काठमाडौं । पूर्व गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा अहिले प्रहरीको हिरासतमा छन् ।
गत कार्तिक २ गते जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरी त्यसै दिन लामिछानेलाई पोखरा पुर्याइएको थियो । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछानेको नाम जोडिएपछि उनलाई कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेर त्यहाँ पुयाइएको थियो । त्यसो त लामिछानेमाथि बुटवल, चितवन, काठमाडौंमा समेत सहकारी ठगी प्रकरणमा अनुसन्धान भइरहेको छ भने पर्सामा समेत लैजाने तयारी रहेको छ ।
लामिछानेमाथि सहकारी ठगीका नाममा राजनीतिक प्रतिशोध साधिएको भन्दै उनको दल रास्वपाले निरन्तर विरोध जनाइरहेको छ । मुख्य गरी पोखरा र काठमाडौंमा र अन्य जिल्लामा समेत आन्दोलनहरु भए । लामिछानेमाथि राजनीतिक प्रतिशोध साधिएको रास्वपा र रविका समर्थकहरुको आरोप रहेको छ भने उजुरी परेपछि उनीमाथि निष्पक्ष छानबिनका लागि छाड्नुपर्ने अन्य दल तथा दलका समर्थकहरुको तर्क छ ।
तर अनुसन्धानका लागि काठमाडौंबाट चितवन लगिएका लामिछानेलाई गत मंसिर १९ गते बुधबार राति पोखरा पुर्याइएको थियो । अनुसन्धानका लागि काठमाडौं ल्याइएको लामिछानेलाई चितवन लगिएको र त्यहाँ बयानपछि बिहीबार बिहान पोखरा पुर्याउने भनिएकोमा राति नै स्थलमार्गबाट पोखरा पुर्याइएपछि त्यसको चौतर्फी आलोचना भइरहेको छ । भोलिपल्ट लगिने भनिएकोमा राति पौने १२ बजे उनलाई राति नै लगिनु मानवअधिकारको ठाडो उल्लंघन भएको भन्दै प्रहरीदेखि सरकारसम्मको आलोचना भइरहेको हो ।
त्यसो त बुधबार चितवनमा प्रहरी र रास्वपा समर्थकबीच तनावको स्थिति सिर्जना भएको थियो । बिहीबार लामिछानेलाई पोखरा पुर्याइने प्रहरीबाट सूचना बाहिर आएपछि रास्वपाले विमानस्थल बाहिर भेला हुन आफ्ना कार्यकर्ताहरुलाई आग्रह गरेको थियो ।
लामिछानेलाई जहाँजहाँ पुर्याइन्छ त्यहाँ त्यहाँ रास्वपाका समर्थकहरुले विरोध गर्ने गरेका कारण लामिछानेलाई हुनसक्ने हुलदंगालाई मध्यनजर गर्दै राति नै कास्की पुर्याइएको प्रहरीको दाबी छ । तर बुधबार अबेरसम्म बयान लिइएको, रातिको खाना सरकारी वकिलकै कार्यालयमा खुवाइएको र आराम गर्न जान प्रहरीले नै भनेको र पछि उठाएर पोखरा लगिएको विषयमा रास्वपाका समर्थकहरु मात्र होइन मानवअधिकार आयोगको समेत चासो लिएको छ ।
रातारात प्रहरीले पोखरा पुर्याइएपछि मानवअधिकारका हिसावले लामिछानेमाथि सहानुभूति बढेको छ । यसअघि सहकारी ठगी प्रकरणमा लामिछाने मात्र होइन सत्तारुढ दलका शीर्ष नेताहरुको नाम समेत जोडिँदा उनीहरुलाई बचाएको भन्दै आलोचना गरिरहेका विपक्षी दलका नेताहरु समेत रविको पक्षमा उत्रिएका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले लामिछानेलाई कास्की प्रहरीको हिरासत कक्षमा पुगेर भेटे । शुक्रबार बिहान भेटेपछि उनीमाथि अन्याय रहेको भन्दै आफू ऐक्यबद्धता जनाउन आएको बताएका थिए ।
‘अहिले उहाँलाई एकपछि अर्को गरेर दुःख दिने काम भइरहेको छ । यो अलि अस्वभाविक लागेर अन्यायपूर्ण भयो भनेर मैले आफ्नो ऐक्यबद्धता जनाउन यहाँ आएको हो,’ उनले भनेका थिए, ‘यो प्रतिशोधपूर्ण भयो भन्ने मेरो बुझाइ छ ।’
त्यस्तै डा. भट्टराईले लामिछानेलाई पक्राउ गरेर सहकारी ठगीलाई विषयान्तर गर्न सरकार लागेको आरोप समेत लगाए । तीन दलका तीन नेताहरुको वरिपरि नै सहकारी ठगीका मतियारहरु घुमिरहेको बताउँदै ५० लाख सहकारी पीडितहरुको समस्या हल गर्न राज्यले कदम चाल्नुपर्ने बताए ।
लामिछानेलाई चितवनबाट रातारात कास्की पुयाईएपछि राष्ट्रिय मानवअधिकार आयोगको टोलीले समेत लामिछानेलाई भेटेको छ । राष्ट्रिय मानवअधिकार आयोग कास्कीकी प्रमुख मिथु गर्तौलाले लामिछानेलाई भेटेर त्यसबारे धारणा लिएकी छन् ।
लामिछानेले चितवन प्रहरीले आफूमाथि अमावनीय हर्कत गरेको भन्दै मानवअधिकार आयोगको टोलीसँग बताएका थिए ।
रातारात लामिछानेलाई पुर्याइएपछि विपक्षी दलका नेतादेखि मानवअधिकारकर्मीसम्मले लामिछानेलाई कास्की प्रहरी हिरासतमा पुगेर भेटिरहेका छन् ।
शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) ले लामिछानेलाई भेटे । भेटमा लामिछानेले चितवन प्रहरीले आफूलाई अमानवीय हर्कत गरेको भन्दै गुनासो गरेको शाहीले पत्रकारसँग बताए । साथै मानवअधिकारको उल्लंघन गर्नेहरुलाई कानुनी कारबाही नगरिए आफूहरुले सडकदेखि सदनसम्म जवाफ माग्ने चेतावनी दिए ।
‘…राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति माननीय रवि लामिछानेलाई चितवनमा उहाँलाई अमानवीय व्यवहार गरिएको छ । मानवअधिकारको जो–जो ले ठाडो गम्भीर उल्लंघन गरेका छन् ती अधिकारीमाथि कारबाही गरिनुपर्छ भन्ने हाम्रो माग छ,’ उनले भने, ‘उहाँको प्रेयर माथि हुँदाहुँदै पनि उहाँलाई औषधिसम्म दिन लगाइएन । यदी प्रेसरले मान्छे मरेको भए त्यसको जिम्मेवारी को हुन्थ्यो ? यदी मानवअधिकारको ठाडो उल्लंघन गरेका छन् उनीहरुलाई कानुनी कारबाहीमा ल्याउनुस् होइन भने हामी सडक र सदनबाट त्यसको जवाफ माग्छौँ ।’
त्यस्तै शाहीसँगै पोखरा पुगेका मानवअधिकारकर्मी तुलसी थापाले लामिछानेमाथि राज्यले मानवअधिकारको ठाडो उल्लंघन गरेको भन्दै त्यसलाई गम्भीरताका साथ हेर्न आग्रह गरे । नेपालको कानुन र अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी कानुनका आधारको समेत उल्लंघन भएको उनको दाबी छ ।
‘मध्यरातको समयमा जुनसुकै अपराध गरेको व्यक्ति भएपनि ल्याउन पाइँदैन । समय हुँदाहुँदै रातिको समयमा ल्याइनु अमानवीय कुरा हो, त्यो नेपालको संविधान र अन्तराष्ट्रिय मानवअधिकार कानुनको मान्यता विपरित छ । नेपालको कानुनमा कुनै पनि व्यक्तिलाई २० वटा मुद्दा छ भने पनि उसलाई एकैठाउँबाट अनुसन्धान हुनसक्ने व्यवस्था रहेको छ । तर उहाँलाई कहिले चितवन, कहिले भैरहवा र कहिले कहाँ कहिले कहाँ लगेर अनुसन्धान गरिएको छ । त्यो मानवअधिकारको उल्लंघन हो,’ उनले भने ।
आइतबार लामिछानेलाई थप अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधिश हिरालाल बेल्वासेको इजलासले लामिछानेलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिँदै स्वास्थ्य उपचारसँग सम्बन्धित कागजातको प्रतिलिपि अदालतमा पेश गर्न आदेश दिएका छन् । साथै लामिछानेसहित हिरासतमा रहेका व्यक्तिहरुको मानवअधिकार उल्लंघन हुने कुनै कार्य नगर्न आदेश समेत दिएको छ ।
‘प्रतिवादीहरु रवि लामिछाने र छविलाल जोशीको उच्च रक्तचापको समस्या रहेको भन्ने देखिएको हुँदा चिकित्सकबाट जाँच तथा आवश्यक उपचार गराइ उपचारसँग सम्बन्धित कागजातको प्रतिलिपि यस अदालतमा पेश गर्नु र अनुसन्धानका क्रममा हिरासतमा राख्नका लागि म्याद थप गरिएका व्यक्तिहरुको मानवअधिकारको उल्लङ्घन हुने कुनै कार्य नगर्नु, नगराउनु भनि जिल्ला प्रहरी कार्यालय कास्कीलाई लेखि पठाउनु,’ आदेशमा भनिएको छ ।
यता उनको दल रास्वपाले लामिछानेलाई अमानवीय ढंगले रातको समयमा पोखरा पुर्याइएको भन्दै त्यसबारे मानवअधिकार आयोगको ध्यानाकर्षण गराउँदै उजुरी समेत दिएको छ । साथै लामिछानेले हिरासतमा लेखेको डायरी समेत प्रहरीले गायब बनाएको भन्दै त्यसले नागरिकको मौलिक हक तथा गोपनियताको हकविरुद्ध रहेको रास्वपाको ठहर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया