नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउने गरी काम गर्न मन्त्री यादवको निर्देशन

लोकपथ
21
Shares
फाइल तस्बिर

विराटनगर ।  खानेपानीमन्त्री प्रदीप यादवले नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । 

खानेपानी मन्त्रालयको आयोजना र खानेपानी तथा ढल व्यवस्थापन विभागको व्यवस्थापनमा आज विराटनगरमा आयोजित ‘सुशासन तथा वित्तीय अनुशासनसम्बन्धी तीन दिने कार्यशाला गोष्ठी २०८१’को उद्घाटनका अवसरमा उनले उक्त निर्देशन दिएका हुन् । 

उनले भने, ‘जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउन, कार्यालयका सूचना तथा गुनासोको प्रभावकारी व्यवस्थापन गराउन, वित्तीय अनुशासन कायम गराउन र बेरुजु फर्छ्यौट र सम्मपरीक्षणका लागि अविलम्ब पेस गरी, जनतालाई सुशासनको प्रत्याभूति दिलाउन अवश्यक छ ।’

देश, राष्ट्र, राष्ट्रियताका पक्षमा उभिएर एवं आम नेपाली नागरिकलाई कर्मचारीले सुशासनको प्रत्याभूति दिलाउने गरी काम गर्नुपर्ने मन्त्री यादवको भनाइ थियो । 

मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्यले आयोजनाको दोहोरोपना हटाउने गरी काम गर्न निर्देशन दिइन् । खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठले बेरुजु र भ्रष्टाचार फरक कुरा भएकाले बेरुजु फछ्र्यौटका लागि सङ्घीय कार्यालय र प्रदेश डिभिजन कार्यालयको संयुक्त प्रयास आवश्यक रहेको बताए।

उनले भने, ‘हामीले सकेसम्म बेरुजु नहुने गरी काम गर्नुपर्छ । भएका बेरुजु फरफारक गरी दीगो विकासको लक्ष्य र संविधानले प्रत्याभूत गरे अनुरुपको खानेपानी तथा सरसफाइको सेवा प्रदान गर्नु प्रमुख कर्तव्य हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?