काठमाडौं । महिला स्वास्थ्य स्वयंसेविकाहरुले सरकारले स्वास्थ्य स्वयंसेविकाहरुको कामको मूल्यांकन गर्न नसकेको गुनासो गरेका छन् । बिहीबार ललितपुरमा २१औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा आयोजित कार्यक्रममा महिला स्वयंसेविकाहरुले यस्तो गुनासो गरेका हुन् ।
उनीहरुले महिला स्वयंसेविकाहरि जुनसुकै ठाउँमा हिँड्नलाई तयार रहेको भए पनि सरकारले कामको मूल्यांकन गर्न नसकेको गुनासो गरे । उनीहरुले आफूहरुको कामको बारेमा सरकारलाई पटक पटक ध्यानाकर्षण गराए पनि अहिलेसम्मका सरकारले चासो नदिएको महिला स्वास्थ्य स्वयंसेविकाहरुको छाता संस्थाकी अध्यक्ष वसन्ती महर्जनले बताइन् । महिला स्वयंसेविकाहरुले गरेको कामको मूल्यांकन हुनुपर्ने बताइन् ।
कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा। रोशन पोखरेलले महिला स्वास्थ्य स्वयंसेविकाहरुको उचित व्यवस्थापन सरकारले गर्नुपर्ने बताए । उनले महिला स्वयंसेविकाहरुलाई अपग्रेड गरेर प्रणालीमा ल्याउन सके आगामी दिनमा राम्रो हुने बताए । उनले कुन उमेरका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई अपग्रेड गर्ने भन्ने बारेमा सरकारले छलफल गरिरहेको बताए ।
कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। विकास देवकोटाले स्वास्थ्य स्वयंसेविकाले व्यक्तिलाई मात्रै नभई परिवार, समाज र देशलाई नै स्वस्थ बनाउने बताए । उनले सबैको मुख्य काम भनेको नागरिकको सेवा नै भएकाले सबैले मिलेर काम गर्नुपर्ने जरुरी रहेको बताए ।
महानिर्देशक देवकोटाले संघीयतापछि महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई संघ, प्रदेश र स्थानीय तह कतै न कतैबाट प्रोत्साहनका कार्यक्रमहरु गरिरहेको भए पनि समग्र रुपमा सबैलाई सबैको लागि गर्न बाँकी रहेको उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया