कास्की । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उच्च मनोबलसहित प्रहरी सेवालाई थप प्रभावकारी बनाउँदै लैजाने बताएका छन् । कास्कीको पोखरा महानगरपालिका–६ स्थित वडा प्रहरी कार्यालय बैदामको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले प्रहरी सेवालाई थप प्रभावकारी बनाउँदै जनताको सेवामा समर्पित हुने बताएका हुन् ।
अपराध नियन्त्रण प्रति शून्य सहनशीलता अपनाउँदै प्रहरी संगठनले काम गर्दै आएको बताउँदै समाजमा हुने सबै प्रकारका विकृतिको विरुद्ध प्रहरी सक्रिय भएर आफ्नो सेवामा जुट्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।
पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेसँगै कास्की प्रहरीमा थप जिम्मेवारी थपिएको बताउँदै उनले पर्यटकीय राजधानी कास्कीमा स्वदेशी तथा विदेशी नागरिकको सुरक्षा थप जिम्मेवारपूर्ण बनेको उल्लेख गरे । उनले पर्यटकको सुरक्षामा पनि त्यतिकै ध्यान दिन कास्की प्रहरीलाई आग्रह गरे ।
रात्रिकालीन व्यवसायको सुरक्षाका साथै पर्यटकमैत्री वातावरण बनाउने काममा पनि सुरक्षाकर्मी लाग्नु पर्ने उनको भनाइ छ । विपद्का घटनाप्रति चनाखो हुँदै जतिसक्दो छिटो उद्धारमा सुरक्षाकर्मी पुग्नुका साथै अपराध अनुसन्धान कार्यमा निश्पक्षता अपनाउन महानिरीक्षक कुँवरले आग्रह गरे । देशभर अपराधका घटना वार्षिक रूपमा २० देखि २३ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाएकाले त्यसतर्फ प्रहरी संगठनको ध्यान केन्द्रित हुने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया