सिक्रेटारमा ‘साझेदारी स्वास्थ्य बीमा’ कार्यक्रम

लोकपथ
21
Shares

भोजपुर । भोजपुर जिल्लाको अरुण गाउँपालिका–७ सिक्रेटारले ‘नागरिक साझेदारी स्वास्थ्य बीमा कार्यक्रम’ सञ्चालनमा ल्याएको छ । वडाले आर्थिक रूपमा कमजोर भएका तथा विपन्न नागरिकको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याएको हो । 

गाउँपालिकाको यही मंसिर १२ गतेको कार्यपालिका बैठकको निर्णयअनुसार वडाले नागरिकको आवेदन संकलन थालेको छ । कार्यपालिकाको निर्णयमा उल्लेख भएको आधारमा बीमा शुल्कको ७१ दशमलव ४३ प्रतिशत वडाले बेहोर्ने र बाँकी २८ दशमलव ५७ प्रतिशत नागरिक स्वयंले तिर्ने गरी आवदेन संकलन थालिएको अरुण–७ का वडाध्यक्ष कुमार थापाले जानकारी दिए । 

कार्यक्रमले वडामा बसोबास गर्ने अति गरिब, विपन्न, दीर्घरोगी तथा अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरेको उनले बताए । ‘हामीले गरिब तथा विपन्न परिवारलाई लक्षित गरेर नागरिक साझेदारी स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याएका छौँ, ’वडाध्यक्ष थापाले भने, ‘आर्थिक रूपमा कमजोर भएकाहरू कार्यक्रमबाट लाभान्वित हुने अपेक्षा लिएका छौँ ।’

राज्यले ज्येष्ठ नागरिक र ‘क’ वर्गका अपाङ्गता भएका नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिरहेको भए पनि गरिब तथा विपन्न परिवारलाई लक्षित गरेर वडाले शुल्क बेहोर्ने गरी पालिकाले कार्यक्रम सञ्चालनमा ल्याएको वडाध्यक्ष थापाले उल्लेख गरे । 

वडाले सञ्चालन गर्न लागेको नागरिक साझेदारी स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत वार्षिक तीन हजार पाँच सय तिर्दै आएका परिवारले अब  एक हजार तिर्नु पर्नेछ भने वडा कार्यालयले दुई हजार पाँच सय बीमा शुल्क बापतको रकम तिर्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?