रवि लामिछानेलाई भेटेपछि बाबुरामले भने- ‘राजनीतिक प्रतिशोध साँधियो’

लोकपथ
434
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेका छन् । शुक्रबार बिहान लामिछानेलाई भेट्न डा. भट्टराई जिल्ला प्रहरी कार्यालय कास्की पुगेका थिए ।

भेटपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै डा. भट्टराईले सरकारले रविमाथि एकपछि अर्को गर्दै राज्यले प्रतिशोध साँधेको आरोप लगाए । त्यस्तै रविमाथि सरकारले अन्यायपूर्ण व्यवहार गरेका कारण ऐक्यबद्धता जनाउन आफू आएको बताए ।‘अहिले उहाँलाई विभिन्न ढंगले एकपछि अर्को गरेर दुःख दिने काम भइराखेको छ भनेर अशोभाविक र अन्यायपूर्ण लागेर मेरो ऐक्यबद्धता जनाउन म आएको हुँ,’ उनले भने, ‘यो प्रतिशोधपूर्ण भयो नै भन्ने मैले बुझ्छु ।’

त्यस्तै सहकारीसम्बन्धी समस्याको जरो चौतर्फी फैलिएको बताए । ३०औँ वर्षंदेखि सत्ताको वरिपरि घुमिरहेका नेताहरुको वरिपरि नै सहकारीका ठगहरु रहेको बताउँदै उनीहरुलाई कानुनी दायरामा ल्याउन राज्य लाग्नुपर्ने बताए । त्यसैगरी ५०औँ लाख सहकारी पीडितहरुको समस्या समाधानमा राज्य नलागेको समेत डा. भट्टराईको आरोप रहेको छ ।

‘सहकारी सम्बन्धी जरो धेरै फैलिएको छ । जो अहिले ३० वर्षदेखि पालैपालो सत्तामा रहेका छन्, तीन दलका ती नेताहरु छन् । तीनकै वरिपरि नै बढी अपचलन भइराखेको छ । त्यसको हल नगर्ने हो भने ५०औँ लाख साना बचतकर्ताहरु मर्कामा परेका छन् । पहिले तिनको समाधान हुनुपर्यो,’ डा. भट्टराईले भने ।

डा. भट्टराईले लामिछानेको स्वास्थ्य अवस्था राम्रो रहेको बताउँदै वैकल्पिक राजनीतिक शक्ति निर्माणमा सशक्त भूमिका खेल्ने पात्रका रुपमा आफूले रविलाई बुझेको बताए । सहकारी ठगी प्रकरणमा लामिछानेलाई गत कार्तिक २ गते प्रहरीले रास्वपाको केन्द्रीय कार्यालय बनस्थलीबाट पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?