काठमाडौं । जलवायु परिवर्तनको असरका विषयमा गण्डकी जलाधार क्षेत्रमा गरिएको अनुसन्धानले विगतको तुलनामा ४० प्रतिशत कृषि उत्पादन कमी आएको देखाएको छ । पाँच विश्वविद्यालय मिलेर दक्षिण एसिया क्षेत्रमा जलवायु परिवर्तनले कृषिमा पारेको असरका विषयमा गरिएको अध्ययनपछि यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।
त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभाग,चीनका दुई विश्वविद्यालय, भारतको दिल्ली इकोनोमी अफ भूगोल विभाग र बंगलादेशका अध्ययन केन्द्रहरु रहेका थिए । उक्त अनुसन्धान गण्डकी जलाधार क्षेत्रमा पर्ने बागमती,गण्डकी प्रदेशका पाँच वटा जिल्ला रसुवा,नुवाकोट,चितवन,तनहुँ र कास्कीमा गरिएको थियो ।
गण्डकी जलाधार क्षेत्रमा गरिएको अनुसन्धानले जलवायु परिवर्तनले तापक्रममा परिवर्तन, वर्षाको ढाँचा, खडेरी बाढी तथा पहिरो आउने जस्ता असरले कृषि उत्पादकत्वमा असर गरेको देखाएको छ ।
अनुसन्धानले वर्षामा निर्भर खेती भएकाले कृषि क्षेत्रमा खडेरीबाट अत्यधिक प्रभावित बनाएको देखाएको छ । जलवायु परिवर्तनको कारण गण्डकी जलाधार क्षेत्रमासमेत वर्षासमेत कम भएको अध्ययनले देखाएको त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागका प्राध्यापक डाक्टर प्रेम सागर चापागाईँले बताए ।
उनले वर्षातको समयमा समेत पानी पर्ने समय परिवर्तन हुने, समयमा पानी नपर्ने बढी वा घटी पर्ने जस्ता समस्या समेत देखापरेकाले नेपालको कृषि उत्पादनमा ठूलो असर बनाएको अध्ययनले देखाएको बताए । उनले अध्ययनको निष्कर्षअनुसार नेपाल, भारत, चीन र बंगलादेश सबैतिर कृषि उत्पादनमा कमी देखिए पनि नेपालमा सबैभन्दा धेरै देखिएको बताए ।
उनले विगतको तुलनामा नेपालको हिमाली क्षेत्रमा ४० प्रतिशतसम्म कृषि उत्पादकत्वमा कमी आएको अध्ययनमा देखिएको उल्लेख गरे । उनले समयमा पानी नपर्दा किसानको लागत वृद्धिसमेत भएको बताए । उनले जलवायु परिवर्तनको कारण पानी नपर्दा खडेरीको कारण कृषिबालीहरु सुक्ने समस्याले बाँझो जमिन छोड्ने प्रवृत्ति बढेको उल्लेख गरे । उनले विश्वविद्यालयको अध्ययनले जलवायु परिवर्तनको कारण कृषि क्षेत्रमा परेको असरले धेरै मानिसहरु बसाइँसराइ तथा वैदेशिक रोजगारीमा जाने क्रम बढेको जानकारी दिए ।
उनले नेपालको जलवायु सम्बन्धी नीतिहरू राष्ट्रियस्तरको रहेको तर भौगोलिक अवस्था फरक रहेको भन्दै जलवायु परिवर्तन सम्बन्धी नीतिहरू भौगोकि बनावटअनुसार बनाउनुपर्ने बताए ।
उनले हिमाल, पहाड र तराई क्षेत्रको बनावटअनुसार स्थानीय स्तरसम्मका लागि नीतिहरू बनाउनुपर्ने अवस्था देखिएको बताए ।अनुसन्धानले नेपालमा जलवायु परिवर्तनको प्रभावका कारण किसानहरु कृषि कर्म छोड्दै वैदेशिक रोजगारीमा गइरहेको देखाएको छ । जलवायु परिवर्तनले कृषि उत्पादन घट्ने, लागत मूल्य बढ्ने, बालीनालीमा रोग तथा किराहरुको संक्रमण बढ्ने, बेमौसमी अधिक वर्षा, हावाहुरी र असिनाले बालीनालीमा ठूलो क्षति पुर्याउँदा किसानहरु जलवायु परिवर्तनको मारमा परेका छन् ।
अध्ययनले जलवायु परिवर्तनको असर सकारात्मक रहेको पनि देखिएको छ । नेपालका हिमाली र पहाडी क्षेत्रका उच्च भू-भागमा स्याउ र अन्न उत्पादनमा वृद्धि भएको छ । अनुसन्धानमा समेटिएका क्षेत्रका किसानले मौसम, कृषि सम्बन्धी सूचनामाथि विश्वास नगरेको देखिएको छ । तराईमा ३४ प्रतिशत,पहाडमा २२ प्रतिशत र हिमालमा ८.५ प्रतिशत घरपरिवारले मात्रै मौसम सम्बन्धी प्राप्त सूचनामा विश्वास गरेको पाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया