ओलीलाई प्रश्न : चीन भ्रमणपछि तपाईँको कार्यकाल लम्बिएको हो ?

लोकपथ
350
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेससँगको सहमति अनुसार नै सरकार आलोपालो चलाउने प्रतिबद्धता पुनः दोहोर्याएका छन् ।

चीन भ्रमणपछि बिहीबार दिउँसो नेपाल फर्किएका प्रधानमन्त्री ओलीले विमानस्थलमा आफूले अबको १८ महिना सरकारको नेतृत्व गर्ने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई नेतृत्व गर्न दिने बताए ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणपछि वामपन्थी शक्तिहरु एक हुने त होइनन् भन्ने आशंका समेत उब्जिएको थियो ।

विमानस्थलमा आयोजित पत्रकार सम्मेलनका क्रममा चीन भ्रमणपछाडी यहाँको कार्यकाल अलि लम्बिने भएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री ओलीले भने, ‘यही प्रश्नको जवाफ मैले कतिपल्ट दिने ? मैले अब १७ वा १८ महिना जति होला मेरो पालो त्यसपछि मैले शेरबहादुर देउवाजीलाई हस्तान्तरण गर्छु । उहाँले डेढ वर्ष चलाउनुहुन्छ अनि चुनाव गराउनुहुन्छ । हाम्रो चुनावसम्मको एग्रिमेन्ट छ । चुनावपछि हामी हरेकले बहुमत ल्याउने कोशिस गरौँला । बहुमत आउँछ भन्ने हामीलाईसहित हरेकलाई विश्वास छ । विश्वास अनुसार बहुमतको सरकार बन्ला नभए अरु तरिकाले सरकार बन्ला ।’

त्यस्तै प्रधानमन्त्री ओलीले चीनसँग बीआरआई लगायतका सबै सम्झौताहरु ऋणमा नभइ अनुदानमा आधारित भएर हुने स्पष्ट पारे । बीआरआई फ्रेमवर्कका विषयमा हस्ताक्षर भएपछि त्यसमा सहमति गरिएका प्रत्येक बुँदामा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने समेत बताए ।

प्रधानमन्त्री पछिल्लो पटक सत्ताको नेतृत्वमा आएपछि पहिलोपटक चीन भ्रमण गरेका हुन् । गत मंसिर १७ गते मित्रराष्ट्र चीनतर्फ गएका प्रधानमन्त्री ओली आज स्वदेश फिर्ता भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?