‘जलवायु परिवर्तनले मुलुकको गरिबी र असमानतालाई थप फराकिलो बनायो’

लोकपथ
56
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनले नेपाली समाजमा विद्यमान गरिबी र सामाजिक असमानतालाई थप फराकिलो बनाएको बताइन् । बिहीबार त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।

। उनले पछिल्लो समय नेपालमा जलवायु परिवर्तनबाट परेको ठूलो असरले जनजीवन समेत प्रभावित बन्दै गएको उल्लेख गरिन् । भण्डारीले जलवायु परिवर्तनकै कारण उत्पन्न अतिवृष्टि, अनावृष्टि, बाढी पहिरो, सुख्खा खडेरी जस्ता प्रकोपहरूले गर्दा गरिब किसान तथा विपन्न वर्गको जीविकोपार्जनमा प्रत्यक्ष असर परिरहेको बताइन् ।

उनले जलवायु परिवर्तनका नकारात्मक प्रभावहरुलाई न्यूनीकरण गर्न अनुकूलन क्षमता वृद्धि गर्न आवश्यक रहेको पनि बताइन् । उनले अनुकूलन क्षमता वृद्धिको लागि अनुसन्धानमा आधारित सूचना र ज्ञानको आवश्यकता रहेको उल्लेख गरिन् । भण्डारीले भूगोल केन्द्रीय विभाग र अन्य विदेशी विश्वविद्यालय मिलेर जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको प्रभावका विषयमा गरेको अनुसन्धानले जलवायु अनकुलन क्षमतामा प्रभाव पार्ने प्रमुख तत्त्वहरूको पहिचान गर्दै सोहीअनुरुप अनुकूलनमा दिगो र प्रभावकारी उपायहरुको अवलम्बन गर्न सहयोग पुग्ने दाबी गरिन् ।

उनले विभिन्न देशहरु सम्मिलित भई गरिएको अध्ययनले किसानलाई जलवायु परिवर्तनका कारण देखिएको चुनौती सामना गर्न सहज हुने अपेक्षा रहेको  बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?