काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले कसैसँग गठबन्धन नगरी एक्लै निर्वाचन लड्ने पार्टी निर्णयलाई जनताले अनुमोदन गरेको निष्कर्ष निकालेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को खुमलटारस्थित निवासमा बसेको पदाधिकारी बैठकले उपनिर्वाचनको समीक्षा गर्दै सबैतिर माओवादीको राम्रो जनमत आएको निष्कर्ष निकालेको हो ।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले उपनिर्वाचनबाट माओवादी पार्टी दोस्रो स्थानमा आएकोसमेत बताए । सापकोटाले आगामी जितका लागि उपनिर्वाचनले थप आधार दिएको बताए । उपनिर्वाचनको समीक्षा गर्दै अब २०८४ को निर्वाचनको लागि माओवादीले सबै तयारी थाल्ने बताए । ‘अबको सबै तयारी भनेको २०८४ को निर्वाचन जित्नका लागि हो ।
अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले थालेको सुशासनको अभियानलाई जनतासम्म लैजान्छौं । हामी बीचमा केही समय अलमलिए पनि अब जनता र हाम्रो मन एकै ठाउँमा भएको जस्तो लागेको छ,’ उनले भने । कांग्रेस–एमालेको सत्ता सहकार्यसँगै संसदको प्रतिपक्षी बेञ्चमा पुगेको माओवादी केन्द्रले उपनिर्वाचनमा उत्साहजनक परिणाम ल्याएको थियो । माओवादीले २०७९ को निर्वाचनमा दुई उपाध्यक्ष र ६ वडाध्यक्ष गरी ८ स्थान जितेको ठाउँसहित ४४ पदका लागि उपनिर्वाचन भएको थियो । तर माओवादीले उपनिर्वाचनमा १२ स्थानमा जित्दै आफूलाई अब्बल प्रमाणित गरेको थियो । उपनिर्वाचनमा माओवादीले कुल ३५ हजार ६९९ मत ल्याएको थियो ।
यो २०७९ सालको निर्वाचनमा सो पार्टीले प्राप्त गरेको मतको तुलनामा १० हजार २५४ मत बढी हो । माओवादीले उम्मेदवारी दिएकामध्ये २२ स्थानमा मत बढाएको र १९ स्थानमा गुमाएको देखिन्छ । माओवादीले जितेका स्थानहरूमा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिका १२, महोत्तरीको रामगोपालपुर नगरपालिका–२, जाजरकोटको कुशे गाउँपालिका–७, रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२, कालीकोटको तिलागुफा नगरपालिका–४ र दार्चुलाको दुहुँ गाउँपालिका–५ थिए । यसपटक पहिले जितेकोमध्ये पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष, सर्केगाड गाउँपालिका उपाध्यक्ष तथा पुथाउत्तरगंगा–२ को वडाध्यक्ष समेत गरी तीन पद माओवादीले जोगाएको छ ।
कालिकोटको तिलागुफा नगरपालिका–४, हेटौंडा उपमहानगरपालिका–१२, दार्चुलाको दुहुँ गाउँपालिका–५, महोत्तरीको रामगोपालपुर नगरपालिका–२ र जाजरकोटको कुशे गाउँपालिका–७ समेत गरी पाँच वटा वडाध्यक्ष पद भने माओवादी केन्द्रले गुमाएको छ । यसको सट्टामा माओवादीले एक पालिका प्रमुख एक, एक उपप्रमुख तथा ६ वटा वडाध्यक्ष अरुबाट खोसेको छ । यसमध्ये मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष, जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख, उदयपुरको त्रियुगा नगरपालिका–१२, उदयपुरकै बेलका नगरपालिका–९, धनुषाको धनुषाधाम–१, नुवाकोटको ककनी गाउँपालिका–२, गोरखाको गोरखा नगरपालिका–५ र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्ष पद माओवादी केन्द्रले उपनिर्वाचनमार्फत अरुबाट खोस्न सफल भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया