काठमाडौं । बागबजारको आराधना कम्प्लेक्समा सुट मेला २०८१ सुरु भएको छ । नेपाल टेलरिङ व्यवसायी महासंघको आयोजनामा मंसिर १७ गतेबाट सुरु सटिक सुटिङको मेला वैशाख २५ गतेसम्म चल्ने आराधना कम्प्लेक्सले जनाएको छ ।
नेपालमा पहिलो पटक आयोजना गरिएको यस किसिमको सुट मेलामा आधुनिक डिजाइनबारे ग्राहकलाई जानकारी गराउने उद्देश्यले आयोजना भएको हो । यसै गरी, आर्थिक मन्दीका कारण शिथिल बनेको व्यवसायलाई गति दिन पनि मेलाको आयोजना गरिएको मेला आयोजकको भनाइ छ ।
विवाहको सिजनमा दूर दराजबाट पनि सुट सिलाउन काठमाडौं आउनेलाई मेला सहयोगी हुने आयोजकको विश्वास छ । मेलामा आराधना कम्प्लेक्समा रहेका मेरिना इम्पेक्स, अनुपम टेलर्स, श्रेष्ठ टेलरिङ, एक्सलेन्ट टेलर्स, एसटी टेलर्स, सिजनल टेलर्स, टिपटप टेलर्स, रिच स्टिचिङ, मेरो टेलर्स, हिल टप र ह्यारी कलेक्सनका स्टल रहनेछन् ।
मेलामा सहभागी व्यवसायीले मेलाका अवसरमा कपडा र सिलाइमा ग्राहकलाई आकर्षक छुट उपलब्ध गराउने हुँदा ग्राहकका लागि यो एउटा अवसर हुने मेला संयोजक अर्जुन बस्नेतले बताए । उनले मेलामा अन्तर्राष्ट्रिय जगतमै ख्याति कमाएका इटालियन, इङ्गल्यान्ड, बैंकक, भारतलगायतका देशमा उत्पादित उच्च गुणस्तरको फेब्रिक विकल्प एउटै छानामुनि उपलब्ध हुने जानकारी दिए ।
यो मेलामा सहभागी ग्राहकमध्येबाट गोला प्रथामार्फत चयन भाग्यशाली विजेताले स्वदेश तथा विदेशका विभिन्न गन्तव्यको भ्रमण गर्न पाउने आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया