काठमाडौं । कानुन व्यवसायीलाई अफिसर्स अफ दि कोर्ट पनि भनिन्छ । कानुन व्यवसायीको दायित्व भनेको आफ्नो पक्षको अधिकतम हितका लागि काम गर्नु र निर्दोष हुन् भने निर्दोषता प्रमाणित गर्न लाग्नु तथा दोषी हो भने न्यूनतम सजायका लागि बहस गर्नु हो । कुनै पनि मुद्दामा फैसला गर्ने अधिकार न्यायाधीशलाई रहन्छ र न्यायाधीशले गरेको फैसला चित्त नबुझे माथिल्लो अदालतमा पुनरावेदन गर्नसमेत पाइन्छ । अदालतको फैसलालाई सम्मान गर्दै थप कानुनी उपचार खोज्ने अधिकार भए पनि न्यायाधीशमाथि लाञ्छना लगाउने अधिकार कानुन व्यवसायीलाई हुँदैन ।
तर एक कानुन व्यवसायीले भने आफूले मुद्दा हारेको रिसमा न्यायाधीशमाथि नै आत्महत्या दुरुत्साहनको मुद्दा लगाउनुपर्ने टिप्पणी गरेका छन् । अधिवक्ता कृष्ण शर्माले उच्च अदालत पाटनको हेटौँडा इजलासबाट भएको फैसलामा आफ्नो पक्षको हार भएपछि न्यायाधीशमाथि आत्महत्या दुरुत्साहनमा मुद्दा चलाउने कानुनी व्यवस्था हुनुपर्ने भन्दै फैसलामा आपत्ति जनाएका छन् ।
कानुन व्यवसायी कृष्ण शर्माले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्ट्याटस यस्तो छ ।

शर्माले आफ्नो विचार राख्दा प्रतिवादीको बुवाको यही घटनाका कारण मृत्यु भएको र आमा समेत विक्षिप्त भएको कुरा उल्लेख छ । तर सुरु मकवानपुर जिल्ला अदालतले हाडनाता करणीको कसुरमा प्रतिवादीलाई १० वर्ष कैद हुने गरी फैसला गरेकामा सफाइ पाउनुपर्ने भन्दै प्रतिवादीका तर्फबाट कानुन व्यवसायी शर्माले मुद्दा लडेकामा उच्च अदालत पाटनको हेटौँडा इजलासले समेत सुस अर्थात् सुरु सदर गरेको थियो । त्यसमा आपत्ति जनाउँदै अधिवक्ता शर्माले न्यायाधीशमाथि आत्महत्या दुरुत्साहनको मुद्दा चलाउने कानुनी व्यवस्था हुनुपर्ने माग मात्रै राखेनन्, न्यायाधीशलाई फैसलाधीश भन्दै न्यायाधीशले न्यायको हुर्मत लिएको आरोप लगाएका छन् ।

पहिले कानुनी व्यवसायी कृष्ण शर्माले प्रतिवादीको तर्फबाट बहस पैरवी गरेको मुद्दा के हो त्यो बुझौँ ।
के थियो घटना ?
मकवानपुरको हेटौँडामा आफ्नै बुवाले १० वर्षकी छोरीमाथि बलात्कार गरेको घटना हो यो । आफ्नै छोरीमाथि बलात्कार गरिरहेको सौतेनी आमाले देखेपछि आफ्नै श्रीमतीको जाहेरीमा पक्राउ परी अनुसन्धान भएको घटना थियो यो । २०७९ चैत ७ गते हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ को क्याम्पडाँडा भन्ने स्थानमा रातको १० बजे भएको घटना आफ्नै श्रीमतीले देखेकी थिइन् । रातको समयमा आफ्नै छोरीमाथि बलात्कार गरिरहेको देखेपछि त्यसको भोलिपल्ट नै उनी महिलाले जाहेरी दिएपछि यी प्रतिवादी पक्राउ परेका थिए ।
महिलाको जाहेरी यस्तो छ :
‘म जाहेरवाली पूर्व पतिसँग सम्बन्ध विच्छेद भए पछि विपक्षी परिवर्तित नाम ३१ (०७९।०८०–ए६४) सँग करिब चार वर्ष पहिला म जाहेरवालाको विवाह भएको र विवाह हुँदा निजकी पूर्व पत्नी तर्पmको छोरी हाल वर्ष १० की परिवर्तित नाम ३१(०७९।०८०–९४) समेत रहेछ । यस्तैमा हामी पति, पत्नी र निजको छोरी समेत सँगै रहँदै बस्दै आउने क्रममा मिति २०७९।१२।०७ गते बेलुका अन्दाजी १० बजेको समयमा निज छोरी एक्लै जिल्ला मकवानपुर हेटौडा उप महानगरपालिका वडा नम्बर ५ क्याम्पाडाँडास्थित आफ्नै डेरा कोठा भित्र बार्दलीमा सुतिरहेको बेला बुवा परिवर्तित नाम ३१(०७९।०८०–ए६४) आउनु भई तिमी र म विवाह गरौँ भनी रु १० दिई फकाई ………….. करणी गर्नु भएको भनी बताएपछि भोलिपल्ट चैत्र ८ गतेको बेलुका म जाहेरवालाले निज पतिको निगरानी गरिरहेको अवस्थामा राती अन्दाजी ११ बजेको समयमा निज छोरी परिवर्तित नाम ३१(०७९।०८०–९४) लाई पति परिवर्तित नाम ३१(०७९।०८०–ए६४) ले जबरजस्ती करणी गरेको अवस्थामा देखि सो घटनाको सम्बन्धमा माइती नेपाल, मकवानपुर महिला समूह, साना हातहरू नेपाल र मकवानपुर पोजेटिभ समूह लगायतका संस्थाहरूको सहयोगमा पीडित छोरीलाई साथमा लिई आई प्रस्तुत जाहेरी दरखास्त पेस गरेकी छु । पीडित छोरीको स्वास्थ्य परीक्षण गराई निज विपक्षी पतिलाई पक्राउ गरी कानुन बमोजिम गरी पाउँ ।’
यही जाहेरीका आधारमा मकवानपुर प्रहरीले आफ्नै छोरीमाथि बलात्कार गर्ने बुवालाई २०७९ चैत ८ गते पक्राउ गरिएको थियो ।
पक्राउपछि अधिकारप्राप्त अधिकारीसमक्ष दिएको बयानमा प्रतिवादीले मदिराको नशामा करणी गरेको स्वीकार गरेका छन् ।
उनको बयानमा भनिएको छ,
‘पीडित नाम परिवर्तित ३१(०७९।०८०–९४) मेरी पहिलाको श्रीमतीबाट जन्मेकी छोरी हुन् । निज छोरी नाम परिवर्तित ३१(०७९।०८०–९४) भन्दा जेठो हाल वर्ष १३ एक छोरा पनि छ । छोरी नाम परिवर्तित ३१(०७९।०८०–९४) को जायजन्म भई निज छोरी ३ वर्षकी हुँदा मेरो पहिलाको श्रीमती म, छोरा र छोरीलाई छाडी अन्यत्र विवाह गरी गए पश्चात् मैले आफ्नो छोरा छोरीलाई लालन पालन गर्दै आएको थिएँ । करिब ६ वर्ष अगाडी मेरो छोरालाई निजका मामा घरमा राखी मैले मेरी छोरी नाम परिवर्तित ३१(०७९।०८०–९४) लाई साथमा लिई मेरो बुवा आमा, मेरो भाइ र भाइ बुहारी समेत रौतहटको चन्द्रनिगाहपुरबाट हेटौँडामा आई जिल्ला मकवानपुर हेटौडा उप महानगरपालिका वडा नम्बर ५ क्याम्पडाँडामा घर तथा जग्गा भाडामा लिई बसी गाई, बाख्रा पालन गरी खेती किसानीको काम गरी बस्दै आएकोमा करिब ३ वर्ष अगाडी जाहेरवालीसँग चिनजान भएकोमा निजको श्रीमानसँग सम्बन्ध विच्छेद भएको भनेकीले मैले निज जाहेरवालीसँग विवाह गरी सँगै बस्दै आएका छौँ । यसै क्रममा मिति २०७९।१२।०७ गते बेलुका मैले अलि कति रक्सी सेवन गरी रातीको अन्दाजी १० बजेको समयमा डेरा कोठामा जाँदा घरका सम्पूर्ण सदस्य सुतिसकेको र मेरी छोरी नाम परिवर्तित ३१(०७९।०८०–९४) एक्लै घरको बार्दलीमा सुतिरहेको देखि मलाई करणी गर्न इच्छा भई मन उत्तेजित भएकोले म छोरी सुतेकी ठाउँमा गई निज छोरीलाई उठाई मैले तिमीलाई पैसा दिन्छु भनी ललाई फकाई गरी बिस्तारै बिस्तारै एक पटक करणी गरी छोरीलाई सुत भनी म जाहेरवाली श्रीमतीको साथमा गई सुतेँ । भोलिपल्ट ऐ. ८ गते राती म र जाहेरवाली श्रीमतीसँगै सुतेकोमा जाहेरवाली श्रीमती निदाए जस्तो लागे पछि म बिस्तारै उठी छोरी नाम परिवर्तित ३१(०७९।०८०–९४) सुतेकी घरको बार्दलीमा गई पुनः छोरीलाई करणी गर्दै गर्दा जाहेरवालीले देखि के गर्नु भएको भन्दा मैले कसैलाई नभन भनी श्रीमतीसँग माफी मागेको थिएँ । त्यस पछि ऐ. १६ गते दिउँसो निज श्रीमतीले छोरीलाई सन्चो छैन, म हस्पिटलमा लगी चेक गराएर आउँछु भनी आएकीमा निज श्रीमतीले छोरीलाई साथमा लिई प्रहरीमा गई उजुरी गरेकी हुँदा सोही रातिको अन्दाजी ९ बजेको समयमा प्रहरी टोली मेरो डेरा कोठामा आई मलाई जरुरी पक्राउ पुर्जी दिई पक्राउ गरी ल्याएको हो ।’
प्रतिवादीले मौकाको बयानमा वारदात स्वीकार गरे पनि अदालतमा भने उनले अभियोग अस्वीकार गरेका छन् । जाहेरवाली आफ्नी कान्छी श्रीमती रहेको र सुरुवातदेखि नै झगडा हुने गरेको, झैझगडाकै कारण आफूलाई फसाउन जाहेरवालीले जाहेरी दिएको बयान दिए ।
स्वास्थ्य परीक्षण रिपोर्टमा पनि कन्या जाली नभएको र यौन अङ्गको बाहिरी भागमा रातो घाउजस्तो देखिएको उल्लेख छ । …….
यता पीडित बालिकाको स्वास्थ्य परीक्षण हुँदा डाक्टरसँग केस हिस्ट्री टिपाउने क्रममा बालिकाले आफूलाई बुवाले आफू ५ वर्षको हुँदादेखि लगातार बलात्कार गरेको बयान दिइन् । स्वास्थ्य परीक्षण रिपोर्टमा पनि कन्या जाली नभएको र यौन अङ्गको बाहिरी भागमा रातो घाउजस्तो देखिएको उल्लेख छ ।
पीडित बालिकाले अदालतमा बयान गर्ने क्रममा पनि आफू सुतिरहेको कारण के भयो थाहा नभएको तर ब्युँझँदा बुवा आफूसँगै भएको, जबरजस्ती करणी गरेको हो वा होइन थाहा नभएको तर बुवाले तिमी र म बिहे गर्ने भन्नु भएको, त्यसभन्दा पहिले पनि बुवाले तिमी र बिवाह गरौँ भन्ने, जिउमा छुने, तेल लगाउने आदि गर्ने गरेको भन्ने बयान दिइन् ।
अदालतमा आइपुग्दा जाहेरवाली महिलाले केही होस्टाइल बयान दिई करणी गर्दै गरेको आफूले नदेखेको तर छोरीले भने अनुसारको ब्यहोरा टिपाएको बताइन् ।
न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासमा २०८१ जेठ १ गते सुनुवाइ हुँदा अदालतले प्राप्त तथ्य र प्रमाणका आधारमा जबरजस्ती करणी ठहर गरेको थियो । प्रतिवादीलाई एचआइभी एड्ससमेत लागेको, आफ्नै छोरी रहेको, छोरी नाबालिग रहेको र सरुवा रोग समेत लागेको आदि कारणबाट हाडनाता करणीको कसुरमा जन्मकैद तथा मुलुकी अपराध संहिता, २०७४ को दफा १०५ को उपदफा २ बमोजिम मानव रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जिवाणु फैलाएको कसुरमा थप १० वर्ष कैद गरी कुल ३५ वर्ष कैद र ८ लाख जरिवाना गराउने फैसला सुनाएको थियो ।

मकवानपुर जिल्ला अदालतको सोही फैसला नमिलेको भन्दै प्रतिवादीका तर्फबाट कानुन व्यवसायी अधिवक्ता कृष्ण शर्मा उच्च अदालत पाटनको हेटौँडा इजलासमा पुनरावेदन गर्न पुगेका थिए ।
तर उच्च अदालत पाटनको हेटौँडा इजलासले गत मङ्सिर १८ गते पुनरावेदन भएको उक्त मुद्दामा फैसला सुनाउँदा सुरु मकवानपुर जिल्ला अदालतकै फैसला सदर गरेको थियो । उच्च अदालत हेटौँडामा मुख्य भई काम गर्ने न्यायाधीश यमुना भट्टराई र सानुमैया डङ्गोलको संयुक्त इजलासले सुरु जिल्ला अदालतकै फैसला सदर गरेको थियो । उच्च अदालतले पनि जबरजस्ती करणीको कसुर ठहर नै गरेपछि आफ्नो पक्षको हारमा कानुन व्यवसायी शर्माले सामाजिक सञ्जालमा न्यायाधीशमाथि नै अशोभनीय टिप्पणी गरेका हुन् ।
शर्माले सामाजिक सञ्जालमार्फत न्यायाधीशलाई न्याय गर्न नसक्ने व्यक्ति र मात्रै फैसलाको सङ्ख्या बढाउन तल्लीन फैसलाधीशको संज्ञा दिएका छिन् ।
कानुन व्यवसायीको आफ्नै आचारसंहिता छ, त्यो मान्नु कर्तव्य हो : बार

अधिवक्ता कृष्ण शर्माले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका विषयका सम्बन्धमा नेपाल बार एसोसिएसनकी महासचिव अञ्जिता खनालले व्यक्तिका विचार वा घटनाका सम्बन्धमा बारले जिल्ला लिन नसक्ने बताइन् । महासचिव खनालले लोकपथसँग भनिन्, ‘अधिवक्ताले के गर्न हुने र के गर्न नहुने भन्ने आफ्नै आचारसंहिता छ, त्यसको बारेमा उहाँलाई पनि जानकारी छ । न्यायाधीशले गल्ती वा कमजोरी गरेमा उजुरी र कारबाही गर्ने थलो भनेको न्याय परिषद् हो, त्यहाँ उजुरी गर्न सकिन्छ । अब व्यक्तिले कहाँ कहाँ के बोल्छन्, के लेख्छन् भनेर बारले जिम्मा लिन सक्दैन, उहाँको अभिव्यक्तिमा बारको कुनै भूमिका छैन ।’
प्रतिवेदन उठाएर अवहेलना मुद्दा दर्ताको तयारी
एक तहको अदालतले गरेको फैसलामा चित्त नबुझे माथिल्लो अदालतमा जाने संवैधानिक तथा कानुनी हक कायम नै रहेको अवस्थामा आफूले लडेको मुद्दा हारेको आवेगमा कानुन व्यवसायीले न्यायाधीशमाथि लाञ्छना लगाउने र फैसलाकै कारण कोही व्यक्ति आत्महत्या गर्न बाध्य बनाएको भन्ने भाष्य निर्माण गरेको भन्दै अदालत प्रशासनबाट नै प्रतिवेदन तयार पारी अदालतको अवहेलनामा मुद्दा दायर गर्ने तयारी भएको छ ।

यस सम्बन्धमा कुरा गर्नका लागि उच्च अदालत पाटनको हेटौँडा इजलासमा कार्यरत रजिस्ट्रार रामप्यारी सुनुवारसँग कुरा गर्नका लागि पटक पटक सम्पर्क गर्दा उनको फोन उठेन । यद्यपि उच्च अदालत पाटनको हेटौँडा इजलासले भने कानुन व्यवसायीमाथि अदालतको मानहानिमा मुद्दा दायर गर्ने तयारी गरेको छ ।
कानुन व्यवसायी परिषद्ले सम्झायो आचारसंहिता
यसैबिच बिहीबार मात्रै कानुन व्यवसायी परिषद्ले एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालहरूमा अदालतका आदेश र फैसला वा आदेशका सम्बन्धमा अमर्यादित टिप्पणी नगर्न स्मरण गराउँदै कानुन व्यवसायीको आचरणसम्बन्धी नियमावली, २०७९ अनुसार स्वतः जानकारीमा लिई कारबाही गर्ने भन्दै सामाजिक सञ्जालमा जथाभाबी नलेख्न आग्रह गरेको छ ।

यस सम्बन्धमा अधिवक्ता कृष्ण शर्मासँग कुराकानी गर्न खोज्दा सम्पर्क हुन सकेन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया