काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बिहीबार भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई १६८ रनको लक्ष्य दिएको छ । सुदूरपश्चिम रोयल्सले ६ विकेटको क्षतिमा सो लक्ष्य दिएको हो ।
टस जितेको काठमाडौंले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका लागि स्कटिस ब्याटर ब्रान्डन मक्मलेनले अर्धशतक प्रहार गरेका थिए । उनले ३५ बलमा ५३ रन प्रहार गर्दा ३ चौका र ४ छक्का प्रहार गरेका थिए ।
यसैगरी, सुदूरपश्चिम रोयल्सका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ४३ रन जोडेका थिए । उनले ३ चौका र २ छक्काको सहयोगमा सो रन जोडेका थिए । उनी १९औं ओभरमा काठमाडौंका करण केसीको बलमा क्याच भएका थिए ।
ओपनिङमा आएका सइफ जबइले ११ रन मात्र जोड्न सके । अर्का ओपनिङ ब्याटर विनोद भण्डारीले २८ बलमा ३५ रन बनाएका थिए । उनले २ चौका र २ छक्का प्रहार गरेका थिए ।
यस्तै, रोहन मुस्ताफ भने ४ रनमा रसिद खानबाट बोल्ड भएका थिए । स्कट कुगेलेइनले नटआउट ७ रन जोडे । बलिङमा काठमाडौंका रसिद खानले २ विकेट लिएका थिए । करण केसी, शाहब आलम र गेराल्र्ड इरासमसले १–१ विकेट लिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया