राजनीतिक दलको कार्यक्रममा राष्ट्रिय झण्डाको प्रयोग गर्नु निन्दनीय : नेता केसी

लोकपथ
217
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले विभिन्न राजनीतिक दलहरुले आफ्नो विरोध प्रदर्शनका कार्यक्रमहरुमा राष्ट्रिय झण्डाको प्रयोग भइरहेको विषयमा आपत्ति जनाएका छन् ।

राजनीतिक दलले आफ्नो मागका लागि राष्ट्रिय झण्डा प्रयोग गर्नु अनुचित रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सामाजिक सञ्जालमा लेख्दै नेता केसीले लोकतन्त्रमा विरोध प्रदर्शन गर्न पाउनु दलको नैसर्गिक अधिकार रहे पनि त्यसमा आफ्नै दलको झण्डा नै प्रयाप्त हुनेमा जोड दिए ।

‘हिजोआज विशुद्ध दलीय कार्यक्रमहरूमा राष्ट्रिय झन्डाको जथाभावी रुपमा प्रयोग भइरहेको बारम्बार देखापर्छ । दलीय कार्यक्रमहरुमा दलकै झण्डा पर्याप्त हुन्छ । लोकतांत्रिक पद्धतिमा विरोध प्रदर्शन वा समर्थन गर्ने दल, समूह वा व्यक्तिको नैसर्गिक अधिकार हो । राष्ट्रिय झण्डा समग्र राष्ट्र र राष्ट्रियताको प्रतिनिधित्व गर्छ विचारमा विभाजीत दल वा व्यक्तिको होइन । यसर्थ आयोजकहरूमा राष्ट्रिय झण्डा उपयोगबारे सुझबुझ तथा नागरिक कर्तव्यबोधको अभाव पनि झल्किन्छ । राष्ट्रिय झण्डाको दुरुपयोग रोकिनु जरुरी छ,’ उनले भने ।

२५०० वर्षदेखि नेपालले गौरवका साथ राष्ट्रको इतिहास, एकता, सभ्यता, संस्कृति र पहिचानको परिचायक रुपमा झण्डा प्रयोग गर्दै आइरहेको र अन्य देशका भन्दा फरक प्रकृति र पहिचान नेपालको झण्डामा रहेको बताए । साथै राष्ट्रिय झण्डाको महत्वबारे राज्यले आम नागरिकलाई सुसुचित गराउनुपर्नेमा जोड दिए ।

‘राष्ट्रिय झण्डा राष्ट्रको इतिहास, एकता, सभ्यता, संस्कृति र पहिचानको परिचायक हो । हाम्रो राष्ट्रिय झण्डा २५०० वर्षदेखिको गौरवगाथाको धरोहर वा प्रतीक हो । अन्तर्राष्ट्रिय जगतमा नेपालको राष्ट्रिय झण्डाले आकृति र प्रकृति दुवैमा अनुपम (Unique) पहिचान स्थापित गरेकोले विश्वभरिको आकर्षण बटुलेको छ । यसको उच्चतम सदुपयोग नहुने र हुर्मत लिने विभाजित खालका गतिविधिमा यसको दुरुपयोग रोक्नुपर्ने बाञ्छनीय देखिन्छ । राष्ट्रिय झण्डाबारे जनतामा ज्ञान र सचेतना जगाउने काम सरकारको हो । यसलाई दुरुपयोग हुनबाट बचाउन उचित कदम चलाउने जिम्मेवारी पनि सरकारकै हो । यसको नियमन राज्य को दायित्व हो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?