काठमाडौं । हिमालय एअरलाइन्सले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका लागि विशेष उडान सञ्चालन गर्न पाउनु ठूलो अवसर भएको बताएको छ । सोमबार हिमालय एअरलाइन्सको विशेष उडानबाट नेपालको उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली चीनको राजधानी बेइजिङ प्रस्थान गरेका हुन् ।
भ्रमण दलमा प्रधानमन्त्रीसँगै उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक र विकास सल्लाहकार डा. युवराज खतिवडा, सांसदहरू, मुख्य सचिव एकनारायण अर्याल, वरिष्ठ सरकारी अधिकारीहरू र विभिन्न उद्योगका प्रतिनिधिहरू संलग्न छन् ।
हिमालय एअरलाइन्स्का अध्यक्ष झो एन्योंग, उपाध्यक्ष विजय श्रेष्ठ विमानमा स्वयं उपस्थित भई प्रधानमन्त्रीसहितको प्रतिनिधि मण्डललाई बिदाइ गरेका थिए । सोही अवसरमा उपाध्यक्ष श्रेष्ठले सरकार प्रमुखको आधिकारिक यात्राको लागि विशेष उडान सञ्चालन गर्ने अवसर प्राप्त हुनु एयरलाइन्सको लागि ठूलो सम्मानको कुरा भएको बताए । उनले भने, ‘हामीलाई मुलुकको सरकार प्रमुख र देशका उच्चस्तरीय विशिष्ट पदाधिकारीहरू सम्मिलित विशेष उडान सञ्चालन गर्ने अवसरहरू प्रदान गरिइदिनुभएकोमा नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छौँ। साथै, यस अवसरमा हामी विगतमा नेपाल सरकारको अनुरोधमा सञ्चालन गरेको काबुलको उडान समेत सम्झन चाहन्छौँ।’
उक्त उडानको उडान दलमा वरिष्ठ क्याप्टेन ह्याओ दी (पाइलट इन कमान्ड, उपाध्यक्ष, अपरेशन्स), क्याप्टेन रिवाजप्रसाद प्रधान र फर्स्ट अफिसर सागर श्रेष्ठ रहेका छन्। सरकारको प्रतिनिधिमण्डललाई लिएर हिमालय एयरको एयरबस ३१९ डिसेम्बर ५ मा बेइजिङबाट नेपाल फर्कने कार्य तालिका रहेको छ ।
हिमालय एअरलाइन्स नेपालको पहिलो र एक मात्र आईओएसए प्रमाणित वायुसेवा कम्पनी हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया