माङसेबुङमा धार्मिक पर्यटकको घुइँचो

लोकपथ
35
Shares

इलाम ।  माङसेबुङमा धार्मिक पर्यटकको घुइँचो लागेको छ । किराँत धर्मावलम्बीहरूको आस्थाको केन्द्रका रूपमा परिचित माङसेबुङ गाउँपालिका–५ स्थित माङसेबुङ (लारुम्बा)मा धार्मिक पर्यटकको घुइँचो लागेको हो ।

किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको ७१औँ जन्मोत्सवका अवसरमा  किराँत धर्मावलम्बी माङसेबुङ उपस्थित भएका छन् । धर्मगुरुको जन्मोत्सवलाई धार्मिक उत्सवका रूपमा मनाउँदै आएका किराँत धर्मावलम्बीहरू हरेक वर्ष मंसिर तेस्रो साता माङसेबुङमा भेला हुने गर्छन् ।

सोमबारदेखि नै देश तथा विदेशबाट आएका धार्मिक पर्यटकले माङसेबुङ यतिबेला भरिभराउ भएको छ । यहाँका सबै होटेल र घरबास (होमस्टे) भरिभराउ छ । होटेल र होमस्टेमा नअटाएका धार्मिक पर्यटकलाई स्थानीयको घरमा बस्ने व्यवस्था गरिएको माङसेबुङ सामुदायिक होमस्टेकी अध्यक्ष कल्पना लिङ्देनले बताइन् । 

‘यहाँ दर्ता भएका करिब एक दर्जन होटेल र १५ वटा होमस्टे तथा दर्ता नभएका समेत गरी दर्जनौँ होटेल र होमस्टे छन् । ती सबै धार्मिक पर्यटकले भरिभराउ छ, ‘उनले भने, ‘यहाँ नअटेका धार्मिक पर्यटकलाई स्थानीयको घरमा बस्ने व्यवस्था मिलाइएको छ ।’ धार्मिक उत्सवका बेला यहाँका सबै घरलाई होमस्टेका रूपमा राख्ने गरिएको उनले बताए ।

अहिले २० हजार बढी धार्मिक पर्यटक माङसेबुङमा भेला भएको होटेल सञ्चालक सुकदल सेलिङले बताए । ‘यहाँ धार्मिक पर्यटक आउने क्रम जारी छ, सबै लजहरू भरिभराउ छ, ’उनले भने, ‘होटेलमा अटाउन नसकेपछि स्थानीयवासीको घरमा राखिएको छ ।’

त्यस क्षेत्रमा करिब सात सय घरधुरी किराँत धर्मावलम्बीको बसोबास छ । हरेक वर्ष मंसिर तेस्रो साता हुने धार्मिक उत्सवले यहाँको व्यापार व्यवसायमा प्रवर्द्धन गर्दै स्थानीय आयआर्जनमा सहयोग पुर्‍याएको वडाध्यक्ष नरेन्द्रकुमार राईले बताए । ‘यहाँ हुने धार्मिक पर्यटकको जमघटले स्थानीयवासीको व्यवसाय प्रवर्द्धनमा सहयोग पुर्‍याएको छ, ‘अध्यक्ष राईले भने ।

जन्मोत्सवमा देश तथा विदेशबाट हजारौँ पर्यटकको भीड लागेको छ । माङसेबुङमा नेपालका विभिन्न क्षेत्रसहित विदेशका भारत, भुटान, बर्मा, बेलायत, अमेरिका, अष्ट्रेलिया, डेनमार्कलगायतबाट हजारौँको सङ्ख्यामा धार्मिक पर्यटक आएका छन् ।

धर्मगुरुको जन्मोत्सव समारोहका अवसरमा विभिन्न धार्मिक कार्यक्रम हुने गर्दछ । मंगलबार रक्षामन्त्री मानवीर राईले उद्घाटन गरेको जन्मोत्सव समारोह बिहीबारसम्म सञ्चालन हुने मुख्य आयोजक किराँत अङ्सी माङ्गेन्नन सेवा समिति अध्यक्ष केहरसिंह योङहाङले बताए ।

बुधबार धर्मगुरु आत्मानन्द लिङ्देनबाट धार्मिक प्रवचनसँगै आर्शीवाचन, उपहार वितरण, धन्यवाद पत्र वितरण, पुस्तकपुस्तिका विमोचनलगायत कार्यक्रम तय गरिएको अध्यक्ष योङहाङले बताए । त्यस्तै बिहीबार माङगेन्ना चामल वितरणसँगै बिदाइ कार्यक्रम रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?