्टीबाट सानुमैया राउत क्षेत्री पुतुवार उम्मेदवार रहेका छन् । त्यस्तै उक्त वडामा १० जना स्वतन्त्र उम्मेदवार रहेका छन् । स्वतन्त्रबाट अन्जन श्रेष्ठ, किसान श्रेष्ठ, देवेन्द्रकुमार श्रेष्ठ, पशुपति कठायत, प्रकाश पन्त, विक्रम चित्रकार, श्याम प्रसाद तिवारी, सम शाक्य, सूर्यबहादुर बैदार र हिरा प्रसाद सेती उम्मेदवार रहेका छन् । गत निर्वाचनमा काठमाडौं–१६ मा नेपाली कांग्रेसका उम्मेदवार मुकुन्द रिजालले ४०१९ मत ल्याएर निर्वाचित हुँदा एमालेकी लक्ष्मी रत्न तुलाधरले ३३१० मत, एकीकृत समाजवादीका लक्ष्मण गमालले १५८९ मत प्राप्त गरेका थिए भने स्वतन्त्र उम्मेदवार शान्जे गुरुङले ३२२ मत प्राप्त गरेका थिए ।
काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नं १
अहिले सो वडामा नेकपा एमालेबाट हर्ष मर्हजन, नेपाली कांग्रेसबाट इच्छाकुमार महर्जन, माओवादी केन्द्रबाट सरल गोपाल महर्जन, राप्रपाबाट सुरेन्द्रप्रसाद उप्रेती, जनमत पार्टीबाट विकास प्रधान, नेमकिपाबाट कृष्णप्रसाद महर्जन उम्मेदवार रहेका छन् भने स्वतन्त्रबाट विकास प्रधान, कृष्णप्रसाद महर्जन, अर्जुन महर्जन, कमला महर्जन र विनोद कुमार महर्जन उम्मेदवार रहेका छन् । गत निर्वाचनमा सो वडामा नेपाली कांग्रेसका हिरालाल महर्जन ७७८ मतसहित निर्वाचित हुँदा एमालेका हर्ष महर्जन ५८२ मत, माओवादी केन्द्रका विनोद कुमार महर्जन २७३ मत ल्याएका थिए ।
काठमाडौंको कीर्तिपुर नगरपालिका–४
अहिले यहाँ नेकपा एमालेबाट बद्री बुढाथोक, नेपाली कांग्रेसबाट राजेन्द्र बाँनिया, माओवादी केन्द्रबाट नारायण विष्ट, राप्रपाबाट विजेस बस्नेत, जनता समाजवादी पार्टी नेपालबाट राजीव महर्जन, जनमत पार्टीबाट श्रीकृष्ण महर्जन, एकीकृत समाजवादीबाट रीता खड्का (केसी) तथा नेमकिपाबाट महेश्वर सुवेदी उम्मेदवार रहेका छन् । भने स्वतन्त्रबाट कृष्णहरि खड्का, गौतम बस्ने, पविता खड्का अधिकारी र मदन प्रसाद दाहाल उम्मेदवार रहेका छन् । गत निर्वाचनमा स्वतन्त्र उम्मेदवार श्यामकुमार अधिकारीले १३८० मत ल्याउँदै निर्वाचित हुँदा नेपाली कांग्रेसका राजेन्द्र बानियाँले १०५७ मत, एमालेका ईश्वर कुमार बाँस्कोटाले २३६ मत प्राप्त गरेका थिए ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२
मंसिर १६ को उपनिर्वाचनमा यहाँ नेकपा एमालेबाट राजेश नगरकोटी, नेपाली कांग्रेसबाट अर्जुनप्रसाद तिवारी, माओवादी केन्द्रबाट रविकुमार प्रधान, राष्ट्रिय स्वतन्त्र पार्टीबाट आशा विर बल, राप्रपाबाट प्रेमबहादुर भोलन, जनता समाजवादी पार्टी नेपालबाट छविलाल वाइवा, एकीकृत समाजवादीबाट बलराम बल, नेमकिपाबाट फुलमाया तितुङ्ग, मंगोल नेशनल अर्गनाइजेशनबाट दीपा लामा उम्मेदवार रहेका छन् । स्वतन्त्रबाट अर्जुन घलान, गीता कुमारी नेवार र छत्र प्रकाश अधिकारी उम्मेदवार रहेका छन् । गत निर्वाचनमा त्यहाँ नेकपा माओवादी केन्द्रका ललितबहादुर घलान १३७१ मतसहित निर्वाचित हुँदा नेपाली कांग्रेसका अर्जुनप्रसाद तिवारीले १३४०, एमालेका राजेश नगरकोटीको १३२५ मत राप्रपाका सरनसिंह थिङको १८३ मत आएको थियो ।
गोरखाको गोरखा नगरपालिका–५
गोरखा नगरपालिका वडा नं ५ गण्डकी प्रदेशको एकमात्रै स्थानीय तह उपनिर्वाचन हुने स्थान हो । जहाँ नेकपा एमालेबाट दुर्गामाया थापा राना, नेपाली कांग्रेसबाट भाईकाजी आले, माओवादी केन्द्रबाट विष्णुबहादुर मगर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मंगल बहादुर थापा, राप्रपाबाट कल्पना राना, मंगोल नेशनल अर्गनाइजेशनबाट भवानी थापामगर, राप्रपा नेपालबाट रुप सिंह राना, नेपाल समाजवादी पार्टीबाट रुपेश मग्राती र नेशनल रिपब्लिक नेपालबाट सबिना तामाङ उम्मेदवार रहेका छन् । यसअघि नेकपा एमालेका खिलबहादुर राना ४५३ मतसहित निर्वाचित हुँदा नेपाली कांग्रेसका गीता थापामगरले ४२८, माओवादी केन्द्रकी सावित्री थापाले २७४ मत प्राप्त गरेकी थिइन् ।
गुल्मीको मुसिकोट नगरपालिका–१
अहिले यहाँ नेकपा एमालेबाट दलबहादुर थापा, नेपाली कांग्रेसबाट आनन्द श्रेष्ठ, माओवादी केन्द्रबाट दुर्गाबहादुर विक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास थापा, राप्रपाबाट ईश्वरी खाती उम्मेदवार रहेका छन् भने स्वतन्त्रबाट कुलबहादुर थापा, पोमानन्द खरेल र योगेन्द्र खरेल रहेका छन् । गत निर्वाचनमा त्यहाँ नेपाली कांग्रेसका मोहन घिमिरे ११८२ मतसहित निर्वाचित हुँदा नेकपा एमालेका नारायण बहादुर थापाले ११४३ मत प्राप्त गरेका थिए ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं १
नेकपा एमालेबाट मोहमद ताहिर मुसलमान, नेपाली कांग्रेसबाट दिनेशकुमार यादव, माओवादी केन्द्रबाट रफि मोहम्मद मुसलमान, राष्ट्रिय स्वतन्त्र पार्टीबाट अवधेश कुमार चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट इनतात अहमद धोवी, जनता समाजवादी पार्टी नेपालबाट रामबहादुर कुर्मी चौधरी, जनमत पार्टीबाट सीताराम पटेल कुर्मी, एकीकृत समाजवादीबाट सुब्बा थारु, नागरिक उन्मुक्ति पार्टीबाट सूर्यकुमार चौधरी थारु, जनता समाजवादीबाट पार्टीबाट रमेशकुमार पाण्डे उम्मेदवार रहेका छन् । त्यहाँ अब्दुल अब्बल फकिर, अब्दुल मुयीद मु, पुजारी थारु र सर्वजीत मल्लाहले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । गत निर्वाचनमा त्यहाँ नेपाली कांग्रेसका तिलकराम यादव १०३२ मतसहित निर्वाचित हुँदा नेकपा एमालेका अब्दुल मोजीब खाँ ८८९ मत, जनमत पार्टीका सीताराम पटेल कुर्मीले ५४७ मत प्राप्त गरेका थिए ।
रुकुम पश्चिमको सानीभेरी नगरपालिका–५
अहिले सानीभेरी–५ को वडाध्यक्षका लागि नेपाली कांग्रेसबाट मोतीराम खत्री र नेकपा माओवादी केन्द्रबाट जसीराम बस्नेत उम्मेदवार रहेका छन् । त्यहाँ गत निर्वाचनमा नेपाली कांग्रेसका अलबहादुर खत्रीले ४६२ मतसहित निर्वाचित हुँदा नेकपा माओवादी केन्द्रका तीर्थबहादुर खत्रीले ४३४ मत मात्रै प्राप्त गरेका थिए ।
रोल्पाको रुन्टीगढी गाउँपालिका–४
यहाँ नेकपा एमालेबाट वेगम पुन, कांग्रेसबाट भुपमणी पुनमगर, माओवादी केन्द्रबाट नरेशजंग सिंह, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हिमबहादुर पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पहल बहादुर वली र मंगोल नेशनल अर्गनाइजेशनबाट पूर्णबहादुर बुढा उम्मेदवार रहेका छन् । गत निर्वाचनमा त्यहाँ नेपाली कांग्रेसका टंकबहादुर पुनले ४८८ मत ल्याउँदा नेकपा एमालेका वेगम पुनले ४८० र नेकपा माओवादी केन्द्रका शिवलाल रोकाले २०३ मत प्राप्त गरेका थिए ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५
यहाँ नेकपा एमालेबाट नरबहादुर रोका, नेपाली कांग्रेसबाट राजेन्द्रप्रसाद न्यौपाने र माओवादी केन्द्रबाट नरबहादुर झाँक्री उम्मेदवार रहेका छन् । गत निर्वाचनमा त्यहाँ नेकपा एमालेका नन्दलाल रोकाले १०८ मत ल्याइ विजयी हुँदा नेकपा माओवादी केन्द्रका जंगबहादुर रोकायाले १०२ र नेपाली कांग्रेसका नरबहादुर झाँक्रीले ८२ मत मात्रै प्राप्त गरेका थिए ।
कालिकोटको तिलगुफा नगरपालिका–४
नेकपा एमालेबाट ऐनबहादुर शाही, नेपाली कांग्रेसबाट पैलबहादुर शाही, माओवादी केन्द्रबाट नैसोभा शाही, रास्वपाबाट गगन बम, राप्रपाबाट गोगनबहादुर शाही र नेपाल मजदुर किसान पार्टीबाट खड्ग राज शाही उम्मेदवार रहेका छन् । गत निर्वाचनमा त्यहाँ माओवादी केन्द्रका परबहादुर शाहीले २३४ मत ल्याइ विजयी हुँदा नेमकिपाका दिपबहादुर शाहीले १६१ मत ल्याएका थिए भने एमालेमा धनसरा शाहीले ४ र नेपाली कांग्रेसका मलेबहादुर शाहीले ३ मत प्राप्त गरेका थिए ।
बर्दियाको ठाकुरबाबा नगरपालिका–४
नेकपा एमालेबाट विष्णुप्रसाद देवकोटा, नेपाली कांग्रेसबाट अमिन थारु, माओवादी केन्द्रबाट शेरबहादुर थारु, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बासुदेव शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रत्न र नागरिक उन्मुक्ति पार्टीबाट प्रितीलाल थारु उम्मेदवार रहेका छन् । गत निर्वाचनमा त्यहाँ नेपाली कांग्रेसका सूर्यबहादुर विष्टले १२०९ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका नारायण अधिकारीले ५८० मत, माओवादी केन्द्रका अमरबहादुर थापाले ४२१ मत प्राप्त गरेका थिए भने राप्रपाका बमबहादुर हमालले २५ र साझा पार्टीका अर्जुन नेपालीले १७ मत प्राप्त गरेका थिए ।
जाजरकोटको कुसे गाउँपालिका–७
डम्बरबहादुर घर्ती नेकपा एमालेबाट, नेपाली कांग्रेसबाट खम्बबहादुर सिंह, माओवादी केन्द्रबाट गोरखबहादुर नेपाली र राप्रपाबाट लालबहादुर खत्री उम्मेदवार रहेका छन् । त्यहाँ गत निर्वाचनमा नेकपा माओवादी केन्द्रका मनबहादुर घर्तीले ३८० मत ल्याउँदा नेपाली कांग्रेसका खम्बबहादुर सिँहले ३१८ र नेकपा एमालेका प्रसाद सिंहले १४८ मत मात्रै प्राप्त गरेका थिए ।
दैलेखको दुल्लु नगरपालिका–१३
नेकपा एमालेबाट लालबहादुर शाही, नेपाली कांग्रेसबाट रेशमबहादुर शाही, माओवादी केन्द्रबाट ढकेन्द्रबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामबहादुर शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रेशम बहादुर मल्ल र नेपाल मजदुर किसान पार्टीबाट पूर्णप्रसाद उपाध्याय उम्मेदवार रहेका छन् । गत निर्वाचनमा नेकपा एमालेका विर्खबहादुर शाहीले ८२२ मत ल्याएर निर्वाचित हुँदा माओवादी केन्द्रका डम्बरबहादुर शाहीले ७७३ मत, एकीकृत समाजवादीका भीमप्रसाद शर्माले ३६ मत ल्याउँदा नेमकिपाका मधुसुधन शर्माले ११ मत मात्रै प्राप्त गरेका थिए ।
बझाङको सूर्मा गाउँपालिका–४
नेकपा एमालेबाट लखीचन्द्र बोहरा, नेपाली कांग्रेसबाट धिरेन्द्र पुजारा र माओवादी केन्द्रबाट पुष्कर बहादुर बोहरा उम्मेदवा रहेका छन् । त्यहाँ स्वतन्त्र उम्मेदवार नभएका कारण तीन दलबीच प्रतिष्पर्धा हुने देखिन्छ । गत निर्वाचनमा नेकपा एमालेका सर्जनबहादुर बोहराले ६२९ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका लोकबहादुर बोहराले ६०४ मत मात्रै प्राप्त गरेका थिए ।
डोटीको पूर्वीचौकी गाउँपालिका–६
यहाँ अहिले नेकपा एमालेबाट देबबहादुर थापा, नेपाली कांग्रेसबाट मोहन थापा, माओवादी केन्द्रबाट देवीलाल थापा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट जानकी कुमारी खड्का उम्मेदवार रहेका छन् । त्यहाँ गत निर्वाचनमा नेपाली कांग्रेसका पुष्पराज जोशी ५१३ मतसहित विजयी हुँदा नेकपा एमालेका देबबहादुर भण्डारीले ३८७ मत र माओवादी केन्द्रका टंकबहादुर नेपालीले ४९ मत मात्रै प्राप्त गरेका थिए ।
दार्चुलाको दुहुँ गाउँपालिका–५
नेकपा एमालेबाट मानसिँह बडाल, नेपाली कांग्रेसबाट धनसिंह कुँवर, माओवादी केन्द्रबाट वीरसिंह कार्की र स्वतन्त्रबाट लालबहादुर कुँवर उम्मेदवार रहेका छन् । त्यहाँ गत निर्वाचनमा नेकपा माओवादी केन्द्रका मनोरथ भट्टले ५८२ मत ल्याउँदै जित हाँसिल गर्दा नेकपा एमालेका मानसिँह बडालले ३०२ मत प्राप्त गरेका थिए ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–६
कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा नेकपा एमालेबाट बहादुर चन्द, नेपाली कांग्रेसबाट प्रकाश चन्द, माओवादी केन्द्रबाट नाना राम कोली, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामदत्त भट्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सुसिल कुमार भट्ट, जनमत पार्टीबाट यादव बहादुर चन्द, एकीकृत समाजवादीबाट जितेन्द्र बहादुर चन्द उम्मेदवार रहेका छन् । त्यस्तै नागरिक उन्मुक्ति पार्टीबाट हरिष डगौरा, नेमकिपाबाट दलबहादुर बोहरा, राप्रपा नेपालबाट दिलबहादुर धामी उम्मेदवार रहँदा सो वडामा २ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । त्यहाँ स्वतन्त्रबाट थानेश्वर लेखक र युवराज चन्द स्वतन्त्र उम्मेदवार रहेका छन् । यहाँ गत निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र खड्का ११०२ मतसहित निर्वाचित हुँदा नेकपा एमालेका जनकराज अवस्थी ६९८, राप्रपाका सुसिल कुमार भट्ट ४८७ र एकीकृत समाजवादीका जितेन्द्रबहादुर चन्दले २३२ मत प्राप्त गरेका थिए ।
जिल्ला समन्वय समिति ओखलढुंगा र कञ्चनपुर तथा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ मा नेतृत्व चयन भइसकेको छ ।
(निर्वाचन आयोग नेपालले उपलब्ध गराएको तथ्यांकको आधारमा)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया