काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह उपनिर्वाचनको नतिजालाई सकारात्मक रुपमा लिएको बताएका छन् । महामन्त्री शर्माले उपनिर्वाचन परिणामलाई पार्टीले उत्साहका रुपमा लिएको बताएका हुन् ।
उनले लोकतान्त्रिक प्रक्रियामा उपनिर्वाचन हुँदा पनि मतदाताको उत्साहजनक सहभागिता, राजनीतिक दलहरूले पाएको मत, प्रणालीप्रति जनताका विश्वास र यही प्रणालीबाट समुन्नतिको बाटोमा हिँड्नुपर्छ भनेर राजनीतिक दलहरुलाई घच्घच्याएको जनादेशलाई पुनर्ताजगी गरेको रुपमा बुझेको बताए ।
पार्टीले उपनिर्वाचनको प्रारम्भिक समिक्षा सार्वजनिक गरिसकेको उल्लेख गर्दै उनले उपनिर्वाचन भएका प्रत्येक वडा र पालिकामा अगाडिको निर्वाचन र पछिल्लो निर्वाचनको अंकगणित के रह्यो ? भन्ने विषयमा पार्टी सचिवालय गम्भीर समीक्षामा लागेको बताए । उपनिर्वाचन भएका ४४ स्थानमध्ये १९ स्थानको नतिजा आफ्नो पक्षमा आएको उल्लेख गर्दै उनले एक्लै लडेर प्राप्त गरेको गुणात्मक मत अझै महत्त्वपूर्ण भएको बताए ।
महामन्त्री शर्माले पार्टीको महासमिति बैठकबाट एक्लै चुनाव लड्ने प्रस्ताव पारित गरेको भए पनि केही ठाउँहरुमा आत्मियताका आधारमा मिलेर जानु स्वाभाविक भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया