काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बिहीबार भएको खेलमा पोखरा एभेन्जर्सलाई जनकपुर बोल्ट्सले सात विकेटले पराजित गरेको छ । पोखरा एभेन्जर्सको यो लगातार दोस्रो हार हो ।
जनकपुर बोल्ट्सको भने यो लगातार तेस्रो जित हो । लाहिरु मिलान्थाको ४५ रन तथा नीशमको अविजित ४० रन मद्दतमा १३८ रनको लक्ष्य जनकपुरले १७.१ ओभर खेल्दै १४३ रन बनाएर पूरा गरेको हो ।
यस्तै, आसिफ शेखले ३३ र हर्स ठाकेरले १३ रन बनाए । बलिङतर्फ पोखराका विपिन खत्री, माइकल लिस्क र कुशल भुर्तेलले १–१ विकेट लिए । यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३८ रन बनाएको थियो ।
पोखराका लागि मार्कस क्रिच्लेले सर्वाधिक ३५ रन बनाउँदा माइकल लिस्कले २५, एण्ड्रियस घोसले २०, रेमोनले १७ रन बनाएका थिए । यस्तै, कुशल भुर्तेल ६ रनमा आउट हुँदा दिलीप नाथ ११ र दिनेश खरेल १० रनमा समेटिएका थिए । बलिङतर्फ ललित राजबंशीले ३ विकेट, जेम्स नीशमले २ विकेट र किशोर महतो र मोहम्मद मोसिनले १–१ विकेट लिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया