खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न एनआईसी एशिया बैंकको अनुरोध

लोकपथ
175
Shares

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंक खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले ग्राहकहरूले प्यान नम्बर अद्यावधिक गर्न बैंकले अनुरोध गरेको हो ।

सो प्यान अद्यावधिक गर्न बैंकको पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ एप (NIC ASIA MoBank) मा रहेको PAN Update विकल्पमा ट्याब गरी आफ्नो प्यान अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ । साथै, ग्राहकहरूले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अद्यावधिक गर्नको लागि आवेदन दिन सकिने पनि बैंकले जनाएको छ ।

बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई ई–टीडीएस रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक पर्छ । उक्त प्यान अद्यावधिक भएपश्चात् निजहरूको करकट्टीको विवरण सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने बैंकले जनाएको छ । जसले गर्दा ग्राहकहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य गर्ने बैंकको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?