काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा रामेछाप लिखु तामाकोशी गाउँपालिका–३ बिजुलकोट घर भई काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-९ नयाँबस्ती बस्ने ३४ वर्षीय उखिल बम्जन र कैलाली टिकापुर नगरपालिका–१ घर भई हाल काठमाडौं महानगरपालिका-१० बुद्धनगर बस्ने २६ वर्षीय कमल रावल रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले बम्जनलाई काठमाडौं पिङगलास्थानबाट बुधबार र कमललाई ताहाचलबाट बिहीबार पक्राउ गरेको हो ।
पक्राउ मध्ये बम्जनले १ जना पीडितबाट १ लाख ४० हजार रूपैयाँ र कमलले १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया