संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघको बालबालिकासम्बन्धी निकाय (युनिसेफ)ले विश्वका युद्ध तथा अन्य संकटबाट प्रभावित लाखौं युवाका लागि अर्को वर्ष सहयोग उपलब्ध गराउन नौ अर्ब ९० करोड अमेरिकी डलरको आर्थिक सहायता आह्वान गरेको छ ।
बालबालिकाको मानवीय आवश्यकताको मात्रा बढिरहेको र यसका लागि सहयोग रकममा पनि वृद्धि हुनु जरूरी रहेको युनिसेफकी कार्यकारी निर्देशक क्याथरिन रसेल बताएकी छन् । उनले भनिन्, ‘हरेक दिन धेरै बालबालिका प्रभावित भएका छन् । यसका कारण बालबालिकाको मानवीय आवश्यकताको मात्रा ऐतिहासिक उच्च स्तरमा छ र यसका लागि सहयोगका लागि थप रकम जुटाउने लक्ष्य हाम्रो संस्थाले लिनु जरूरी छ ।’ उक्त रकमले १० करोड ९० लाख बालबालिकालाई लक्षित गरी प्राथमिक स्वास्थ्य संस्था, मानसिक स्वास्थ्य सेवा, खानेपानी तथा शिक्षा, कुपोषण जाँच र लैंगिक हिंसा न्यूनीकरणमा पहुँचका लागि सहयोग गर्नेछ । ‘हामीले सन् २०२५ मा १४६ देश र क्षेत्रका २१ करोड ३० लाख बालबालिकालाई मानवीय सहायताको आवश्यकता पर्नेछ । सहयोगका लागियो निकै ठूलो संख्या हो,’ रसेलले भनिन् ।
सहयोगका लागि युनिसेफको यो अपिल विश्वले मानवीय गतिविधिका कारण दीर्घकालीन आर्थिक संकटको सामना गरिरहेको समय आएको छ । गत वर्ष युनिसेफले ९.३ अर्ब अमेरिकी डलरका लागि अपिल गरेको थियो । यो वर्ष सबैभन्दा बढी एक अर्ब अमेरिकी डलर बराबरको रकम अफगानिस्तानका लागि, त्यसपछि सुडान, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, प्यालेस्टिनी क्षेत्र र लेबनानका लागि गरिएको छ । यसैबीच, संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) ले ५७ देशका चार करोड ५० लाख महिला तथा बालिकालाई सहयोग गर्न एक अर्ब ४० करोड अमेरिकी डलरको आह्वान गरेको छ ।
राष्ट्रसंघको यौन तथा प्रजनन स्वास्थ्य निकायले आफ्नो गतिविधिको एक हिस्साको रूपमा अनुमानित ११ मिलियन गर्भवती महिलाहरूलाई सहयोगका लागि ‘मिडवाइफ’हरू तैनाथ गर्दछ । यसका लागि सन् २०२५ मा ‘तत्काल’ सहयोगको आवश्यकता पर्ने बताएको छ । युएनएफपीएकी कार्यकारी निर्देशक डा. नतालिया कनेमले भने, ‘हरेक द्वन्द्वग्रस्त क्षेत्र र विपतमा महिला तथा बालिकाले गम्भीर जोखिमको सामना गर्छन् । द्वन्द्वले उनीहरूको जीवन र कल्याणका लागि अत्यावश्यक सेवाहरूमा पहुँचलाई खतरामा पार्छ । कुनै पनि महिला बच्चा जन्माउने क्रममा ज्यान गुमाउन नपरोस् भनी हामी सबै मिलेर यो सहयोग रकमको जोहो गर्नु आवश्यक छ किनकि हरेक महिला, किशोरी वा बालबालिका सबैभन्दा विकट परिस्थितिमा पनि हानिबाट सुरक्षित रहन सकून् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया