नेपालमा विदेशी लगानी बढाउन सरकार र निजी क्षेत्रले चीन पुगेर गरे सुधारको प्रतिबद्धता

लोकपथ
56
Shares

काठमाडौं । नेपालमा चिनियाँलगायत विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधार गरिने सरकार र निजी क्षेत्रले प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ, चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल टेड (सीसीपीआईटी) र चीनस्थित नेपाली दुतावासले संयुक्त रुपमा आयोजना गरेको नेपाल चीन बिजनेस समिटमा नीतिगत र व्यवहारगत सुधार गर्ने प्रतिबद्धता जनाउँदै लगानी विस्तार र व्यापार सहजीकरणका लागि आग्रह गरिएको हो ।

द्धिपक्षीय व्यापार प्रवद्र्धन, पर्यटन क्षेत्रको विकास र नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीको वातावरण सुधार हुँदै गइरहेको बताए । उनले नेपालमा धेरै क्षेत्र अभैm पनि लगानीका लागि आकर्षक रहेकोले लगानीका लागि आग्रह गरे । नेपाल र चीनको परम्परागत सम्बन्ध रहेको बताउँदै उनले दुई देशको आपसी सम्बन्धले आर्थिक विकास सम्भव भएको बताए ।

प्रधानमन्त्री ओलीले कुनै पनि मुलुकको सरकार र निजी क्षेत्रको सहकार्यलाई प्राथमिकता दिइएको र सोहीअनुसार व्यवसायिक वातावरण बनाउँदै लगिएको बताए । उहाँले निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको र स्वदेशी एवं विदेशी लगानीको संरक्षणमा सरकार सँधै तत्पर रहेको बताए ।

सीसीपीआईटीको मुख्यालय बेइजिङमा बुधबार आयोजित समिटलाई सम्बोधन गर्दै चिनियाँ वाणिज्य उपमन्त्री लिंग जीले चीन र नेपालबीचको सम्बन्ध निकै पुरानो रहेको एवं आर्थिक गतिविधि पनि बढिरहेको बताए । साथै उनले नेपालमा चिनियाँले लगानी बढाइरहेको र आगामी दिनमा पनि लगानी बिस्तार हुने बताए ।

चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार रहेको बताउँदै उपमन्त्री जीले चीनको बाटो भएर अन्य मुलुकमा पनि व्यापार बढाउन पारबहन सहजीकरण गरिने बताए । चीनले यही डिसेम्बरबाट अतिकम विकसित मुलुकका उत्पादनलाई दिएको भन्साररहित सुविधाले नेपाल लाभान्वित हुने बताए ।

चीन नेपालमा सबैभन्दा बढि लगानीको प्रतिबद्धता जनाउने मुलुक हो भने वास्तविक लगानीमा दोस्रो ठूलो मुलुक हो । यो समिटको दोस्रो संस्करण हो । महासंघ र सीसीपीआईटीले २०२३ सेप्टेम्बरमा पनि यस्तै सम्मेलन आयोजना गरेको थियो ।

समिटमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले यो एक वर्षको अवधिमा व्यवसायिक वातावरण बनाउन भएको पहलबारे जानकारी गराए । महासंघको आग्रहमा सरकारले लगानी सम्बन्धी आठवटा कानुन संशोधन गरेको छ । सम्मेलनमा अध्यक्ष ढकालले द्धिपक्षीय लगानी सम्झौताको खाका पनि तयार भएको बताए । यसैगरी, पहिलोपटक नेपालको क्रेडिट रेटिङ भएको र उक्त रेटिङ दक्षिण एसियामा भारत पछि सबैभन्दा राम्रो आएको जानकारी पनि ढकालले गराए । साथै अध्यक्ष ढकालले सीमा क्षेत्रको पुर्वाधार लगायतको स्तरोन्नति एवं भैरहवा र पोखरा विमानस्थलमा चीनबाट सिधा उडानका लागि दुवै देशका सरकार र निजी क्षेत्रले सक्रियतापूर्वक पहल गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा महासंघ अध्यक्ष ढकालले जलविद्युत, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधि लगायतका सेवा क्षेत्रमा प्रसस्त सम्भावना रहेको बताए

लगानीको वातावरण थप सुधार गर्न महासंघको आग्रहमा सरकारले उच्चस्तरिय आर्थिक क्षेत्र सुधार आयोग गठन गरेको र त्यसको एक जना सदस्यका नाताले मुलकभित्र व्यवसायिक वातावरण बनाउन पहल गर्ने प्रतिबद्धता पनि अध्यक्ष ढकालले जनाए ।

चीनले यही डिसेम्बर एकदेखि आफ्नो कुटनीतिक सम्बन्ध भएका अतिकम विकसित देशहरुलाई दिने घोषणा गरेको भन्साररहित सुविधाको अध्यक्ष ढकालले स्वागत गरे ।

सीसीपीआईटीका उपाध्यक्ष झाङ साओगाङले महासंघ पुरानो साझेदार संस्था रहेको बताउँदै समिट द्धिपक्षीय व्यापार अभिवृद्धिमा महत्वपूर्ण हुने बताए । उनले सीसीपीआईटीले नेपालमा लगानी बढाउन र नेपालका उत्पादन आयात गर्न सहयोग गर्ने बताए । उनले महासंघ र सीसीपीआईटीको सहकार्यमा आगामी दिनमा आर्थिक साझेदारीका विविध कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता जनाए ।

यसैगरी सम्मेलनमा लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत शुशिल ज्ञवालीले नेपालमा चिनियाँ लगानी भित्र्याउन बोर्डले सहजीकरण गर्ने बताए ।

महासंघको वैदेशिक लगानी एवं अन्तराष्ट्रिय सम्बन्ध फोरमका सभापति मनोज पौडेलले नेपालमा जलविद्युत, पर्यटन पूर्वाधार, उत्पादनमूलक क्षेत्र तथा सेवा क्षेत्रमा रहेका सम्भावनाबारे उल्लेख गरे ।

समिटमा १२० जना चिनियाँ व्यवसायीहरुको सहभागिता रहेको थियो । नेपालका तर्पmबाट महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शसहित करिब ५० जना उद्यमी व्यवसायीले समिटमा सहभागिता रह्यो । समिटमा चीन सरकारका उच्च पदस्थ अधिकारी र प्रधानमन्त्रीको भ्रमण दलमा सहभागी नेपाली उच्च अधिकारीहरुको समेत सहभागिता थियो । उक्त समिटभन्दा पहिले बिजनेस टु बिजनेस वैठक पनि राखिएको थियो ।

महासंघले पछिल्लो डेढ वर्षमा देशबाहिर आयोजना गरेको यो चौथो समिट हो । यस अघि बेइजिङ, नयाँ दिल्ली र दुवईमा महासंघका साझेदार संस्था सीसीपीआईटी, कन्फिडरेसन अफ इन्डियन इण्डष्ट्रि र दुवई चेम्बर्ससँगको सहकार्यमा सम्मेलन आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?