काठमाडौं । सरकारले भीभीआईपीको बिदाइ र स्वागतका लागि विमानस्थल पुग्ने पदाधिकारीको सङ्ख्या घटाएको छ । मन्त्रिपरिषद्ले सुरक्षा व्यवस्थापन कार्यविधि संशोधन गरेसँगै बिदाइ र स्वागतमा जाने पदाधिकारीको सङ्ख्या घटेको हो ।
गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले केही दिनअघि मात्रै सुरक्षा व्यवस्थापन कार्यविधि, २०८० संशोधन गर्दै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका पदाधिकारी विदेश भ्रमणमा जाँदा र फर्कँदा विमानस्थलमा जाने पदाधिकारीको सङ्ख्या घटाइएको हो ।
विमानस्थल जाने पदाधिकारी घटाउने संशोधित कार्यविधि सोमबारबाट नै कार्यान्वयनमा आउने छ । सोमबार बिहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओली चिन भ्रमणमा जाने समयमै संशोधित कार्यविधि अनुसार पदाधिकारीको सङ्ख्या कटौती गरिएको छ ।
कार्यविधि संशोधन भएसँगै राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री विदेश भ्रमण जाँदा वा आउँदा बिदाइ र स्वागतमा अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपस्थित हुने पदाधिकारीको भीडमा कमी आउने छ ।
गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङका अनुसार संशोधित कार्यविधिअनुसार राष्ट्रपति विदेश भ्रमणमा जाँदा वा फर्किदा उपराष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्रीसहित २३ जना पदाधिकारी उपस्थित हुनुपर्ने यसअघिको व्यवस्थामा परिवर्तन गरी उपराष्ट्रपति सहित १४ जना मात्रै पदाधिकारी जानुपर्ने व्यवस्था गरिएको छ । त्यसै गरी राष्ट्रपति विदेश भ्रमणमा जाँदा र फर्किदा अन्तर्राष्ट्रिय विमानस्थलमा अति विशिष्ट कक्षदेखि जहाज चढ्न जाने मिनी कारकेडसम्म जाने पदाधिकारीको सङ्ख्यामा पनि कटौती गरिएको छ । नयाँ व्यवस्था अनुसार अब मिनी कारकेडसम्म जाने पदाधिकारीको सङ्ख्या ९ जना मात्रै हुनेछ । यसअघि १३ जना जाने गरिएको थियो ।
संशोधित कार्यविधि अनुसार अब उपराष्ट्रपति विदेश भ्रमणमा जाँदा र फर्किदा प्रधानमन्त्रीसहित ७ जना उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ । यसअघि यो सङ्ख्या १२ जना रहेको थियो । उपराष्ट्रपति विदेश भ्रमणमा जाँदा र फर्किदा अन्तर्राष्ट्रिय विमानस्थलमा अति विशिष्ट कक्षदेखि जहाज चढ्न जाने मिनी कारकेडसम्म जाने पदाधिकारीको सङ्ख्या पनि ७ बाट घटाएर ४ जना बनाइएको छ । उपराष्ट्रपतिको विदेश भ्रमणमा अब प्रधानमन्त्री, परराष्ट्र मन्त्री, उपराष्ट्रपति कार्यालयका सचिव र परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल मात्रै मिनी कारगेडसम्म जानेछन् ।
संशोधित कार्यविधि अनुसार अब प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा र फर्किदा जाने पदाधिकारीको सङ्ख्या पनि २३ बाट घटाएर १२ जना बनाइएको छ । प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा र फर्किदा यसअघि कार्यवाहक प्रधानमन्त्रीदेखि प्रमुख जिल्ला अधिकारीसम्म गरी २१ जना पदाधिकारी विमानस्थलको अति विशिष्ट कक्षमा उपस्थित हुनुपर्ने व्यवस्था थियो । प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा मिनी कारकेडसम्म जाने पदाधिकारीको सङ्ख्या पनि ११ बाट घटाएर ६ जनामा सीमित गरिएको छ ।
नयाँ कार्यविधिले राष्ट्रप्रमुख वा प्रधानमन्त्रीको विदेश भ्रमणमा प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई विमानस्थल जानै पर्ने बाध्यकारी व्यवस्था हटाएको छ । यसअघि राष्ट्रपति र प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा र फर्किदा सभामुख र राष्ट्रिय सभा अध्यक्ष विमानस्थल पुग्नै पर्ने व्यवस्था थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया