काठमाडौं । स्थानीय तह उपनिर्वाचनअन्तर्गत हालसम्म ३७ स्थानको मत परिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेस १६ वटा वडा जितेर पहिलो स्थानमा छ । यस्तै माओवादी केन्द्र दोस्रो र एमाले तेस्रो स्थानमा रहेको छ ।
नेकपा (माओवादी केन्द्र) एउटा गाउँपालिका अध्यक्ष, एउटा उपाध्यक्ष र ६ वटा वडा जितेर दोस्रो बनेको छ । एमाले एउटा गाउँपालिका अध्यक्ष, एउटा उपाध्यक्ष र ५ वटा वडामा जित हात पारेर तेस्रो बनेको छ ।
जनता समाजवादी पार्टी, नेपाल मधेस प्रदेशका दुई ठाउँका वडाध्यक्ष जितेर चौथो स्थानमा छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्रले एक–एक स्थानमा जित हासिल गरेको छ ।
नेपाली कांग्रेसले तेह्रथुमको लालीगुराँस नगरपालिका–८, सुनसरीको गढी गाउँपालिका–६, रौतहटको ईशनाथ नगरपालिका–७, रौतहटकै राजपुर नगरपालिका–६, काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नम्बर १ र ४, हेटौंडा उपमहानगरपालिका–१२, गुल्मीको मुसिकोट–१, बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा, जाजरकोटको कुशे गाउँपालिका–७, रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–५, बझाङको सुर्मा गाउँपालिका–४,डोटीको पुर्वीचौकी गाउँपालिका–६, दार्चुलाको दुहु गाउँपालिका–५ र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को को वडाध्यक्षमा जित हासिल गरेको छ ।
माओवादीले मोरङको ग्रामथानको अध्यक्ष, जाजरकोटको नलगाड नगरपालिकाको उपमेयर, उदयपुरको त्रियुगा नगरपालिका–१२, धनुषाको धनुषाधाम नगरपालिका–१, नुवाकोटको ककनी गाउँपालिका–२, गोरखा नगरपालिका–५, रोल्पाको पुथा उत्तरगंगा–२ र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्षमा जित हासिल गरेको छ । यसैगरी, एमालेले दैलेखको महाबु गाउँपालिका अध्यक्ष, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष, ओखलढुंगाको मोलुङ गाउँपालिका–५, ताप्लेजुङको सिरिजंघा–३, महोत्तरीको रामगोपालपुर नगरपालिका–२, कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ र दैलेखको दुल्लु नगरपालिका–१३ मा जित हासिल गरेको छ ।
यसैगरी, स्थानीय तह उपनिर्वाचनमा सप्तरी डाक्नेश्वरीका दुवै वडामा जनता समाजवादी पार्टी नेपाल निर्वाचित भएको छ । जसपा नेपालले डाक्नेश्वरी १ र ४ वडामा जित हासिल गरेको हो । जसपा नेपालले नेपाली कांग्रेसबाट यी दुबै वडा खोसेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्षमा जितेको छ । पहिलोपटक स्थानीय तह निर्वाचनमा भाग लिएको रास्वपाले कांग्रेस उम्मेदवारले यसअघि जितेको सो वडामा जित हात पारेको हो । यसैगरी, एकीकृत समाजवादीले रौतहटको गढीमाई नगरपालिका–८, नेमकिपाले कालीकोटको तिलागुफा नगरपालिका–४ जित हासिल गरेको छ । झापाको कन्काई नगरपालिका–६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली विजयी भएका छन् । उनी ४ सय ९३ मतका साथ निर्वाचित हुँदा एमालेका तुलाराम बस्नेतले ३ सय ५६ मत ल्याई दोस्रो बने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया