काठमाडौ । होटेल सब्रिना लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीको सोमबार बसेको छैटौँ साधारण सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो ।
कम्पनीले न्यूनतम १५ लाख कित्ताको १५ करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको संस्थापक तथा अध्यक्ष नीराजन थापाले जानकारी दिए ।
९० करोड अधिकृत पुँजी र ५३ करोड रुपैयाँ जारी पुँजी रहेको यस होटेलको चुक्ता पुँजी ३५ करोड ६५ लाख रुपैयाँ रहेको छ ।
यसका लागि गत असार अन्तिममा कम्पनीले संस्थागत परामर्श सेवा तथा प्राथमिक शेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल नियुक्त गरिसकेको छ ।
अबको केही दिनमै नियामक निकाय धितो पत्र बोर्डमा आईपीओ निष्कासनको प्रक्रियामा जाने तयारी भएको कम्पनीका अध्यक्ष थापाले बताए ।
काठमाडौंको बुढानीलकण्ठ वडा नं. ६ गणेश चौकमा रहेको होटेल सब्रिनाले आफ्नो क्षमता विस्तार गर्दै पाँच तारे स्तरमा स्तरोन्नति गर्नका लागि आईपीओ आवश्यक भएको जनाएको छ ।
साथै कम्पनीमाथि भएको केही कर्जालाई चुक्ता गर्ने लगायतको लक्ष्य राखिएको अध्यक्ष थापा बताउँछन् । अपार्टमेन्ट सहित ६० वटा कोठामा सेवा सञ्चालन गर्दै आइरहेको यस होटेले अब कोठा समेत थप गर्दै छ ।
होटेल सब्रिना सञ्चालनमा आएको तीन वर्षमै होटेल कृटिक एन्ड ब्लगर्स एसोसिएसन तथा होटेल डट कमले २०२१ मा नेपालको सर्वोत्कृष्ट होटेलको उपाधिबाट सम्मानित गरेको थियो । हाल होटेलको व्यवस्थापन रोयल अर्किड होटेलको ‘रिजेन्टा प्लेस’ ब्रान्डले गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया