काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेलाई चितवनबाट रातारात पोखरा पुर्याइएकोमा आपत्ति जनाएको छ । रास्वपाले शुक्रबार विज्ञप्तिमार्फत् आपत्ति जनाएको हो ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्वउपप्रधान तथा गृहमन्त्री एवं सांसद रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा लगिएको घटनाप्रति पार्टी घोर आपत्ति प्रकट गर्दछ ।
सभापति लामिछानेलाई दिनभर चितवन जिल्ला सरकारी वकिलको कार्यालयमा बयान गराइ राति सुतिरहेको बेलामा अचानक उठाइ मध्यरातमा चितवनबाट सडक मार्ग हुँदै राति ३ बजे पोखरा पुर्याइको रहेछ । यो आश्चर्यजनक, निकृष्ट, निन्दनीय घटना सरकारको प्रत्यक्ष निर्देशनमा भएको सूचना प्रहरी सुत्रबाट प्राप्त भएको छ,’ कार्यवाहक प्रवक्ता मनिष झाद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ ।
सरकारले राज्य संयन्त्रको दुरुपयोग गरी एक प्रतिस्पर्धी राजनीतिक दलको नेतालाई विभिन्न बहानामा यातना दिने अमानवीय, अपमानजनक तथा गैरन्यायिक चाल चलेको रास्वपाको ठहर रहेको छ । रास्वपाले पार्टी सभापति लामिछानेको निजी डायरी हिरासतबाटै गायब पारेको पनि दाबी गरेको छ ।
‘हामी यसको घोर भत्र्सना गर्दछौं, सरकारको यो कर्मले नागरिकको नैसर्गिक मानवअधिकार हनन् गरेको छ । यो निर्मम कदमको औचित्य राज्यले पुष्टि गर्नुपर्नेछ । यसतर्फ राष्ट्रिय मानवअधिकार आयोग एवं सम्पूर्ण राष्ट्रिय अन्तर्राष्ट्रिय मानव अधिकारकर्मी तथा मानवअधिकारवादी संघ संस्थाहरुको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं,’ रास्वपाले भनेको छ ।
अनुसन्धानमा साथ दिइरहेको एक लोकप्रिय जनप्रतिनिधिलाई अपराधी जस्तो गरी प्रचार गरिएको भन्दै रास्वपाले आपत्ति जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘अनुसन्धानमा साथ दिइरहेको एक लोकप्रिय जनप्रतिनिधिलाई अपराधी जस्तो गरी प्रचार गरिनुका साथै सोही स्तरको व्यवहार हुनु नेपालको संविधानको धारा १८, धारा २२ तथा मुलुकी अपराध संहिता, २०७४ को दफा १६७ एवम् यातना र अन्य क्रूर, अमानवीय वा अपमानजनक व्यवहार वा सजाय विरुद्धको महासन्धि, १९८४ विपरीत समेत रहेको तर्फ सम्बन्धित सबैलाई सचेत गराउँछौं । अतः यस घटनाका दोषीमाथि उल्लिखित कानुनी प्रावधान बमोजिम कारवाही गर्न जोडदार माग गर्दछौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया