गाउँको स्वाद लिन चाहनेका लागि ठमेलमा खुल्यो ‘द गोल्डेन थाली’

लोकपथ
63
Shares

काठमाडौँ । पर्यटकीय क्षेत्र ठमेलस्थित ठमेल इको रिसोर्ट परिसरमा ‘द गोल्डेन थाली’ सुरु भएको छ । लामो समय पर्यटन र सेवा उद्योगमा क्रियाशील अर्थ बाउण्ड एक्सपेडिसनका राजन सिम्खडा र मकालु एड्भेञ्चरका मोहन लम्सालको अग्रसरता र सेफ नेपाल टिमको परिकल्पनामा ठेट नेपाली स्वाद पस्कने उद्देश्यका साथ ‘द गोल्डेन थाली’ सुरु गरिएको हो ।

नेपालको मध्य पहाडी क्षेत्रको खानालाई प्रवर्द्धन तथा प्रचारप्रसार गर्ने तथा सम्पूर्ण नेपाललाई प्रतिनिधित्व गर्ने गरी थाली तयार गरिएको ठमेल इको रिसोर्टका सञ्चालक द्वय राजन सिम्खडा तथा मोहन लम्सालले बताए ।

सिम्खडा नेपाली खानाको आधार नै अचार भएको बताउँछन् । सिलौटोमा पिनेको चटनी, गालेको अचार, पकाएको ताजा अचारलगायत स्वाद गोल्डेन थालीमा पाइने उनले बताए ।

थालीका लागि आवश्यक मसला सिलौटोमै पिनेर ठेट नेपाली स्वाद दिने कोसिस गरिएको छ । गोल्डेन थालीमा मासुका परिकारसहित विभिन्न १५ परिकार समावेश गरिएको छ ।

नेपालमा चल्तीका रेस्टुरेन्टमा समेत थाली सेटमा विकल्प खासै छैनन् । अर्थात् थाली अर्डर गरेपछि जे आउँछ त्यही खानुपर्छ । तर, गोल्डेन थालीमा कतिपय परिकारमा विकल्प छन् ।

मास, मुसुरो, बोडी, सिमी र मिक्स दाल कुन खाने हो छनोट गर्न पाइन्छ । ढिँडोमा पनि मकै, गहुँ, कोदो र फापरको विकल्प छ । ग्राहकले भातमा मार्सी, ताइचिन, बासमती र जिरा मसिनोमध्ये रोज्न पाउने गरी मेनु तयार पारिएको छ ।

यस्तै गोल्डन थालीमा तरकारीका परिकारमा तिहुन अर्थात् झोल तरकारी, मौसमअनुसार तरकारीको लेदो (ग्रेभी तरकारी), सुक्खा तरकारी, मौसमअनुसारका साग उपलब्ध गराइन्छ ।

यहाँ एकै पटकमा एक सयभन्दा बढीलाई सेवा दिन सक्ने क्षमता छ । हाल बिहान ११ बजेदेखि राति १० बजेसम्म शान्त वातावरणमा गाउँले परिकारको स्वाद लिन सकिने सिम्खडा बताउँछन् । ‘द गोल्डेन थाली’को शाकाहारी भोजनका लागि पाँच सय ५० रुपैयाँ छ भने मासुसहितको थालीका लागि अतिरिक्त शुल्क लाग्नेछ ।

यहाँ ‘द गोल्डेन थाली’का साथै ‘ठमेल इको रिसोर्ट’ परिसरमा २० रुपैयाँको चियादेखि महँगा मानिने अर्थोडक्स चिया समेत पाइने टिफ्रेशोको आउटलेट, नेपाली कफीका उत्पादन, विभिन्न पेय पदार्थ बिक्री हुने ‘नेपाली तपास बार’लगायत खानपिनका सेवा उपलब्ध छन् ।

यस क्षेत्रलाई नेपाली पाक–अनुभव बटुल्न सकिने स्थानका रूपमा विकास गर्दै जाने द गोल्डेन थालीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनु ढकालले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?