हिमालय एयरलाइन्सले भन्यो– ‘प्रधानमन्त्रीको चीन भ्रमणले एयरलाइन्सको क्षमता पुष्टि गरेको छ’ 

लोकपथ
0
Shares

काठमाडौं । हिमालय एयरलाइन्सले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले एयरलाइन्सको क्षमता पुष्टि गरेको बताएको छ । उच्चस्तरीय उडानको सफल व्यवस्थापनले हिमालय एयरलाइन्सको राष्ट्र सेवाप्रतिको समर्पण र देशको यस्ता महत्त्वपूर्ण उडान सफलतापूर्वक सञ्चालन गर्न सक्ने क्षमताको पुष्टि गरेको एयरलाइन्सले जनाएको हो ।

चीनको चार दिने औपचारिक भ्रमण पुरा गरी प्रधानमन्त्री ओलीसहित उच्चस्तरीय सरकारी टोली आज स्वदेश फर्किएको छ । प्रधानमन्त्री ओली, उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्र मन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक/विकास सल्लाहकार डा. युवराज खतिवडा, सांसदहरु, मुख्य सचिव एकनारायण अर्याल, वरिष्ठ सरकारी अधिकारीहरू र विभिन्न उद्योग र व्यापारका प्रतिनिधिहरू संलग्न टोली आज स्वदेश फर्किएको हो । 

बेजिङ क्यापिटल इन्टरनेशनल एयरपोर्टबाट हिमालय एयरलाइन्सको एयरबस ३१९ नाइनएन–एजेके वायु यान प्रधानमन्त्रीसहितको टोली लिएर काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २ बजेर ४८ मिनेटमा अवतरण गरेको थियो । 

हिमालय एयरलाइन्सका अध्यक्ष झो एन्‍योङ, र उपाध्यक्ष विजय श्रेष्ठले प्रधानमन्त्रीसहितको प्रतिनिधिमण्डललाई वायु यानमै पुगेर स्वागत गरेका थिए । उस उडानले एयरलाइन्सलाई राष्ट्रका लागि भरपर्दो साझेदारको रूपमा आफूलाई स्थापित गरेको एयरलाइन्सले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?