कारागारमा चाप बढेपछि कैदीबन्दी स्थानान्तरण

लोकपथ
70
Shares

काठमाडौं । चितवन कारागारमा कैदीबन्दीको चाप बढेपछि केहीलाई अन्यत्र स्थानान्तरण गरिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को साउनयता ९५ कैदीबन्दीलाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको हो ।

कार्यालय प्रमुख कमलप्रसाद आचार्यका अनुसार साउनमा १६, असोजमा एक र मङ्सिरमा ७९ कैदीबन्दीलाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको छ । साउनमा आठ जनालाई रसुवा, एक जनालाई गोरखा, एक जनालाई तनहुँ र ६ जनालाई केन्द्रीय कारागार काठमाडौं पठाइएको उनले बताए । यस्तै मङ्सिरमा स्थानान्तरण गरिएका ७९ कैदीबन्दीलाई नुवाकोट कारागार पठाइएको प्रमुख आचार्यले जानकारी दिए ।

स्थानान्तरण गर्नुअघि चितवन कारागारमा आठ सय १९ कैदी बन्दी रहेका थिए । जसमा सात सय ७२ पुरुष र ४७ महिला रहेका थिए । मङ्सिरमा स्थानान्तरण गरिएकामध्ये दुई महिला र ७७ पुरुष रहेको प्रमुख आचार्यले बताए । अहिले कारागार कार्यालयमा सात सय ५६ कैदी बन्दी छन् । जसमा ७०३ पुरुष र ५३ महिला रहेका छन् । उनीहरुसँग आश्रित तीन बालबालिका रहेका छन् । 

दुई सय ५५ पुरुष र २५ महिला कैदी बन्दी राख्ने भएको चितवन कारागारमा न्यायिक तथा अर्धन्यायिक निकायबाट आउने कैदी तथा बन्दीको  संख्याभन्दा कैद म्याद सकिनेको संख्या  कम भएकाले स्थानान्तरण गर्न बाध्य भएको प्रमुख आचार्यले बताए ।  पछिल्ला दिनमा लागुऔषध सम्बन्धी कैदी बन्दी बढी आउने गरेको उनको भनाइ छ । कारागारमा छिमेकी जिल्ला नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)बाटसमेत कैदी बन्दी आउने हुँदा चाप बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?