काठमाडौं । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले विभिन्न १८ खेलको राष्ट्रव्यापी प्रतियोगिताका साथै प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै आफ्नो राष्ट्रव्यापी खेल प्रतियोगिता सार्वजनिक गरेको हो ।
खेल पर्यटनलाई विकास गर्न मात्र देशको अर्थतन्त्र उकालो लाग्ने विश्वास लिँदै खेल प्रतियोगिता आयोजनामा ध्यान दिइएको मदन भण्डारी स्पोटर््स एकेडेमीले जनाएको छ । एकेडेमीले भलिबल, फुटसल, तेक्वान्दो, टेबल टेनिस, बास्केटबल, फुटबल, फुल कन्ट्याक्ट, कराते, रेस्लिङ, ब्याडमिन्टन, क्रिकेट, शारीरिक सुगठन, रोड रेस, चेस, आर्चरी, कबड्डी, छेलो र हक्की खेलको राष्ट्रिय प्रतियोगिता गर्ने भएको छ ।
यी खेल आयोजनामध्ये एकेडेमीले तेक्वान्दो, फुलकन्ट्याक्ट, कराते, रेस्लिङ, शारीरिक सुगठन, चेस र हक्कीमा महिलाको प्रतिस्पर्धा गर्ने जनाएको छ । रोड रेसमा यु-२० र यु-१६ उमेर समूहमा प्रतिस्पर्धा हुने भएको छ । क्रिकेटको प्रतियोगिता भने केपी ओलीबाट गर्ने एकेडेमीले उल्लेख गर्यो । पोखरा वा काठमाडौंमा चैत २५ गतेदेखि आगामी वर्षको वैशाख ३ गतेसम्म केपी ओली कप राष्ट्रिय पुष क्रिकेट हुने भएको छ । यस प्रतियोगिताको विजेताले १० लाख, उपविजेताले पाँच लाख र सेमिफाइनलिस्टले समान दुई लाख पाउनेछन् । वेस्ट प्लेयरले ३० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
सबैभन्दा पहिला पुरुष भलिबलबाट एकेडेमीले तय गरेको राष्ट्रव्यापी प्रतियोगिता सुरु हुनेछ । एकेडेमीको १६औँ स्थापना दिवसको अवसरमा मदन भण्डारी कप इण्डो नेपाल पुरुष भलिबल प्रतियोगिता हुने भएको हो । उक्त प्रतियोगिता बुटवलमा आगामी पुस १७ देखि २४ गतेसम्म आयोजना हुने तय छ । यस प्रतियोगिताको विजेताले सात लाख ५० हजार, उपविजेताले तीन लाख ५० हजार, तेस्रो हुने टोलीले एक लाख ५० हजार र सान्त्वना हुने टोलीले एक लाख रुपैयाँ पाउनेछन् । वेस्ट प्लेयरले भने २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
भारतको रेलवे टोलीले भलिबलमा प्रतिस्पर्धा गर्ने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए । साथै एकेडेमीले साथै प्रदेशमा ३२औँ मदनभण्डारी स्मृति खेलाडी, अफिसियल तथा खेल सम्बन्ध व्यक्तित्वहरूमा तालिम, प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने उल्लेख गरेको छ । यी कार्यक्रम आयोजना गर्न करिब १० करोड ६६ लाख ९७ हजार ७७४ रुपैयाँ अनुमानित लागत लाग्ने आयोजकले जनाएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दुई करोड रुपैयाँ प्रदान गर्ने भएको छ ।
मदन भण्डारी स्पोटर््स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले सम्बन्धित खेल संघसँग प्राविधिक सहयोग र सहकार्य गरेर प्रतियोगिता आयोजना गर्ने उल्लेख गरेको छ । उनले सात प्रदेशमा खेल प्रतियोगिता हुने र ती प्रतिस्पर्धामा स्थानीय निकायका साथै कर्पोरेट क्षेत्रलाई पनि सहभागी गराउने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया