पारस खड्काले भने– ‘एनपीएलको सबै टिकट बिक्री भइसक्यो , टिकटका लागि फोन नगर्नुहोस्’

लोकपथ
105
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) को सबै टिकट बिक्री भइसकेको बताएका छन् ।

मंसिर १५ गते शनिबार (भोलि) बाट सुरु हुने एनपीएलको सबै टिकट बिक्रि भइसकेको भन्दै टिकटका लागि फोन नगर्न आग्रह समेत गरेका छन् ।

शुक्रबार दिउँसो सामाजिक सञ्जालमा लेख्दै खड्काले पहिलो म्याचका लागि सर्वसाधारण र भिआईपी टिकट सकिइसकेको बताए । साथै टिकट नहुनेहरुका लागि टेलिभिजन वा डिजिटल प्लेटफर्मबाट खेल हेर्न आग्रह समेत गरेका छन् ।

‘क्रिकेट संघ नेपाल (क्यान) ले आयोजना गरिरहेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग अन्तर्गतको पहिलो म्याचका टिकट र भिआईपी पासहरू सबै सीमित पूर्वाधारका कारण सकिएको हुँदा कृपया सबैलाई समन्वय गर्न अनुरोध गर्दछौं। भोलिको खेलको लागि टिकट नभएका महानुभावहरूले कृपया टेलिभिजन वा डिजिटल प्लेटफर्मबाट नै खेल हेर्नुहुन हार्दिक अनुरोध गर्दछौं। कृपया भोलिको पासका लागि फोन वा सन्देश नगर्नुहुन हार्दिक अनुरोध गर्दछौं । बाँकी खेलहरूको लागि पनि अवसर हुनेछ,’ उनले भनेका छन् ।

त्यस्तै क्रिकेटप्रेमीहरुको निरन्तर साथ रहेका आगामी दिनमा प्रयाप्त भौतिक पूर्वाधार बनाएर धेरै भन्दा धेरै दर्शकहरुलाई समेट्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

‘यहाँहरूको समर्थन निरन्तर रहोस्, र भविष्यमा पर्याप्त पूर्वाधारको साथ सबैलाई समेट्न सक्ने नेपाल क्रिकेट संघ बन्ने हाम्रो प्रयास जारी रहनेछ,’ उनले भने ।

नेपाली क्रिकेटको कुम्भ मेलाको रुपमा रहेको एनपीएल भोलिबाट सुरु हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?