पुल्चोकमा इम्बार्क कलेज सञ्चालनमा, बीएससी र एमबीए पढाई हुने

लोकपथ
0
Shares

काठमाडौं । नेपालको प्रतिष्ठित व्यावसायिक समूह गोल्छा ग्रुप र युवा, सीप तथा शिक्षाको विकासमा एक दशकदेखिको अनुभव रहेको ग्लोकल प्रा.ली.को सहकार्यमा स्थापित इम्बार्क कलेजले औपचारिक रूपमा आफ्नो यात्रा सुरु गरेको छ । 

ललितपुरको केन्द्र पुल्चोकमा अवस्थित यो कलेजले उद्यमशीलता, आधुनिक शिक्षा, र सीपमा आधारित शिक्षामा नयाँ बेन्चमार्क सेट गर्ने लक्ष्य राखेको छ । यस कलेजले शिक्षा मन्त्रालयबाट मंसिर १३ गते स्वीकृति प्राप्त गरेको हो । 

कलेजले विश्व वरीयतामा शीर्ष १५% मा र्याङ्क भएको युनिभर्सिटी अफ रोह्याम्प्टन लन्डन (युके) सँगको शैक्षिक साझेदारीमा बिजनेस म्यानेजमेन्ट (बीएससी) (४ वर्ष) र एमबीए (२ वर्ष) जस्ता विषयहरू सञ्चालन गरेको छ । यी विषयहरूको भर्ना प्रक्रिया भने १४ मंसिरदेखि सुरु भइसकेको छ ।

रोह्याम्पटन विश्वविद्यालयका उपकुलपति जेन नोयल इजिनगर्डले करियर केन्द्रित शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले इम्बार्क कलेजसँग सहकार्य गर्न पाउँदा उत्साहित रहेको बताए । उनले इम्बार्कसँगको साझेदारीले स्थानीय समुदायमा मेल खाने किसिमको उद्योग सुसूचित शिक्षण प्रदान गर्ने र यसले सबै किसिमको पृष्ठभूमि भएका मानिसहरूका लागि नयाँ अवर प्रदान गर्ने बताए ।

कलेजका अध्यक्ष शेखर गोल्छाले कलेज नेपालको वर्तमान अवस्थालाई मध्यनजर गर्दै भविष्यप्रति लक्षित गरिएको लगानी भएको बताए । उनले विकासमा केन्द्रित भएर इम्बार्क कलेजलाई नेपालमा उद्यमशीलताको पावर हाउसको रूपमा स्थापित गर्ने प्रतिबद्धता गरे । 

त्यसै गरी ग्लोकलका अध्यक्ष तथा कलेजका कार्यकारी निर्देशक आशिष ठाकुरले ग्लोकल प्रा.ली. झैँ इम्बार्क कलेजको ध्यान युवाको सीप र शिक्षाको विकासमा केन्द्रित रहेको बताए । यस कलेजको स्थापनाले शिक्षालाई उद्योग, उद्यमशीलता र समग्र समाजसँग जोड्ने विकास गर्नेमा हामी ढुक्क रहेको ठाकुरले बताए ।

इम्बार्कले विशेष गरेर एमबीएमा भर्ना हुने विद्यार्थीलाई इन्डस्ट्री कनेक्ट सहित प्लेसमेन्ट मोडालिटीमा लैजानेबारे विभिन्न इन्डस्ट्रीसँग सहकार्य गर्ने भएको छ । 

प्रविधिमैत्री र विद्यार्थी–केन्द्रित पूर्वाधारका साथ शिक्षाको गुणस्तरलाई प्राथमिकतामा राखेर, शिक्षा मन्त्रालयले तोकेको १०% पूर्ण छात्रवृत्ति पनि प्रदान गर्ने र त्यसमा विश्वविद्यालय शुल्क समेत समावेश हुने उल्लेख गरिएको छ । 

उद्योगको आवश्यकताअनुसार व्यवहारिक र प्राविधिक शिक्षा प्रदान गर्दै विद्यार्थीहरूमा व्यावसायिक सोच र आत्मनिर्भरता विकास गर्ने उद्देश्य कलेजले राखेको छ । व्यवहारिक ज्ञान र सीपलाई प्राथमिकतामा राखेर तयार पारिएको कलेजको पाठ्यक्रमले विद्यार्थीलाई उद्यमशील संस्कारमा परिचित गराउने सञ्चालकहरूको विश्वास छ ।

उक्त पाठ्यक्रमले विद्यार्थीहरूलाई सैद्धान्तिक शिक्षासँगै व्यावहारिक परियोजनामा सहभागी गराउने उद्देश्य राखेको छ । कलेजले सीपमा आधारित शिक्षाका माध्यमबाट विद्यार्थीलाई व्यावसायिक र व्यक्तिगत रूपमा सशक्त बनाउँदै नेपालको शैक्षिक परिदृश्यमा सकारात्मक परिवर्तन ल्याउने विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?