आरु क्लिनिकद्वारा दर्शना स्कुलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

लोकपथ
35
Shares

काठमाडौं । बहुराष्ट्रिय कम्पनी बरुण बेभ्रेजद्वारा सञ्चालित आरु क्लिनिकले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

आइतबार काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ मा रहेको दर्शना स्कुलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

सबै नेपालीहरुमा निःशुल्क स्वास्थ्य सेवा पुर्याउने उदेश्यले सञ्चालित आरु क्लिनिकले दर्शना स्कुल सबै तहका विद्यार्थी, अभिभावक तथा अन्य स्थानीयको समेत निःशुल्क स्वास्थ्य परीक्षणदेखि औषधि वितरण समेत गरेको हो ।


दर्शना स्कुलका शिक्षक, विद्यार्थी, अभिभावकदेखि स्थानीय गरी करिब ३९० जनाले आज आरु क्लिनिकबाट निःशुल्क स्वास्थ्य सेवा लिएका हुन् ।

निःशुल्क स्वास्थ्य सेवा आगामी दिनमा विद्यालयस्तर हुँदै देशभर पुर्याउने उदेश्य रहेको बरुण बेभ्रेजका डाइरेक्टर सञ्जीव अरुणाले बताए । पेप्सीकोलामा रहेको एक क्लिनिकबाट आरु क्लिनिकले सेवा दिइरहेको बताउँदै उनले आगामी दिनमा नेपालका दुरदराजका स्कुल तथा गाउँहरुमा पुर्याउने उदेश्य राखेको बताए ।

‘हामीले एक क्लिनिकबाट मात्रै दिइरहेको सेवा आज दर्शना स्कुलमा दिएका छौँ, भोलिका दिनमा नेपालका दुरदराजमा रहेका स्कुल तथा गाउँहरुमा समेत सेवा दिने लक्ष्य राखेका छौँ । हामी त्यो लक्ष्य पूरा गर्नेछौँ,’ उनले भने ।

बयोधा अस्पतालको व्यवस्थापनमा २०८० साल असोज १० गतेबाट सञ्चालनमा आएको यस क्लिनिकमा दैनिकरुपमा बिरामीको चेकजाँच, ल्याब परीक्षण हुँदै निःशुल्क औषधीसमेत दिइन्छ । विशेषज्ञ चिकित्सकबाट दैनिकरुपमा अधिकतम ८० जनासम्म बिरामीले यस क्लिनिकबाट निःशुल्क सेवा पाइरहेका छन् ।

आरु क्लिनिकले निःशुल्क रुपमा दिइरहेको सेवाको प्रशंसा गर्दै आगामी दिनमा देशव्यापी रुपमा निःशुल्क स्वास्थ्य सेवा पुर्याउन हातेमालो गर्नुपर्ने दर्शना स्कुलका प्रधानाध्यापक विनोद गुरुङले बताए । साथै बालबालिकाहरुलाई विद्यालयस्तरबाटै स्वास्थ्यप्रति सजग गराउन आरु क्लिनिकले खेलेको भूमिका सराहनीय रहेको बताए ।


‘आम नागरिकमा स्वास्थ्य सेवाको पहुँच पुर्याउने आरु क्लिनिकको योगदान सराहनीय छ । विद्यालयस्तरबाटै बालबालिकामा स्वास्थ्यबारे सजग गराउन आरु क्लिनिकको सेवा आगामी दिनमा देशभर पुर्याउनुपर्छ,’ उनले भने ।

यो पनि…
एउटा यस्तो क्लिनिक, जहाँ निःशुल्क परामर्श, ल्याब टेस्ट र औषधि पाइन्छ (भिडियोसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?