काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा लमजुङ बेसीशहर नगरपालिका–८ घर भई हाल काठमाडौं टोखा नगरपालिका–६ बस्ने २० वर्षीय सुमित बस्याल र खोटाङ रूपाकोट मझुवागढी गाउँपालिका–८ घर भई हाल काठमाडौं बुढानीलकण्ठ नगरपालिका–४ पासीकोट बस्ने ३१ वर्षीय इच्छा गुरुङ रहेका छन् ।
पक्राउ मध्ये सुमितले क्रोएसिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ४० हजार रूपैयाँ र इच्छाले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।
सोही पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले सुमितलाई काठमाडौं भाटभटेनीबाट मंगलबार र इच्छालाई काठमाडौं पासीकोटबाट बुधबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया