काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो मातहतका मःम बनाउने विभिन्न होटल तथा रेष्टुरेन्टको अनुगमन गरेको छ ।
महानगरको टोलीले गत कार्तिक २९ गतेदेखि हालसम्म विभिन्न ८५ वटा मःम पसलहरुमा कार्यस्थल, भान्छा र व्यक्तिगत सरसफाइ तथा स्वच्छता अनुगमन गरेको थियो । जसमध्ये ७५ वटा मःम पसलमा समस्या देखिएको महानगरले जनाएको छ ।
महानगरपालिकाका फुड टेक्नोलोजिष्ट, माइक्रोवायोलोजिष्टसहितको टोलीले अहिलेसम्म अनगुमन गरेका ८५ वटा मःम बनाउने होटल तथा रेष्टुरेन्टमध्ये ७५ वटा (८८.२४ प्रतिशत) मा सरसफाइ मुख्य समस्या देखिएको ‘अनुगमन प्रतिवेदन’ मा उल्लेख छ ।
यससँगै ६६ वटा (७७.६५ प्रतिशत) प्रतिशतमा भान्छा र कार्यस्थलको सरसफाइमा कमजोरी भेटिएको साथै १८ वटा (२१.१८ प्रतिशत) को व्यवसाय दर्ता नै भएका छैनन् ।
सुन्धारा, न्युरोड, मखन, त्यौड, कलमपोखरी, महाराजगञ्ज, पुरानो बानेश्वर, टंगाल, हाँडीगाउँ, त्रिपुरेश्वर, कोटेश्वर, कलंकी, ठमेल क्षेत्रमा मःम बनाउने र बिक्री गर्ने पसल, होटल तथा रेष्टुरेन्टको अनुगमन गरिएको थियो ।
उनीहरुले दैनिक रुपमा प्रयोग गर्ने एप्रोनसमेत फोहोर छ । भान्छामा लगाउने वा होटलमा लगाउने एप्रोन बाहिर पनि लगाउने गरेका छन् । मसला राख्ने भाँडा फोहोर छ । भान्छाको भुइँमा पानी जमेर फोहोर रहेको साथै डस्टबिनको उचित प्रयोग भएको नभएको महानगरले जनाएको छ ।
साथै पकाएका खानेकुरा खुला राख्ने गरिएको छ र मांसाहारी र शाकाहारीका भोजन सँगसँगै भण्डारण गर्ने गरिएको पाइएको छ ।
पकाएको र नपकाएका खानेकुरा पनि सँगसँगै राखिएको र किराको समस्या समाधान गर्न आफैँ रसायनको प्रयोग गर्ने गरिएको पाइएको महानगरले जनाएको छ ।
फ्रिज सफाइ गरिएको छैन । फ्रिजमा अटुञ्जेल सामान कोचेर राखिएको छ । त्यहाँ राखिएको अचार र मसलामा लेवल राखिएको छैन । मसला राख्ने भाँडा, मःम बनाउने टेवल र मेसिन फोहोर छ । भाँडा माझ्ने ठाउँ झन् फोहोर, व्यक्तिगत सामान भान्छामा राखिएका, मूल्य सूची नराखिएको लगायतका समस्याहरु मःम पसलमा रहेको महानगरको अनुगमत प्रतिवेदनमा उल्लेख छ ।
यी समस्या समाधानका लागि अनुगमन टोलीले स्थलगत रुपमै निर्देशन र सुझाव दिने गरेको छ । यसरी दिइएको सुझावका आधारमा ८ वटा होटल, रेष्टुरेन्टले सुधार गरेको भिडियो र फोटोसहितको प्रमाण लिएर विभागमा उपस्थित भएका छन् । सरसफाइ र स्वच्छतामा कमजोरी देखिएका पसलहरुलाई सुधारका लागि निर्देशन दिइएको छ । यस्तै दर्ता नभएका व्यवसायलाई दर्ताका लागि समय दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया