काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई रातारात पोखरा पुर्याइएको छ । सहारा सहकारीको रकम हिनामिना अभियोगमा चितवनमा हिजो अबेर बयान सकिएपछि राति नै उनलाई स्थलमार्ग हुँदै पोखरा हिँडाइएको थियो ।
आज बिहान साढे ३ बजे उनलाई पोखरा पुर्याइएको थियो । हिजो दिउँसो लामिछानेको बयान चलिरहँदा चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरूले प्रदर्शन गर्दा प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि सम्भावित सुरक्षा खतरालाई ध्यानमा राख्दै उनलाई रातारात पोखरा लगिएको हो ।
लामिछानेलाई हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले पछिल्लो पटक थपेको १५ दिनको म्याद पनि सकिन लागेको छ । लामिछानेलाई छैठौं पटक म्याद थप गरेपछि पर्सा लैजाने प्रहरीको तयारी छ । लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनाविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी भइसकेको छ । सानो पाइला सहकारीको रकम अपचलन गरेको कसुरमा उनीहरुविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ । जीबी राई समूहले सञ्चालन गरेका पाँच सहकारीबाट करोडौँ रकम गोर्खा मिडियामा गएको थियो । लामिछाने गोर्खा मिडियाको सञ्चालक तथा प्रबन्ध–निर्देशक हुँदा उनले खर्च गरेका थिए । सोही आधारमा उनी अनुसन्धानको दायरामा तानिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया