काठमाडौं । जलवायु परिवर्तमा काम गर्दै आएका संघ,संस्थाका प्रतिनिधिहरूले विश्व जलवायु सम्मेलनहरूमा नेपालको तर्फबाट नेगोसिएशन प्रभावकारी बनाउन स्थायी प्रकृतिको संरचना बनाउनुपर्नेमा जोड दिएका छन् ।
अजरबैजानको बाकुमा हालै सम्पन्न विश्व जलवायु सम्मेलन (कोप–२९)मा अपेक्षाकृत नेगोसिएशन बैठकहरू प्रभावकारी बन्न नसकेको बताएका हुन् । राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समिति अन्तर्गतको दिगो विकास उपसमितिको वुधबार सिंहदरबारमा बसेको बैठकमा उनीहरूले कोप–२९ मा नेपालको सहभागिता र उपलब्धि औसत रहेको टिप्पणी गरे ।
बैठकमा जलवायुविज्ञ डा. धर्मराज उप्रेतीले कोप—२९ का सबै नेगोसिएशन बैठकहरुमा नेपालको सहभागिता हुन नसकेको बताए । उनले विषयगत छलफलहरुमा नेगोसिएशनका लागि नेपालले दीर्घकालीन संयन्त्रसहितको दक्ष जनशक्ति निर्माण गर्नुपर्नेमा जोड दिए । उनले अन्तर्राष्ट्रिय सम्मेलनहरूमा अर्थपूर्ण सहभागिताको लागि विषयत क्षेत्रको नेतृत्व सुनिश्चितता गरी नेगोसिएशनलाई प्रभावकारी बनाउनुपर्ने उल्लेख गरे ।
उनले भने, ‘भर्खरै सम्पन्न कोप–२९ बहु आयामिक छ । त्यसमा जलवायु परिवर्तनको असर न्युनिकरण गर्नको लागि भएका राम्रा अभ्यासहरुबारे पनि छलफल भएका हुन्छन् । त्यहाँ सबै क्षेत्रको प्रतिनिधित्व छ । त्यस सम्मेलनमा अर्थपूर्ण सहभागिताको लागि संख्या पुगेको थिएन । प्रत्येक नेगोसिएशन रुममा ३ जनाको उपस्थिति महत्त्वपूर्ण थियो । जस्तो मैले जलवायु वित्तलाई फलो गरिरहेको थिएँ । त्यसको नेतृत्व नेपालको तर्फबाट अर्थ मन्त्रालयले गरिरहेको अवस्था थियो । जलवायु वित्तको नेतृत्व सधैँ अर्थ मन्त्रालको नेतृत्वमै हुनुपर्ने हो । तर त्यस्तो देखिँदैन । कुन नेगोसिएशनमा कसले नेतृत्व गर्ने भनेर त्यो आधारमा अभ्यस्त भएर गएको भए अझै प्रभावकारी सहभागिता हुन्थ्यो । सबैले हाम्रो देशले भोगिरहेका समस्या र समाधानका उपायहरू दिने र कुनकुन पोइन्टमा केके कुरा ल्याउने भन्ने कुरामा अन्य देशको हेर्ने हो भने अर्गनाइज भएको देखिन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया