काठमाडौं । रुकुमपूर्वको पुथा उत्तरगंगामा नेकपा माओवादी केन्द्रले आफ्नो विरासत जोगाएको छ ।
आइतबार भएको उपाध्यक्ष पदको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार नरपुरा बुढाले ३ हजार ६ सय २७ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन् । त्यस्तै उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसको रुख चिह्नबाट निर्वाचन लडेकी नेकपा एमालेकी केशकुमारी तुलाचन भने झण्डै १५ सय मतले पराजित भएकी हुन् ।
उनीहरुबीचको मतान्तर १४९९ मत देखिन्छ ।
पुथा उत्तरगंगा माओवादी केन्द्रको बलियो आधार क्षेत्र हो । जसकारण सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेस मिलेर चुनावी मैदानमा होमिएको थियो । तर दुवै दल मिल्दा पनि माओवादीकी बुढाले बाजी मार्दै आफ्नो विरासत जोगाएकी हुन् ।
त्यसो त गत निर्वाचनमा पनि गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी भुपा बुढा मगर निर्वाचित भएकी थिइन् । उनको सवारी दुर्घटनामा परी निधन भएसँगै त्यहाँ उपनिर्वाचन भएको हो ।
यसअघि नै पुथा उत्तरगंगाको वडा नं २ मा पनि माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया