आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

लोकपथ
28
Shares

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । सन् १९९२ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो । 

संयुक्त राष्ट्रसंघले यस वर्षको नारा ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार’ भन्ने तय गरेको छ ।

नेपालमा पनि ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रवल नेतृत्व यसको आधार’ भन्ने राष्ट्रिय नारासहित देशभरका विभिन्न सरकारी तथा गैरसरकारी सरोकार भएका निकायले जनचेतनामूलक कार्यक्रम गरी मनाउँदै छन् । दिवसका सन्दर्भमा यसैबमोजिम अन्तर्राष्ट्रिय र राष्ट्रिय नाराको प्रयोग गर्न/गराउन सरकारले आह्वान गरेको छ ।

विश्व स्वास्थ्य संष्ठनका अनुसार विश्वमा कूल  जनसंख्याको १६ प्रतिशत अपाङ्गता भएका व्यक्ति छन् । अपाङ्गता भएका व्यक्तिहरूको तथ्याङ्कीय प्रतिवेदन अनुसार स्वास्थ्य क्षेत्रको नेतृत्वमा नगण्य पहुँच, शिक्षा तथा रोजगारबाट अपाङ्गता भएका व्यक्ति वञ्चित छन् । 

उक्त प्रतिवेदन अनुसार नेपालको कूल जनसंख्याको दुई दशमलव दुई प्रतिशत अर्थात् ४७ हजार सात सय ४४ जना अपाङ्गता भएका व्यक्ति छन् । जनगणनाको प्रतिवदेन अनुसार कूल परिवारमध्ये तीन दशमलव एक प्रतिशत परिवारका मुली अपाङ्गता भएका व्यक्ति छन् । अपाङ्गता भएका व्यक्तिको साक्षरता दर भने ५० दशमलव एक प्रतिशत रहेको राष्ट्रिय जनगणनामा उल्लेख गरिएको छ ।

अपाङ्गता भएका व्यक्तिहरूको समावेशीकरणको मुद्दामा समर्थन जुटाउन, अपाङ्गताका विषयमा जनचेतना अभिवृद्धि गर्न, सबैका लागि समावेशी र पहुँचयोग्य समाज निर्माणमा सरकार तथा सरोकार भएका निकायको ध्यानाकर्षण गराउन यो दिवस मनाइँदै आइएको हो ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले नेपालका विपद्सम्बन्धी कानुन र नीतिमा समावेश ‘अपाङ्गता समावेशी’ व्यवस्थालाई व्यावहारिक रूपमा प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग गर्दै आएको छ ।

महासंघले विपद् व्यवस्थापन र मानवीय संकटको अवस्थामा काम गर्ने अन्तर्राष्ट्रिय निकाय र गैरसरकारी संस्थाका कामहरूलाई अपाङ्गता समावेशी बनाउन पैरवीको आवश्यकता औँल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?