काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज चीन प्रस्थान गरेकी छिन् ।
चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि उनी आज मध्याह्न त्यसतर्फ प्रस्थान गरेकी हुन् ।
डा. राणा नेपालको परराष्ट्र मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक चीन भ्रमणमा गएकी हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई र मन्त्रालयका अधिकारीहरूले बिदाइ गरेका थिए।
भ्रमणका क्रममा मन्त्री डा. राणाले चिनियाँ विदेशमन्त्री यीसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन् । सो भेटवार्ता शुक्रबार चीनको सिचुआन प्रान्तस्थित छेन्दु शहरमा हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
चीनको औपचारिक भ्रमणका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भ्रमणको तयारीस्वरूप परराष्ट्रमन्त्री राणा आज चीन प्रस्थान गरेकी हुन् ।
प्रधानमन्त्री ओली अर्को साता चीन भ्रमणमा जाँदैछन् । परराष्ट्रमन्त्री डा राणा मंसिर १५ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया