काठमाडौं । अमेरिका निवासी नरेश भट्टमाथि अन्ततः पत्नी ममता काफ्लेको हत्या गरेको अभियोगमा मुद्दा दायर भएको छ । मनासस प्रिन्स विलियम्स काउन्टी अदालतमा त्यहाँको प्रहरीले सरकारी वकिलमार्फत मुद्दा चलाएको हो ।
ममता बेपत्ता भएको १२५औँ दिनपछि उनका पति नरेशमाथि हत्या अभियोग लगाइएको हो । प्रिन्स विलियम काउन्टीको निर्णायक मण्डलले भट्टमाथि हत्या र शवलाई शारीरिक रूपमा अपवित्र गरेको दुई वटा आरोपमा अभियोग लगाएको हो । यी आरोप पुष्टि भएको खण्डमा उनलाई आजीवन कारावासको सजाय हुनसक्ने जानकारहरूको भनाइ छ । अमेरिकाका कतिपय राज्यहरूमा यस्तो केसमा मृत्युदण्डको समेत प्रावधान छ । तर, भर्जिनियाको कानुनमा मृत्युदण्ड भने छैन । त्यसैले उनीमाथि आजीवन कारावासको अधिकतम सजाय हुन सक्छ ।
हत्याको मुद्दा लागेसँगै अर्को वर्ष यसको अन्तिम सुनवाइ हुने छ । २०२५ को सेप्टेम्बर ८ देखि अक्टोबर ३ तारिखभित्र प्रत्येक दिन सुनवाइ हुने र फैसला सुनाइने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । मुद्दा दायर भएपछि पहिलो पेशी हिजो बुधबार राखिएको थियो । हिजाको पेशीमा महिला न्यायाधीशले नरेशमाथि होमिसाइड चार्ज (कर्तव्य ज्यान सम्बन्धी मुद्दा) दायर भएको जानकारी गराउँदै अपराध कबुल गर्न भनेपछि नरेश निकै हताश बनेको सञ्चारमाध्यमहरूले जनाएका छन् । त्यस बेला उनी दुवै हात पुर्पुरोमा राखेर बसेका थिए ।
नरेशमाथि पत्नी ममताको हत्या गरेर शव लुकाएको आरोप लाग्दै आएको थियो । तर प्रहरीले ठोस प्रमाणको अभावमा कर्तव्य ज्यान सम्बन्धी मुद्दा हाल्न सकेको थिएन । तर, उनीहरूको घरभित्र भेटिएको रगतको टाटोको डीएनए परीक्षण गर्दा ममतासँग मेल खाएपछि प्रहरीलाई नरेश भट्टमाथि मुद्दा हाल्न आधार बनेको हो । घटनास्थलबाट यसअघि सङ्कलन गरिएको रगतको नमुनाको डीएनए नतिजा आउन ढिलाइ हुँदा अनुसन्धान नै गिजोलिन पुगेको थियो ।
पत्नी ममता हत्यापछि उनको शव लुकाएको आरोपमा गत २२ अगस्टमा पक्राउ परेका नरेशमाथि यसअघि हत्या अभियोग लाग्ने–नलाग्ने अन्योल थियो । प्रहरीसँगको बयानमा नरेशले पत्नी ममताको हत्या तथा उनको शव लुकाएको कुरा अस्वीकार गर्दै आएका थिए । निरन्तरको इन्कारी बयानका कारण उनी चाँडै प्रहरी हिरासतबाट मुक्त हुने अनुमान गरिएको थियो ।
गत १६ साउन (२९ जुलाई)मा अमेरिकाको भर्जिनियाको मनाससस्थित घरबाट ममता बेपत्ता भएकी थिइन् । प्रहरीसँगको बयानका क्रममा उनले पत्नी ममता जीवितै रहेको दाबीसमेत गरेका थिए । उनको यस दाबीले ममता जीवितै रहेको झिनो आशा त्यस बेला पलाएको पनि थियो ।
तर, ममताको हत्या भएको पुष्टि गर्दै उनका पति नरेशलाई ग्रान्ड जुरीले हत्याको अभियोग लगाएको हो । मनासस पार्कका प्रहरी प्रमुख मारियो लुगोले पत्रकार सम्मेलन गर्दै उनी सुत्ने कोठा र स्नान गृहमा भेटिएको रगत ममताको डीएनएसँग मेल खाएको जानकारी दिएका थिए ।
ममताको शव भने अझै पनि फेला नपरेको र खोजी जारी राख्ने उनको भनाइ छ । पत्रकार सम्मेलनमा ममताका आमा र भाइ पनि उपस्थित भएका थिए । लुगोले प्रहरीसँग हत्या अभियोग प्रमाणित हुने पर्याप्त प्रमाणहरू रहेको र नरेश उम्किन नसक्ने बताए ।
ममताको हत्या २९ जुलाई रातिदेखि ३० जुलाई बिहानको बीचमा भएको प्रहरीको अनुमान छ । शयन कक्षमा हत्या गरेपछि ममताको शवलाई बाथरुममा तानेको प्रहरीको आशङ्का छ । यति मात्रै नभई हत्यापछि ममताको शव टुक्रा टुक्रा पारिएको पनि प्रहरीको आशङ्का छ ।
प्रहरी अनुसन्धानका क्रममा नरेशले ३० जुलाईमा स्यानटिलीको वाल मार्टबाट तीन वटा चक्कु खरिद गरेको र तीमध्ये दुई वटा फेला नपरेको खुलेको थियो । चक्कु खरिद गरेको भोलिपल्ट उनले अर्को वाल मार्टबाट सफाई सामग्री खरिद गरेको पनि भेटिएको थियो । अभियोजनकर्ताले त्यही आधारमा नरेशले ममताको हत्या गरी उनको शरीर टुक्रा टुक्रा बनाएर फालेको आशङ्का गरेका थिए ।
त्यस्तै, उनले आफ्नो ल्यापटपमा श्रीमती मरेपछि विवाह गर्न लाग्ने समय र श्रीमतीको ऋणबारे गुगलमा खोजी गरेको भेटिएको थियो । नरेशले थुप्रै प्रमाण नष्ट गर्ने प्रयास गरेको पनि बताइएको छ । उनले मनासस पार्कमा रहेको आफ्नो घर बिक्री गर्ने तयारी पनि गरेका थिए । उनले आफ्नो टेस्ला गाडी पनि बिक्री गरिसकेका थिए । उनले छोरीलाई नेपाल फर्काउनका लागि कागजात पनि तयार पारिसकेका थिए ।
ममता आफू काम गर्ने भर्जिनिया युनिभर्सिटीको प्रिन्स विलियम मेडिकल सेन्टरमा अन्तिम पटक २७ जुलाईमा देखिएकी थिइन् । उनी २८ जुलाईसम्म साथीहरूसँग सम्पर्कमै रहेको भनिएको थियो । त्यसपछि सम्पर्कमा नआएपछि उनका साथीहरूले प्रहरीलाई खबर गरेका थिए । २ अगस्टमा प्रहरी नरेश र ममता बस्ने मनासस पार्कस्थित घरमा पुगेको थियो । त्यति बेला घरमा नरेश र उनकी डेढ वर्षीया छोरी मात्रै थिए ।
नरेशले ममता बेपत्ता भएको निवेदन प्रहरीलाई दिन त्यति बेला अस्वीकार गरेका थिए । ममता त्यसअघि पनि पटक पटक घरबाट बेपत्ता हुने गरेको बताउँदै नरेशले प्रहरीलाई फर्काइदिएका थिए । ममताका साथीहरूको मौखिक उजुरीका आधारमा प्रहरीले अन्यत्र खोजी सुरु गरिसकेको थियो ।
५ अगस्टमा मात्रै उनले आफ्नी पत्नी बेपत्ता भएको निवेदन प्रहरीमा दिएका थिए । त्यसपछि प्रहरीले तीन दिनसम्म ममताको व्यापक खोजी गरेको थियो । प्रहरीले उनका साथीहरूसँग सोधपुछदेखि स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका भिडियोहरूलाई पनि मिहिन रूपमा अध्ययन गरेको र सय जनाभन्दा बढीसँग सोधपुछ गरेको थियो । तर, अनुसन्धानको सुई भने नरेशपट्टि नै सोझिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ घर भएका नरेश भट्ट अमेरिका जानुअघि धनगढीमा चिकित्सा प्रतिनिधि (एमआर)को काम गर्दै आएका थिए । धनगढीकै सेती प्रादेशिक अस्पताल लाइनमा रहेका दुई मेडिकलमा उनको लगानी पनि थियो । उनी डीभी परेपछि १४ साउन २०७३ मा अमेरिकाका लागि उडेका थिए ।
अमेरिका पुगेपछि केही समय उनले एउटा कम्पनीमा काम गरे । उनी यूएस आर्मीमा भर्ती हुने उद्देश्यसहित अमेरिका गएका थिए । आफ्नो उद्देश्यमा उनी सफल पनि भए । अमेरिका पुगेको एक वर्षपछि २०७४ साल असारमा उनी यूएस आर्मीमा भर्ती भए । यूएस आर्मीमा भर्ती भएपछि नरेश बेलाबेला नेपाल पनि आउँथे । उनी यूएस आर्मीको आईटी विभागमा कार्यरत थिए ।
५ वर्षअघि अमेरिका बसाइकै क्रममा काभ्रेको पनौती घर भएकी ममतासँग उनको सामाजिक सञ्जालमार्फत चिनजान भयो । सामाजिक सञ्जालबाटै दुईबीच प्रेम सम्बन्ध बढेपछि २५ मंसिर २०७७ मा उनीहरूको विवाह भएको थियो । विवाहको आठ महिनापछि १० साउन २०७८ मा ममता पनि अमेरिकाका लागि उडेकी थिइन् । झन्डै डेढ वर्षअघि उनले छोरीलाई जन्म दिएकी थिइन् । नरेश जेल परेपछि नेपालबाट अमेरिका गएका ममताका आमा र भाइले छोरीको हेरविचार गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया