रूपन्देही क्रिकेट संघले सात खेलाडीलाई मासिक पाँच हजार सुविधा दिने

लोकपथ
119
Shares

काठमाडौं । रुपन्देही क्रिकेट संघले चालु आर्थिक वर्षमा सात जना खेलाडीलाई मासिक सुविधा दिने निर्णय गरेको छ । खेलाडी कल्याणकारी कोषअन्तर्गत आर्थिक वर्ष २०८१/८२ का लागि मासिक पाँच हजार दिने गरी सात जना खेलाडी छनोट गरिएको संघका अध्यक्ष हरिबहादुर थापाले जानकारी दिए ।

थापाका अनुसार क्रिकेट खेलमा निरन्तर लागेका खेलाडीलाई पलायन हुनबाट रोक्नु कल्याणकारी कोषको मुख्य उद्देश्य हो । मासिक सुविधा पाउने खेलाडीमा सिनियरतर्फ दुई जना, यु–१९ तर्फ दुई र महिला क्रिकेट खेलाडीतर्फ तीन जना छन् ।

‘खेलाडीको संरक्षण गर्ने भनेर कल्याणकारी कोष खडा गरेका थियौँ, ‘अध्यक्ष थापाले भने,‘कोषमा उपलब्ध रकमबाट खेलाडी संरक्षण रकम प्रदान गर्दै आइरहेका छन् ।’ संघका अनुसार चालु आर्थिक वर्षमा सिनियरतर्फ कृष्ण कार्की र अजय चौहानले मासिक रु पाँच  हजार सुविधा पाएका हुन् ।

यस्तै, यु– १९ तर्फ सन्तोष यादव र रमेश कुर्मीले यो सुविधा प्राप्त गर्दा महिलातर्फ कृति अधिकारी, सन्ध्या चापागाईँ र एञ्जिला पाठकले मासिक सुविधा पाएका छन् ।

थापाका अनुसार खेलाडी कल्याणकारी कोषका लागि रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष अरुण शाही र वडा नम्बर २ का वडाध्यक्ष जनार्दन यादवले आफूले पाउने पारिश्रमिक बापत कल्याणकारी कोषमा रकम उपलब्ध गराउँदै  आएका छन् ।

‘हामीले दुईजना वडाध्यक्षले उपलब्ध गराएको रकम र रुपन्देही क्रिकेट एकेडेमीबाट हुने आम्दानीबाट खेलाडीलाई मासिक सुविधा दिइरहेका छौँ’, थापाले भने,‘सहयोगी दाताहरु थपिँदै गएको छ । यसमा थप रकम जुटाउन पनि हामी लागिपरेका छौँ ।’

अध्यक्ष थापाका अनुसार कल्याणकारी कोषको रकम बृद्धि गर्न सकेमा कम्तीमा सिनियर, यु–१९ र महिला टिमका सबै सदस्यलाई मासिक सुविधा दिन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?