घुस लिने जिल्ला अदालतका दुई कर्मचारीमाथि अख्तियारद्वारा मुद्दा दायर

लोकपथ
147
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिई भ्रष्टाचार गरेको आरोपमा जिल्ला अदालत कपिलवस्तुका तहसिलदार सन्तोषकुमार मिश्र र कम्प्युटर अपरेटर विकाश पाण्डेयमाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बेरितको बन्डा मुचुल्का बदर गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले गत कात्तिक २७ गते उनीहरूलाई २० हजार रुपैयाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । सेवाग्राहीसँग रकम लिएलगत्तै अख्तियारले दुवै जनालाई नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा आपसी मिलेमतोमा बेरितको बन्डा मुचुल्का बदर गरी पुनः बन्डा मुचुल्का गरिदिने तथा तारेखसमेत दिने प्रयोजनार्थ सेवाग्राहीसँग २० हजार रुपैयाँ लिएको पुष्टि भएको भन्दै अख्तियारले मिश्र र पाण्डेयमाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गत कसुर भएको हुँदा निजहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क)बमोजिमको कसुरमा बिगो २० हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन माग दाबी लिई आज शुक्रबार विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?