प्रधानसेनापति सिग्देल मंसिर २६ गते भारत भ्रमणमा जाने 

लोकपथ
63
Shares

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल मंसिर २६ गते भारत भ्रमणमा जाने भएका छन् । भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीको निमन्त्रणामा उनी त्यस दिन ५ दिने भ्रमणका लागि भारत जान लागेका हुन् ।

भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्न प्रधानसेनापति सिग्देल भारत जान लागेका हुन् । उनलाई भारतका राष्ट्रपति द्रौपदी मुर्मुले मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

नेपालले भारतको र भारतले नेपालको प्रधान सेनापतिलाई मानार्थ महारथीको दर्ज्यानी दिने परम्परा छ । यही परम्पराअनुरूप केही दिनअघि नेपाल भ्रमणमा आएका भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न राष्ट्रपति रामचन्द्र पौडेलले प्रदान गरेका थिए ।

भारत भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंहलगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?