विद्युत प्राधिकरणको कार्यालयमा मन्त्रीको कार्यकक्ष बनाइएको भन्दै माओवादीको विरोध

लोकपथ
168
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले विद्युत प्राधिकरणको कार्यालयमा मन्त्रीले कार्यकक्ष बनाएर बसेको भन्दै विरोध जनाएको छ । बिहीबार पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीको तर्फबाट विरोध जनाएका हुन् ।

उनले विद्युत प्राधिकरणले लाइन काट्ने कुरा गर्दा मन्त्रीले कार्यकक्ष नै बनाएर बस्न उचित नरहेको बताए । ऊर्जा, जलश्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले बुधबार प्राधिकरणको कार्यालयमा कार्यकक्ष बनाइ बसेका थिए । सोही विषयलाई लिएर माओवादी केन्द्रले विरोध जनाएको हो । 

माओवादी केन्द्रले सरकारले विद्युत प्राधिकरणले गरेको काममा अवरोध सिर्जना गरेको आरोपसमेत लगाएको छ । यद्यपि विद्युत प्राधिकरणको अध्यक्षमा भने उर्जामन्त्री रहने व्यवस्था छ । उनले सरकार विचौलियालाई जोगाउने, भ्रष्टाचारीलाई जोगाउने काममा लागेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?